रुसको अविवेकी एवं विध्वंसात्मक युक्रेन अतिक्रमणले निम्त्याएको हालको युद्धमा कुनै विजेता देखिँदैन । तर, आक्रमणको चपेटामा परेका युक्रेनी जनता र युद्ध नरोजेका एवं व्यापार तथा वित्तीय प्रतिबन्धले बनाएको जर्जर अर्थतन्त्र झेल्न अभिशप्त रुसी जनता पराजित हुनेहरू हुन् । यो द्वन्द्वको आर्थिक प्रभाव विश्वभरि देखिनेछ, जहाँ थुप्रै विकासशील राष्ट्र पनि छन्, जो पहिलेदेखि नै कोभिड–१९ महामारीबाट पार पाउन संघर्षरत छन् ।
तेलको मूल्यवृद्धिको परिणाम तत्कालीन चिन्ताको विषयमध्ये एक हो । बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य हालै २० प्रतिशतले बढेको छ, अर्थात् प्रतिब्यारेल मूल्य १३९ डलर पुगेको छ, जुन सन् २००८ यताकै सबैभन्दा बढी हो । मूल्यवृद्धिको सम्भावित कारण अमेरिका र युरोपेली साझेदारले रुसी तेल आयातमा प्रतिबन्ध लगाउनेबारेको छलफलको सम्भावना हो । उसो त हालसम्म तेल आयातमा प्रतिबन्ध लागेको छैन । महामारीका वेलाको नाटकीय अस्थिरतापछिको अवस्थामा प्रतिबन्ध नलागे पनि वैश्विक ऊर्जा मूल्य उकालो लागेको देखिन्छ ।
पश्चिमा मिडिया प्राकृतिक ग्यासका लागि रुसमा अत्यधिक निर्भर भएका युरोपमा भइरहेको ऊर्जा मूल्यवृद्धिको असरमा केन्द्रित छन् । तर, तेल आयात गर्ने विश्वका अधिकांश आयातकर्ता अत्यन्त विपन्न छन् । यीमध्ये अधिकांश मुलुक अमेरिका र अन्य उन्नत अर्थतन्त्रको तुलनामा महामारीका समयमा वित्तीय प्रतिक्रिया दिन असमर्थ भएका थिए । र, उत्पादन एवं रोजगार पुनरागमनमा निकै कमजोरी अनुभव गरेका थिए । यी मुलुकका लागि हालको तेल–मूल्यवृद्धि असह्य
झट्का हो र यसले भुक्तानी सन्तुलन समस्या तथा आन्तरिक मुद्रास्फीतिको दबाब उत्पन्न गर्ने सम्भावना देखिन्छ, नतिजा विद्यमान अनिश्चित सन्दर्भमा संकटको सामना गर्न गाह्रो हुनेछ ।
निःसन्देह, युक्रेन युद्धका अतिरिक्त मुद्रास्फीति दबाबका कारण धनी पश्चिमा अर्थतन्त्रका नीति निर्मातालाई मूल्यवृद्धिको कठोर आर्थिक नीतिविना संकटको
सामना गर्न चुनौती देखिन्छ । तेल एक विश्वव्यापी मध्यस्थ वस्तु हो, जसले माल, सेवा र यातायात लागतलगायत धेरै क्षेत्रमा प्रभाव पार्छ ।
तेलको मूल्यवृद्धिले अनुकूल समयमा पनि लागत बढोत्तरी मुद्रास्फीति गराउन भूमिका खेल्न सक्छ । तर, धनी मुलुकमा मुद्रास्फीति पहिले नै एक स्तरमा थियो, जुन उनीहरूले लगभग बिर्सेका थिए । नीति–निर्माताले मुद्रास्फीतिविरुद्ध सबैभन्दा सरल उपायमा मात्रै ध्यान पुर्याएका छन्, उदाहरण ब्याजदर बढाउने र तरलतालाई कडा पार्ने, जसले लागत बढोत्तरी मुद्रास्फीति दबाबलाई खासै सम्बोधन गर्दैन र वास्तविक आर्थिक मन्दी निम्त्याउन सक्छ ।
