मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १३:४८:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

गोकुलले पार लगाउलान् सत्तागठबन्धन र नयाँ उम्मेदवारको चुनौती ?

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४८:oo

एमालेको बलियो सांगठनिक शक्ति भए पनि मन्त्री हुँदाका विवादास्पद गतिविधि र पार्टी विभाजनको प्रभावले काभ्रे २ मा गोकुल बास्कोटा ०७४ मा जस्तो सहज अवस्थामा छैनन्

०७४ सालमा लोकप्रिय मतसहित काभ्रे २ बाट निर्वाचित एमाले नेता गोकुल बास्कोटाका लागि यसपटकको निर्वाचन भने विगतजस्तो अनुकूल छैन । पार्टीको विभाजन र सत्तागठबन्धनका साझा उम्मेदवारसँगको प्रतिस्पर्धाका कारण उनलाई यसपटक चुनाव जित्न चुनौतीपूर्ण हुने देखिन्छ । 

यद्यपि आफूले जिल्लामा गरेका विकासका कामका आधारमा आफूलाई जनताले जिताउने उनको विश्वास छ । 

प्रतिनिधिसभामा क्षेत्र नम्बर २ मा १६ जना जना उम्मेदवार रहेकोमा एमालेबाट बास्कोटा र गठबन्धनका तर्फबाट कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।   

वाम गठबन्धन रहेको ०७४ को निर्वाचनमा बास्कोटाले ५५ हजार पाँच सय ३६ मत प्राप्त गरी कांग्रेसका उम्मेदवार मधु आचार्यलाई पराजित गरेका थिए । त्यसवेला कांग्रेसका उम्मेदवार आचार्यलाई १८ हजार सात सय ७३ मनान्तरले पराजित गरेका थिए । तर, गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको नजिताका आधारमा यस क्षेत्रमा एमाले पछि देखिन्छ । 

क्षेत्र नम्बर २ मा बनेपा, पाँचखाल, मण्डनदेउपुर र भुम्लु गाउँपालिकाको पूरै भूगोल पर्छ । धुलिखेल नगरपालिकाको सातवटा वडा, पनौती नगरपालिकाको पाँचवटा वडा र बेथानचोक गाउँपालिकाको पाँचवटा वडा यस क्षेत्रमा पर्छ । बनेपा, पाँचखाल, मण्डनदेउपुर र भुम्लु चारै स्थानीय तहको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । 

यी चारवटा पालिक प्रमुखहरूले पाएको  मत एमालेका उम्मेदवारको भन्दा करिब नौ हजार धेरै छ । गठबन्धनका उम्मेदवारले ४१ हजार नाै सय २७ पाएका थिए भने एमालेको ३२ हजार आठ सय ६९ ल्याएको थियो । 

यस क्षेत्रमा ६६ वडामा रहेकोमा लोकतान्त्रिक वाम गठबन्धनले ३९ वडा जितेको छ भने नेकपा एमालेले २५ वडा जितेको छ । दुईवटा वडामा राप्रपा र स्वतन्त्रले जितेका छन् ।  

गठबन्धनबाट उम्मेदवार बनेका वडाध्यक्षका लागि उम्मेदवारहरूले ६० हजार पाँच सय मत प्राप्त गर्दा एमालेबाट वडाध्यक्षका लागि उम्मेदवारहरूले ४५ हजार पाँच सय २० मत प्राप्त गरेका थिए । जसमा गठबन्धनभन्दा एमाले १४ हजार नाै सय २० मतले पछि देखिन्छ । 

कांग्रेसका उम्मेदवार हुमागाईंलाई माओवादी, एकीकृत समाजवादीलगायतको साथ छ । एमाले विभाजनमा यहाँका धेरै नेताले एकीकृत समाजवादी रोजेकाले पनि बास्कोटाको चुनावी चुनौती बढेको हो । 

०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा पूर्वएमालेको तर्फबाट तत्कालीन बागमती अञ्चलमा नै एक मात्र निर्वाचित कृष्णप्रसाद सापकोटा अहिले  समाजवादीमा छन् । बास्कोटको गृहनगर मण्डनदेउपुरका मेयर टोकबहादुर वाइबा समाजवादीमै छन् । 

त्यस्तै, एमाले निवर्तमान प्रदेश सांसद लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं पनि समाजवादीमै भएकाले एमालेको भोट काटिने जोखिम छ ।  लम्साल अहिले पनि गठबन्धनबाट प्रदेशसभाका उम्मेदवार छन् ।  तैपनि आफू मन्त्री हुँदा गरेको विकास नै जितको आधार भएको बास्कोटा बताउँछन् । 

मदन भण्डारी विश्वविद्यालयको स्थापना, सडक, खानेपानीलगायतका विकासको कामलाई उनले आफ्नो चुनावी एजेन्डाका रूपमा प्रचार गरेका छन् । जनताको घरघरमा विकास पुर्‍याएकोले आफूलाई जनताले मतदान गर्ने उनको दाबी छ । 

गठबन्धनका उम्मेदवार हुमागाईंले विगतमा सांसद हुँदा गरेको विकास निर्माणका काम र जिल्लामा गरेको सामाजिक कामले गर्दा आफूलाई जनताले मतदान गर्ने बताएका छन् । हुमागाईं ०५६ सालमा निर्वाचन भएका थिए । 

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एक लाख ५७ हजार चार सय ४२ मतदाता छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दिनेश हुमागाईं तथा स्वतन्त्र उम्मेदवार मनोज पण्डितको पनि चर्चा छ । चलचित्र निर्देशक पाण्डेले मंसिर ४ लाई भ्रष्टाचारीलाई बिदा गर्ने दिन भन्दै आक्रामक प्रचार गरिरहेका छन् । यी सबै चुनौती पार गर्नुपर्ने चुनौतीपूर्ण अवस्थामा बास्कोटा देखिन्छन् ।