मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
अनिल यादव काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०६:२६:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीको  क्लस्टरअनुसार ‘टप थ्री’मा को–को छन् ?

Read Time : > 1 मिनेट
अनिल यादव, काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०६:२६:००

संसद्मा दलहरूले समानुपातिकतर्फ पाएको सिटमा खस–आर्य ३१.२%, आदिवासी जनजाति २८.७%, मधेसी १५.३%, दलित १३.८%, थारू ६.६% र मुस्लिम ४.४% समावेश गर्नुपर्नेछ । तर, प्रत्यक्ष र समानुपातिक दुवै गरी महिलाको संख्या कम्तिमा ३३ प्रतिशत अनिवार्य पुर्‍याउनुपर्छ ।

समानुपातिकतर्फ रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आश्चर्यजनक नतिजा ल्याउने निश्चितजस्तै देखिएको छ । प्रत्यक्षतर्फको मतगणनाको रुझान तथा देशभर देखिएको ‘घन्टी’ चुनाव चिह्नको लहरले पनि त्यस्तै संकेत गरेको छ । जसबाट उसको संसदमा बलियो उपस्थिती हुने देखिन्छ ।स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पहिलो दल बन्ने दाबी गर्दै आएको छ । 

निर्वाचन आयोगले मध्यरातीसम्म गरेको अपडेटअनुसार समानुपातिकतर्फ स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ । कांग्रेस १७ हजार पाँच सय ३२ मत ल्याउँदै पहिलो, एमाले १७ हजार दुई सय ३५ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी १० हजार चार सय ८५ मतसहित तेस्रो स्थानमा छ । 

प्रत्यक्षतर्फ पनि १६५ मध्ये ११५ निर्वाचन क्षेत्रको मतगणना भइरहँदा स्वतन्त्र पार्टीले आठ क्षेत्रमा अग्रता लिइरहेको छ । चर्चामै नभएका क्षेत्रमा समेत उसका उम्मेदवारहरूले ‘लिड’ गरिरहेका छन् । 

आफूलाई वैकल्पिक शक्ति दाबी गर्दै स्वतन्त्रब पार्टीले १३१ क्षेत्रमा उम्मेद्वारी दिएको थियो । मध्यरातीसम्मको मतगणनामा काठमाडौं ६ मा शिशिर खनाल, चितवन १ मा हरि ढकाल, झापा ४ मा शम्भुप्रसाद ढकाल, रुपन्देही २ मा गणेश पौडेल, कास्की २ मा माधवप्रसाद कँडेल, कास्की ३ मा योगराज पौडेल, काठमाडौं २ मा सोविता गौतम र  ललितपुर ३ मा डा. तोसिमा कार्कीले अग्रता लिइरहेकी छिन् । 

प्रारम्भिक मतगणनाको नतिजाबाट उत्साहित स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आफूहरू अब बलियो दल हुने र अरुले उपेक्षा गरेर अघि बढ्न कठिन हुने दाबी गरेका छन् । ‘हामी धेरै महत्वपूर्ण अवस्थामा रहन्छौं, हामीलाई उपेक्षा गरेर, हामीलाई साथ नलिएर अगाडि बढ्न गाह्रो हुन्छ होला, हामी त्यो साइजमा रहन्छौं होला,’ उनले सोमबार चितवनमा भनेका छन् ।

डेढ महिनाअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको यो दलले समानुपातिकतर्फ कम्तीमा ३० सिटसहित पहिलो हुने आकलन गरेको छ । ‘हामी ३० देखि ३२ लाख समानुपातिक मत ल्याउँछौं र समानुपातिक तर्फ पहिलो दल बन्छौं,’ महामन्त्रीसमेत रहेका स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालको दाबी छ, ‘एमाले र कांग्रेसको मत पनि हाम्रै हारहारीमा आउँछ । मात्रै एक–दुइ सिटको फरक हुन्छ ।’ 

अहिलेका राजनीतिक दलहरूप्रतिको वितृष्णा र वैकल्पिक शक्तिप्रतिको आशाले स्वतन्त्र पार्टीको घन्टी चुनाव चिन्हप्रति मतदाताको माया देखिएको ढकालको भनाई छ । ‘पछिल्लो चार–पाँच महिना हामी आन्तरिक रुपमा दिनरात नभनी मिहेनत गरिरहेका थियौं,’ उनले भने, ‘पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउन हामीले समानुपातिकतर्फको सूची बनाउँदा कसैको नाम खल्तीबाट निकालेर हालेनौं । देश र विदेशमा रहेका करिब ४० हजार शुभेच्छुकको मतदानबाट ११० जनाको सूची तयार पारेका थियौं । ति ४० हजार नै समानुपातिक मत बढाउनका लागि लागिपरेका थिए । अहिले देखिएको परिणाम यही मिहेनतका कारण हो ।’

प्रत्यक्षतर्फ भने पुरा मतगणना सकिँदासम्म १५ देखि २० सिट जित्ने आकलन रहेको प्रवक्ता ढकालले बताए । ‘ठ्याक्कै भन्न सकिने अवस्था छैन । तर, हाम्रो आन्तरिक अध्ययनले प्रत्यक्षतर्फ १५–२० त ल्याउँछौं भन्ने छ,’ उनले भने । 

एमाले र कांग्रेसको समानुपातिक मत घट्ने संकेत
यो निर्वाचनबाट अहिलेका ठूला दल एमाले र कांग्रेसको समानुपातिकतर्फको मत घट्ने देखिन्छ । ०७४ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३१ लाख ७३ हजार ४९४ र कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत ल्याएको थियो । मतगणनाको प्रारम्भिक रुझानमा यी दलको मत घट्ने देखिएको छ । आश्चर्यजनक ढंगले उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना शक्ति एमाले र कांग्रेसको मत काट्ने विश्लेषकहरूको प्रक्षेपण छ । यद्यपि, कांग्रेस–एमालेका नेताहरू यसमा सहमत देखिँदैनन् ।