मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ४ शुक्रबार
  • Friday, 22 November, 2024
जायती घोष
२o८o फाल्गुण ४ शुक्रबार o९:५८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

हरित क्रान्तिको विषाक्त विरासत

Read Time : > 2 मिनेट
जायती घोष
नयाँ पत्रिका
२o८o फाल्गुण ४ शुक्रबार o९:५८:oo

विश्वमा तीन लाख ९० हजारभन्दा बढी पहिचान गरिएका वनस्पति प्रजाति छन्, तर केवल तीन प्रजाति धान, मकै र गहुँ प्रधान छन् । यी तीन वनस्पतिले आहार पोषणको करिब ६० प्रतिशत हिस्सा ओगट्छन् । यी तीन अन्नको प्रभुत्वको श्रेय मुख्यतया ठूला प्राविधिक सफलतामा जान्छ । विशेषतः सन् १९६० को हरित क्रान्तिको समयमा धान र गहुँको उच्च–उत्पादन विविधता (एचवाइभिएस) को विकासमा जान्छ ।

यी नवप्रवर्तनले ठूला लाभ निम्त्याएका थिए । यी नवप्रवर्तनले मूलतः खाद्यान्नमा मानिसको पहुँच बढाएको थियो र करोडौँ मानिसलाई भोकमरीबाट जोगाएको थियो । तर, उपज बढेको कृषि उत्पादनले अन्य समस्या पनि ल्याएको छ र यी समस्या विशेषतः खेती प्रक्रियामा देखिएको छ । उल्लेखनीय रूपमा एचवाइभिएस बिउको बढेको उत्पादकत्व भरपर्दो सिँचाइको उपलब्धता र विभिन्न रसायन विशेषतः मल र कीटनाशकको प्रयोगमा धेरै निर्भर छ । 

नतिजा एचवाइभिएस बिउको प्रयोगले नहर सिँचाइको अत्यधिक प्रयोग र त्यसपछि पानी जम्ने समस्या निम्त्याएको छ । यसले किसानलाई अर्ध–सुक्खा क्षेत्रमा पनि भूमिगत सिँचाइमा भर पर्न बाध्य पारेको छ । त्यसैगरी एचवाइभिएस बिउमा आधारित खेती गरिएपछि नाइट्रोजनमा आधारित मलको प्रयोग पनि नाटकीय रूपमा बढेको छ ।

हरित क्रान्तिले भारतलाई खाद्य आत्मनिर्भरता हासिल गर्न मद्दत गरेको भए पनि यसले देशको पोषण सुरक्षालाई कमजोर बनाएको छ 

पहिलो त एचवाइभिएस बिउमा किरा लाग्ने सम्भावना अत्यधिक हुन्छ, त्यसमाथि यी बिउको खेती एक मौसममा एकपटक मात्र गरिन्छ । नतिजा रासायनिक कीटनाशकको व्यापक एवं अन्धाधुन्ध प्रयोग हुन्छ, जसले बोटबिरुवा र अन्नमा अवशिष्ट विषाक्तता निम्त्याउँछ । कीटले यी रासायनिक कीटनाशक प्रतिरोध विकास गर्दै गर्दा प्राकृतिक रूपमा कीटप्रतिरोधी हुने गरी आनुवंशिक रूपमा परिमार्जित बालीको विकाससहित नयाँ प्राविधिक समाधान सतहमा नआएका होइनन् । यद्यपि यी प्रविधि मापन–तटस्थ छन्, अर्थात् यी प्रविधिका लागि आवश्यक लगानी र बजारमा सबैको पहुँच सामान्यतया छैन । नतिजा ठूला किसानले असमान रूपमा लाभ उठाउँछन् र कृषि असमानता थपिन्छ ।

यी चुनौतीमा नयाँ चुनौती थपिएका छन् । विशेषज्ञ अहिले उच्च उब्जनी हुने बालीको बिग्रँदै गएको पोषण तत्वबारे दिनानुदिन चिन्तित हुँदै गएका छन् । उदाहरणका लागि हालैको एक अध्ययनअनुसार हरित क्रान्तिले भारतलाई खाद्य आत्मनिर्भरता हासिल गर्न मद्दत गरेको भए पनि यसले देशको पोषण सुरक्षालाई कमजोर बनाएको छ ।

