मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर २ शुक्रबार ०६:०५:००
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एक पन्थ, दुई काम : भोट खसाल्न पशुचौपायासहित खलंगा झरे छाङरू र तिंकरका मतदाता

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर २ शुक्रबार ०६:०५:००

दार्चुलाको व्याँस गाउँपालिका– १ छाङरू र तिंकरका मतदाता जाडो छल्न बसाइँसराइसँगै भोट पनि हाल्ने मेसो मिलाएर सदरमुकाम खलंगा झरेका छन् । आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा आफ्ना प्रतिनिधि छान्न उनीहरू भारतीय बाटो हुँदै खलंगा पुगेका हुन् । 

छाङरू र तिंकर भारत अतिक्रमित कालापानीमुनिका गाउँ हुन् । छाङरू र तिंकर गाउँ जान तथा सदरमुकाम खलंगा फर्कन नेपाली भूमि भएर घोडेटो बाटोसमेत छैन । यहाँका गाउँ जान भारतीय बाटो प्रयोग गर्नुपर्छ । तर, भारतीय भूमि भएर जान भारतीय अनुमति लिनुपर्छ । 

हिउँदभर तलै बस्ने भएकाले उनीहरू पशुचौपायासहित झरेका छन् । दुवै गाउँका सबै स्थानीय पशुचौपायासहित खलंगा पुगेको व्याँस– १ का वडाध्यक्ष अशोकसिंह बोहराले बताए । यहाँका बासिन्दा ६ महिना खलंगा र ६ महिना छाङरू–तिंकर बस्दै आएका छन् । वैशाखतिर छाङरू–तिंकर उक्लिने उनीहरू चिसो बढेसँगै खलंगा झर्छन् । 

स्थानीय वीरेन्द्र तिंकरीले चुनावमा मतदान पनि गर्ने योजनासहित समयमै कुञ्जा (खलंगा) झरेको बताए । तर, विगतमा जिताएर पठाएका जनप्रतिनिधिले आफूहरूका लागि बाटोसमेत नबनाइदिएको उनको गुनासो छ । ‘पटक–पटक चुनाव जिताएर पठाएका छौँ । तर, व्याँसीले गाउँ आउजाउ गर्न पनि आफ्नो भूमिबाट पैदल हिँड्न पाएका छैनन्,’ उनले भने ।

छाङरू र तिंकरका दुईवटा मतदान केन्द्र पनि यसअघि नै खलंगामा कायम गरिएको छ । व्याँसमा हिमपातसँगै चिसो बढेकाले खलंगामै मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृत खेमजराज भट्टले बताए । वडा कार्यालयको सिफारिसका आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगबाट अनुमति मागेर खलंगामै मतदान गर्ने व्यवस्था मिलाएको हो । छाङरूको मतदान केन्द्रमा तीन सय ८३ र तिंकर केन्द्रमा दुई सय ३४ मतदाता छन् । तिंकरका मतदाताले खलंगाको बंगाबगरमा रहेको मोती महिला संघ आधारभूत विद्यालय र छाङरूका मतदाताले कैलाशपति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नेछन् ।

छाङरुमा ३८३ र तिंकरमा २३४ मतदाता

हिमपातसँगै चिसो बढेपछि बेँसी झर्ने छाङरू र तिंकरका स्थानीय यसपालि भोटसमेत हाल्ने मेसो मिलाएर समयमै खलंगा पुगेका छन्, निर्वाचन आयोगले पनि त्यहाँका दुई मतदान केन्द्र खलंगा सारेको छ । व्याँसका बासिन्दाले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भने छाङरू र तिंकरमै मतदान गरेका थिए ।

छाङरू र तिंकर जान नेपाली भूमिबाट बाटो नभएकाले त्यतिखेर हेलिकोप्टरमार्फत चुनाव सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी लगिएको थियो । दार्चुलामा प्रतिनिधिसभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र छन् ।

चुनावका लागि १४३ मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको छ । कर्मचारी र सुरक्षाकर्मी चुनाव सामग्री बुझेर मतदान केन्द्र पुगेका छन् । प्रतिनिधिसभातर्फ नौ र प्रदेश सभातर्फ १२ उम्मेदवार छन् ।  छाङरूको मतदान केन्द्रमा ३८३ र तिंकर केन्द्रमा २३४ मतदाता छन् ।