१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १ मंगलबार १o:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

युवामा किन बढ्दै छ मधुमेहको समस्या ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १o:३o:oo

डा. दीपक मल्ल मधुमेह तथा हर्मोन रोग विशेषज्ञ, वीर अस्पताल

अस्वस्थ जीवनशैली, खानपान र व्यायामको कमीका कारण युवामा मधुमेहको समस्या बढ्दै गएको पछिल्लो अध्ययनले देखाएको छ । नेपाल मधुमेह संघले उपचारका लागि अस्पताल पुगेका बिरामीमा गरेकोे सर्वेक्षणअनुसार २० वर्षमाथि उमेर समूहको जनसंख्याको करिब १५ प्रतिशतमा मधुमेहको समस्या देखिएको छ । त्यस्तै, ४० वर्षमाथि उमेर समूहको करिब १९ प्रतिशत जनसंख्या मधुमेहबाट प्रभावित छ । मोटोपनाको समस्या भएकाहरूमध्ये ३२.९ प्रतिशतमा मधुमेहको समस्या रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सामान्यतया उमेर बढ्दै जाँदा रगतमा चिनीको मात्रा गडबड हुने भए पनि पछिल्लो समय युवा अवस्थामै मधुमेहको समस्याले स्वास्थ्य जटिलता बढाइरहेको चिकित्सक डा. दीपक मल्लले बताए । डा. मल्लका अनुसार उच्च रक्तचाप, गर्भावस्था, मोटोपन, शारीरिक परिश्रम कम गर्नेहरू विशेष जोखिममा रहन्छन् । त्यसैले गर्भवती हुनुभन्दा पहिले र सुत्केरी भएको दुई वर्षसम्म महिलाले मधुमेह परीक्षण गर्नुपर्ने उनले बताए । 

अन्तर्राष्ट्रिय मधुमेह संघको तथ्यांकअनुसार विश्वभर हाल ५३ करोड ७० लाख जनसंख्या मधुमेहबाट प्रभावित छन् ।  यस अध्ययनअनुसार गर्भावस्थाका प्रत्येक ६ मध्ये एकजनामा मधुुमेहको प्रभाव देखिन्छ ।

दीर्घरोगको कारक  
बढ्दै गएको मधुमेहले अन्य दीर्घरोगको समस्या पनि थपिरहेको डब्लुएचओको तथ्यांकले देखाउँछ । मिर्गाैलामा समस्या, हृदयाघात, छाला र खुट्टामा संक्रमण, दृष्टिमा समस्या आदि जस्ता दीर्घरोगको मुख्य कारकसमेत मधुमेह बन्दै आएको छ । यो समस्या प्रत्येक वर्ष बढ्दै गएको विज्ञहरू बताउँछन् । 

लक्षण र उपचार 
समयमै स्वास्थ्य परीक्षण गराएमा मधुमेह हुनुभन्दा अगाडिको चरण (प्रि–डाइबेटिज)बारे जानकारी मिल्ने र यसलाई नियन्त्रणमा ल्याउन सकिने डा. मल्लले बताए । उनका अनुसार रगतमा चिनीको मात्रा बढ्दै गएमा प्यास बढी लाग्ने, पिसाब धेरै हुने, दुब्लाउँदै जाने, कमजोरीपन बढ्ने, बढी भोक लाग्ने तर खान मन नलाग्ने, छालामा घाउ देखिने, अन्य संक्रमण देखिने, यौनेच्छा घट्ने, आँखामा समस्या देखिनेलगायत लक्षण देखिन्छन् ।

‘तर, यी सबै लक्षण एकैसाथ नदेखिन सक्छ,’ डा. मल्लले भने । सचेतनाको कमीका कारण खानपान र व्यायामको सन्तुलन नमिल्दा रोगको जोखिम बढिरहेको डा. चुमनलाल दासले बताए । ‘औषधि प्रयोग गरिरहेकाले खाना पनि कम खाने र एक्सरसाइज बढी गर्ने हुँदा रगतमा चिनीको मात्रा आवश्यकभन्दा कम हुन जान्छ, जसले झन् जोखिम बढाउने गरेको पाइन्छ । अर्थात्, सुगर नियन्त्रणमा राख्न एक्सरसाइजले मात्रै पुग्दैन । सन्तुलित खानपान र त्यहीअनुसार व्यायाम गर्नुपर्छ,’ उनले भने । 

ad
ad