१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर २ शुक्रबार १९:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश १ मा ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन  

चार सय ३८ मतदान स्थल अति संवेदनशील

Read Time : > 2 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर २ शुक्रबार १९:१०:००

४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि प्रदेश १ मा  ४०  हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।  

प्रदेश १ मा रहेका १४ जिल्लाको प्रतिनिधिसभाका २८ र प्रदेश सभाका ५६ जना सदस्यका लागि मतदान हुने  जम्मा एक हजार आठ सय ९७ मतदानस्थलका कुल चार हजार ९९ वटा मतदान केन्द्रको सुरक्षाका  लागि ४० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन  गरिएको हो।  

प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार निर्वाचनलाई सुरक्षित बनाउन प्रदेशभरि नेपाल प्रहरीका १९ हजार म्यादी र ११ हजार बढी प्रहरी परिचालित भइसकेका छन्। 

प्रदेश १ प्रहरी प्रवक्ता एसपी नवीन राईका अनुसार सबै प्रहरी निर्देशनअनुसार सुरक्षाकर्मी पहिलो घेराका लागि सम्बन्धित मतदानस्थलको सुरक्षाका लागि खटिसकेका छन्। यस्तै, सशस्त्र प्रहरी बल प्रदेश १ मुख्यालय इटहरी पकलीका अनुसार प्रदेशका १४ जिल्लाभरि कुल ५६ सय ५३ जना हतियारधारी सशस्त्र प्रहरी परिचालित भइसकेका छन्।

सशस्त्र प्रहरीले प्रदेशका २८ वटै प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा डिएसपीको कमान्डमा बाहिरी घेरामा सुरक्षा प्रदान गर्नेछ। सशस्त्र प्रहरीले अति संवेदनशील र संवेदनशील मतदानस्थलहरू रहेका क्षेत्रमा गस्तीलाई पनि सक्रिय गराएको छ। 

निर्वाचनलाई सुरक्षित बनाउन नेपाली सेनाले पनि आ–आफ्नो जिल्लामा बाहिरी क्षेत्रमा सशस्त्र हतियारसहित सुरक्षाको निगरानी गरिरहेको र मतदानका दिन अझै सक्रिय रूपमा गर्ने पृतना कार्यालयले जनाएको छ। 

सेनाले निर्वाचन सुरक्षित बनाउन एक महिना अघिदेखि नै लङमार्च गस्तीहरूलाई बढाएको छ।  निर्वाचन सुरक्षा निकायका उच्च अधिकारीहरूका अनुसार यसैगरी मतदानको प्रचारप्रसार अवधिदेखि नै राष्ट्रिय अनुसन्धानका चरहरूले पनि आ–आफ्नो जिम्मेवारीअनुसार निर्वाचन क्षेत्रमा खटिएर सूचना संकलन गरिरहेका छन्।

मतदानको दिन पनि उनीहरूले सक्रिय रहेर सूचना संकलन गर्नेछन् । यसबाहेक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सादा पोसाकमा सूचना संकलनका लागि चरहरू खटाएको छ।  

मतदानको समयमा प्रत्येक सामान्य मतदानस्थलमा तीनजना प्रहरी र पाँचजना म्यादी भित्री घेरामा परिचालित हुनेछन् । संवेदनशील मतदानस्थलमा चाहिँ तीन प्रहरी र ६ जना म्यादी खटिनेछन्। 

प्रदेश १ प्रहरीका कार्यालयका अनुसार निर्वाचनलाई सुरक्षित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र नेपाली सेनाको संयुक्त प्रदेश १ स्तरीय र जिल्लास्तरीय संयुक्त निर्वाचन सुरक्षा समिति पनि निर्माण भएको छ।

आवश्यक परेमा सबै सुरक्षा निकायले तुरुन्तै समन्वय गरेर संयुक्त परिचालन गर्नेछन् । सबै निकायले मतदान सुरक्षित बनाउन मोबाइल, प्रोटोकल, पकेटदेखि, लङमार्च  गस्ती बढाएका छन्। 

सबै निकायले भैपरि आउने समस्या समाधानका लागि आ–आफनो कार्यालय, गण र बेस क्याम्पमा रिजर्भ फोर्स पनि तयार गरेका छन्। सुरक्षा निकायले सत्तागठबन्धन र एमालेबीच हुन सक्ने झडपलाई मुख्य ‘थ्रेट’ मानेको छ । यसबाहेक निर्वाचन बिथोल्न विप्लव  र माओवादी क्रान्तिकारी पार्टीलगायतका कार्यकर्ता र समूहहरूलाई पनि उच्च निगरानीमा राखेको छ। 

प्रदेश १ मा जम्मा १७ लाख २९ हजार सात सय ७२ जना पुरुष र १६ लाख ६७ हजार ७१ जना महिलासहित जम्मा ३३ लाख ९६ हजार आठ सय ६५ जना मतदाता छन । यहाँ प्रतिनिधिसभामा चार सय ३८ र प्रदेश सभामा पाँच सय १० जना उम्मेदवारले चुनावी प्रतिस्पर्धामा छन्। 

प्रदेश १ मा चार सय ३८ मतदानस्थल अति संवेदनशील 

प्रदेश १ प्रहरी प्रवक्ता एसपी नवीन राईका अनुसार प्रदेशभरि रहेका एक हजार आठ सय ९७ मतदान स्थलमध्ये चार सय ३८ वटा अति संवेदनशील छन् । आठ सय २४ मतदानस्थल संवेदनशील र ६ सय २४ सामान्य छन्। 

जसमध्ये झापामा रहेका दुई सय ८५  मतदानस्थलमध्ये ८५ वटा अति संवेदनशील छन्। मोरङमा रहेका तीन सय ६ मतदानस्थलमध्ये एक सय ४४ अति संवेदनशील छन्। 
यसैगरी सुनसरीमा रहेका एक सय ६६ मतदानस्थलमध्ये ५९ वटा अति संवेदनशील छन्। प्रदेश १ मा संयुक्त निर्वाचन सुरक्षा समितिले भारतको सिमाना जोडिएका झापा, मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा पर्ने मतदानस्थललाई अति संवेदनशील मानेको छ। 

संयुक्त सुरक्षा समितिले प्रदेश १ मा धनकुटामा १६, उदयपुरमा २१, इलाममा ३६, पाँचथरमा ३४, भोजपुरमा ३३, खोटाङमा ४०, ओखलढुंगामा १३, सोलुमा ११ अनि संखुवासभामा सात र ताप्लेजुङमा २३ वटा मतदानस्थललाई अति संवेदनशील मानेको छ।