Skip This
डडेल्धुरामा देउवा–दौड
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Wednesday, 12 August, 2026
नवराज पनेरू डडेल्धुरा
२o७९ मङ्सिर १ बिहीबार १६:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुरामा देउवा–दौड

Read Time : > 1 मिनेट
नवराज पनेरू, डडेल्धुरा
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार १६:१७:oo

डडेल्धुराबाट सातौँपटक निर्वाचनमा होमिएका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो किल्ला जोगाउन अन्तिम दौडधुपमा छन् । श्रीमती आरजु राणा देउवामार्फत मनोनयन दर्ता गराएका देउवा सातौँ चुनावी यात्राको थालनी गर्न १७ कात्तिकमा डडेल्धुरा पुगेका थिए । सो क्रममा उनले चार दिनमा सात पालिकाका सात ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गरे । 

२० कात्तिकमा डडेल्धुराबाट धनगढी हुँदै काठमाडौं फर्केका देउवा बुधबार फेरि गृहजिल्ला आएका छन् । उनले बुधबार एकै दिन डडेल्धुराका तीन र बैतडीका एक गरी चारवटा चुनावी सभालाई सम्बोधन गरे । भागेश्वर गाउँपालिकाको बोगटा, अजयमेरू गाउँपालिकाको देवल, बैतडीको शिवनाथ गाउँपालिका र डडेल्धुराकै गन्यापधुरा गाउँपालिकाको सकाइलमा गठबन्धनले आयोजना गरेको चुनावी सभालाई देउवाले सम्बोधन गरे । 

सो क्रममा देउवाले संसदमा सरकारको विरोध भएको झोंकमा केपी ओलीले संसद् विघटन गरेको आरोप लगाए । ‘जनताले चुनेका प्रतिनिधिले पाँच वर्षसम्म काम गर्न पाउनुपर्छ भन्ने उद्देश्यले जथाभावी संसद् भंग गर्न पाउने अधिकार अहिलेको संविधानमा छैन,’ उनले भने, ‘तर, ओलीजीले सरकारको विरोध भएको भन्दै दुईपटक संसद् विघटन गरिदिए । तर, हामी त्यस्तो गर्दैनौँ ।’

देशको मुहार फेर्नका लागि गठबन्धन बनेको उनको दाबी छ । पछिल्ला केही निर्वाचन हेर्दा यसपटक जिल्लामा देउवाको सक्रियता सबैभन्दा बढी देखिएको कांग्रेस नेताहरू नै बताउँछन् । ‘यसअघि चार दिनमा सातवटा कार्यक्रमलाई सम्बोधन गरेर फर्किनुभएको थियो,’ एक नेताले भने, ‘अब भोट हाल्न मात्रै आउनुहुन्छ जस्तो लागेको थियो । तर, फेरि आफ्नै निर्वाचन क्षेत्रमा केन्द्रित हुनुभएको छ ।’ 

आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीबाट चुनौती थपिएको विश्लेषणका आधारमा देउवा डडेल्धुरामा केन्द्रित भएको पनि चर्चा छ । तर, नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदका अनुसार बिहीबार भने देउवाको गृहजिल्लामा कुनै कार्यक्रम छैन । ‘बिहीबार अछाम जिल्लामा दुईवटा चुनावी सभालाई प्रधानमन्त्रीज्यूले सम्बोधन गर्ने कार्यक्रम छ,’ उनले भने । 

देउवाको अपराजित यात्रालाई रोक्न डडेल्धुरामा उनीविरुद्ध ६ जनाले उम्मेदवारी दिएका छन् । ०४८ यताका हरेक निर्वाचनमा विजयी बन्दै आएका देउवालाई पराजित गर्न भन्दै स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाल र कांग्रेस बिपीबाट कर्णबहादुर मल्लको चर्चा बढी छ । 

यस्तै, एमाले नेता विक्रमबहादुर शाहीले पनि देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । यस्तै, राप्रपाका गोविन्द खडायत, जसपाका श्याम सिनाल र स्वतन्त्र लालबहादुर कठायत पनि देउवाविरुद्ध उम्मेदवार छन् । जसपाका श्याम सिनाल भने देउवालाई समर्थन गर्ने भन्दै कांग्रेस प्रवेश गरिसकेका छन् ।