काठमाडौं / बाघको संख्या वृद्धिसँगै बढ्दै गएको मानव–बाघ द्वन्द्व न्यूनीकरण गर्न सरकारले ‘टाइगर सेन्चुरी’ स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ। यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) र अमेरिकास्थित संस्था ‘द वाइल्ड एनिमल सेन्चुरी’ (टिडब्ल्युएएस) बिच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा एनटिएनसीका सदस्यसचिव डा. चिरञ्जीवीप्रसाद पोखरेल र टिडब्ल्युएएसका कार्यकारी निर्देशक प्याट क्रेगले हस्ताक्षर गरेका छन्।
नेपालमा बाघको संख्या दोब्बरभन्दा बढी पुगेपछि मानव बस्तीमा प्रवेश गर्ने तथा मानवीय क्षति निम्त्याउने ‘कन्फ्लिक्ट टाइगर’को संख्या पनि बढ्दै गएको छ। यस्ता समस्याग्रस्त बाघलाई प्राकृतिक वासस्थानबाट नियन्त्रणमा लिएपछि हाल विभिन्न साँघुरा खोरमा राख्ने गरिएको छ। दीर्घकालीन स्याहार, आधुनिक आवास तथा वैज्ञानिक व्यवस्थापनका लागि छुट्टै सेन्चुरी आवश्यक देखिएपछि परियोजना अघि बढाइएको हो।
समझदारीअनुसार नेपालमा कम्तीमा ५० हेक्टर क्षेत्रफलमा खुला तथा प्राकृतिक वातावरणमैत्री आधुनिक टाइगर सेन्चुरी निर्माण गरिनेछ। टिडब्ल्युएएसले आफ्नो ४६ वर्षभन्दा लामो अनुभव र विज्ञता प्रयोग गर्दै सेन्चुरीको भौतिक पूर्वाधार, प्राकृतिक वासस्थानको डिजाइन, पशु चिकित्सालय तथा घेराबार निर्माणका लागि आवश्यक आर्थिक र प्राविधिक स्रोत जुटाउनेछ।
सेन्चुरी निर्माणका लागि उपलब्ध गराइने जग्गाको स्वामित्व भने नेपाल सरकार वा एनटिएनसीकै रहनेछ। सेन्चुरीलाई समस्याग्रस्त बाघको आजीवन सुरक्षित बासस्थानका रूपमा विकास गर्नुका साथै जनचेतना तथा संरक्षण शिक्षाको केन्द्र बनाउने लक्ष्य राखिएको छ।
सम्झौताअनुसार सेन्चुरीभित्र राखिएका बाघलाई कुनै पनि व्यावसायिक मनोरञ्जन, फोटो सेसन, खेल वा प्रजनन प्रयोजनमा प्रयोग गर्न पाइनेछैन। बाघको प्राकृतिक व्यवहार र कल्याणलाई प्राथमिकतामा राख्दै वैज्ञानिक व्यवस्थापन गरिने जनाइएको छ।
सरकार र संरक्षण साझेदारहरूको पहलमा निर्माण हुने यो सेन्चुरीले समस्याग्रस्त बाघको सुरक्षित व्यवस्थापनसँगै मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण र दुर्लभ पाटेबाघको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।