तर, विकासोन्मुख विश्वमा अझै पनि थप चुनौती छन्, फलस्वरूप नीति–निर्मातालाई समीक्षा एवं पुनर्विचार गर्ने ठाउँ कम गरिदिएको छ । हालै तेलको मूल्यमा भएको नाटकीय वृद्धिले स्पष्ट रूपमा तेल आयात गर्ने मुलुकलाई प्रत्यक्ष असर गर्छ । र, तेलसँग जोडिएको यातायातलगायत लागतले सबै ठाउँमा मूल्यवृद्धि हुनेछ ।
युक्रेन त्रासदीले विश्वव्यापी रूपमा खाद्यान्न मूल्य पनि बढाइरहेको छ, विकासोन्मुख मुलुकमा थप संकट सिर्जना गरेको छ, जहाँ महामारीका समयमा भोकमरी नाटकीय ढंगले बढेको थियो । युद्धअघि युक्रेन विश्वको पाँचौँ ठूलो गहुँ निर्यात गर्ने मुलुक थियो र जौ, मकै, तोरी एवं सूर्यमुखी तेलको प्रमुख निर्यातक पनि थियो । साबिकको अन्न–बालीमा मूल्यवृद्धिसँगै विश्व व्यापारमा यी वस्तुको मूल्य उल्लेखनीय ढंगले बढेको छ ।
अब थप खतरा निम्तिएका छन् अर्थात् वित्तीय लगानीकर्ता, जो सट्टाबजारमा बाजी लगाउँथे उनीहरूलाई आफ्नो पैसा लगानी गर्न अन्य ठाउँ खोज्नुपर्ने भएको छ । र, खाद्य क्षेत्र एक अनुकूल गन्तव्य हुन सक्छ । मार्चको पहिलो पाँच दिनमा सिकागो बोर्ड अफ ट्रेडमा गहुँको भण्डारण मूल्य ४० प्रतिशतले बढ्यो, जुन सन् १९५९ पछिको सबैभन्दा ठूलो साप्ताहिक वृद्धि हो । विकासोन्मुख मुलुकमा बाली उत्पादनमा मलको अभाव हुन सक्छ । रुस विश्वको सबैभन्दा ठूलो गहुँ निर्यातकका साथै एक प्रमुख मल उत्पादक पनि हो र रुसका यी निर्यातमा हुने अवरोधले विश्वव्यापी खाद्य मूल्य थप आकासिनेछ ।
हामीले पहिले नै यो परिस्थितिका अंश शान्तिपूर्ण समय अर्थात् विश्वव्यापी वित्तीय संकटको ठीक अगाडि देखेका थियौँ र परिस्थिति त्यतिवेला पनि अँध्यारो र निराशाजनक थियो । सन् २००७–०८ मा वित्तीय–बजार अनुमानको परिणामले निम्त्याएको खाद्य संकटले भोकमरीमा ठूलो वृद्धि ल्यायो र विकासोन्मुख मुलुकमा करोडौँ मानिसको जीवन तहसनहस पार्यो । खाद्य वस्तुको विश्वव्यापी आपूर्ति र मागमा खासै परिवर्तन नभए पनि संकट निम्तिएको थियो । तर, अब विश्वव्यापी खाद्य आपूर्तिमा कमी आउने सम्भावना अत्यधिक नै छ अर्थात् मूल्यवृद्धि लामो समयसम्म रहिरहनेछ । यदि सट्टेबाजी बजारमा दबाब बढ्यो भने कमजोर रहेका अर्थतन्त्र थप क्षतिग्रस्त हुनेछन् ।
विश्वव्यापी अर्थतन्त्रको एक स्वनियुक्त नेतृत्वका रूपमा प्रतिष्ठित जी ७ ले यी वास्तविक र दबाबपूर्ण जोखिमबारे धेरै चिन्ता व्यक्त नगर्नु अचम्म नहोला । तर, बहुपक्षीय संगठनले संकटको यस समयमा कदम चाल्नु आवश्यक छ । बहुपक्षीय संगठनले कम्तीमा पनि विकासोन्मुख विश्वलाई ठूलो आर्थिक झट्काको सामना गर्ने हेतुले क्षतिपूर्तिस्वरूप अनुदान प्रदान गरेर र बजार प्रक्षेपणमा नियमन गर्न दिएर अघि बढ्नुपर्छ । यी प्रयास गरिएनन् भने युक्रेनविरुद्ध रुसको युद्धले विश्वव्यापी अर्थतन्त्रमा अत्यधिक क्षति पुर्याउनेछ र विपन्न मुलुक सबैभन्दा बढी प्रभावित हुनेछन् । प्रोजेक्ट सिन्डिकेटबाट