विशेषज्ञले सन् १९६० देखि २०१८ सम्म भारतका करिब एक हजार पाँच सय धान र गहुँका प्रजातिको गुणस्तर र सम्भावित विषाक्तता जाँचेर विश्लेषण गरेका थिए । यो विश्लेषणको माध्यमबाट विशेषज्ञले उच्च–उत्पादन विविधता (एचवाइभिएस) केन्द्रित प्रजनन कार्यक्रमका दीर्घकालीन प्रभाव पत्ता लगाउन खोजेका थिए । विशेषज्ञले यी कार्यक्रमले अन्नको पोषण संरचनालाई परिवर्तन गरेको पाएका थिए । यी कार्यक्रमले अन्नको आहारगत फाइदामा उल्लेखनीय कमी ल्याएको थियो र अन्नमा हानिकारक पदार्थमा बढोत्तरी गरेको थियो ।

छोटकरीमा भन्नुपर्दा पोषण वृद्धि गर्न यी अन्नको खेती गरिएको थियो, तैपनि उत्पादन वृद्धिमा गरिएको जोडले अन्नको पोषण मूल्यमा उल्लेखनीय रूपमा सम्झौता भएको थियो । भारतका दुई सबैभन्दा महत्वपूर्ण खाद्य पदार्थ धान र गहुँमा अत्यावश्यक पोषक तत्व जस्ता र फलामको स्तर उल्लेखनीय रूपमा घटेको छ । विशेषतः धानमा जस्ताको मात्रामा ३३ प्रतिशत र फलामको मात्रामा २७ प्रतिशत कमी आएको छ भने गहुँमा जस्ता र फलामको मात्रा क्रमशः ३० प्रतिशत र १९ प्रतिशतले घटेको छ । थप चिन्ताजनक रूपमा धानमा आर्सेनिकको मात्रा एक हजार चार सय ९३ प्रतिशतले बढेको छ । 

यी निष्कर्षले यी अन्न उपभोग गर्नेमाझ दूरगामी स्वास्थ्य प्रभाव पर्छ भन्ने देखाएको छ । विशेषज्ञले ‘बलियो प्रमाण’को हवाला दिँदै ‘धातु विषाक्त पदार्थको मौखिक सेवन’ले ‘फोक्सोको क्यान्सर वा पुरानो श्वासप्रश्वास रोग, हृदय रोग, हाइपरकेराटोसिस, मिर्गाैला विषाक्तता र हड्डीको क्याल्सिफिकेसनमा खराबी’जस्ता गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतवनी दिएका छन् । हरित क्रान्तिको लक्ष्य अर्थात् धान र गहुँजस्ता मुख्य अन्नको बढ्दो खपतले भारतको पहिल्यैदेखि समस्याग्रस्त रोगको बोझलाई बढाउन सक्छ ।

मुख्य बालीको उत्पादन बढाउन एचवाइभिएसमा धेरै भर परेका अन्य धेरै देशमा पनि भारतकै जस्तो अवस्था छ । उदाहरणका लागि हालै बनेको एलाइन्स फर अ ग्रिन रेभोल्युसन इन अफ्रिकाले अपेक्षित पोषण लाभ प्रदान गर्न असफल भएको कृषिको पुरानो औद्योगिक मोडेलको पैरवी जारी राखेको छ ।

मैले पहिल्यै तर्क गरेझैँ पोषणलाई एक मौसमी खेतीमा आधारित कुल क्यालोरी खपतको सन्दर्भमा मात्र हेर्नुहुँदैन । विविध आहारको उच्च पोषण मूल्य अब व्यापक रूपमा स्वीकार गरिएको छ । यसलाई हासिल गर्न प्राविधिक नवप्रवर्तन मात्र नभई स्थानीय वातावरण एवं मौसममा उपयुक्त हुने विभिन्न बाली खेती गर्नेतर्फ ध्यान केन्द्रित गर्न आवश्यक छ । पोषण परिमाण सुधार गर्नुका साथै यो उपायले खानाको सम्पूर्ण जीवनचक्रमा कार्बन–डाइअक्साइड उत्सर्जन घटाएर दिगोपनलाई प्रोत्साहन गर्छ । 

भारतको अनुभवले विकासोन्मुख देशलाई पाठ सिकाएको छ । भारत र अन्य ठाउँमा साना किसान खेतीमा आधारित कृषि पर्यावरणीय अभ्यास अपनाउने खाद्य प्रणाली सबैभन्दा प्रभावकारी उपाय हो, जुन दिगो र पोषणका हिसाबले समृद्ध छ भन्ने देखिएको छ । हामीले नाफामुखी कृषिमा मात्र ध्यान केन्द्रित गर्नुको सट्टा किसान र उपभोक्ता दुवैलाई फाइदा पुग्ने मोडेलमा कृषि व्यवसायलाई समर्थन गर्न आवश्यक छ ।
(घोष म्यासाचुसेट्स एमहस्र्ट विश्वविद्यालयमा अर्थशास्त्रकी प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट