सामाजिक सञ्जालका ‘अभियन्ता’ सामुदायिक संगठन वा स्थानीय सक्रियतालाई प्रोत्साहन नगरी मुसलमान भएको पीडामा मात्र केन्द्रित हुन्छन्
मेरो सामाजिक सञ्जालका फिड विश्वभरका मुसलमानको पीडा अर्थात् प्यालेस्टिनीको उत्पीडनदेखि लिएर भारतमा मुसलमानका घर भत्काउने, उत्तर प्रदेशको बहराइचमा राज्यको क्रूरता र भारतीय मुसलमानविरुद्ध व्यापक विभेदबारेका पोस्टले भरिएका हुन्छन् । कष्टप्रद सामग्रीको यो प्रवाहबिच मैले मुसलमान समुदायभित्रै एक समस्याग्रस्त प्रवृत्ति देखेको छु, अर्थात् प्रदर्शनात्मक आक्रोश, जसले बिरलै वास्तविक पहलकदमीलाई सहयोग पुर्याउँछ ।
भारतीय मुसलमान समुदायमा एक लोकप्रिय प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सर) ले हजारौँ अनुयायी (फलोअर) पाएका छन् र यिनले उनलाई मार्गदर्शनका लागि हेर्छन् । उनले बारम्बार भारतमा मुसलमानविरोधी हिंसा र विभेदका घटनामा जोड दिँदै पोस्ट गर्छन् । उनले यी मुद्दालाई सामाजिक सञ्जालमा विस्तार गरे पनि समाधानको प्रयास नहुँदा परिस्थिति निराशाजनक लाग्छ । उनका पोस्ट र उनीजस्ता अन्य धेरै सामुदायिक संगठन स्थानीय सक्रियतालाई प्रोत्साहन नगरी मुसलमान भएको पीडामा मात्र केन्द्रित हुन्छन् ।
कुनै पहलकदमीबिना जगाइने सचेतना अर्थपूर्ण हुन्छ भन्ने लाग्दैन । उल्लिखित इन्फ्लुएन्सरले एक साम्प्रदायिक हिंसाको भाइरल भिडियोमा ‘संसार कहिले ब्युँझन्छ ?’ भन्ने व्यहोराको पोस्ट राखेका थिए । यसलाई समाधानविनाको पीडा देखाउने चक्र भन्दा हुन्छ । वास्तविक समाधान र सामुदायिक निर्माणमा काम गर्ने व्यक्तिका पहलकदमी प्रदर्शनात्मक सामाजिक सञ्जालका पोस्टले ओझेलमा परेका छन् । धेरै असल नियत भएका व्यक्ति यो दुश्चक्रको अनजान स्रोत बनेका छन् । सामाजिक सञ्जालले सीमान्तकृत आवाजका लागि मञ्च र नाफा उत्पादन गर्ने ठाउँका रूपमा काम गर्छ, अर्थात् सामाजिक अभियान बिक्री हुने माल बन्न पुग्छ । सञ्जालले महत्वपूर्ण मुद्दामा जागरुकता बढाउँछ, तर क्लिक र लाइकका लागि यी पोस्टको दोहन पनि गर्छ । धेरै युवा मुसलमान पीडादायी सामग्री साझा गर्नुलाई सामाजिक अभियान सञ्चालन गर्नु ठान्छन्, तर त्यस्ता सामग्रीले ल्याउने भनिएको जागरुकताले मात्र परिवर्तन सम्भव छैन । वास्तविक सामाजिक अभियानमा संलग्नता, योजना र पहलकदमी आवश्यक हुन्छ । मैले मेरा केही साथीले अनलाइन उपस्थिति प्रभावकारी सामाजिक अभियान हो भन्ने ठानेको देख्छु, अर्थात् तिनका फिड आक्रोशित पोस्टले भरिएका हुन्छन् । तर, अनुयायी (फलोअर) संख्या बढ्दै जाँदा यी साथी समाधानलाई नभई आफ्नो छवि निर्माणलाई प्राथमिकता दिइरहेका हुन्छन् ।
आक्रोशको यस्तो वस्तुकरणले सामाजिक सञ्जालको पुँजीवादी संयन्त्रलाई इन्धन दिने काम गर्छ, जहाँ क्रोध, शोक, निराशाजस्ता भावना उपभोग्य सामग्रीमा परिणत हुन्छन् । हाम्रो पीडाबाट लाभ उठाउने मञ्च हामीलाई भय, आक्रोश र असहायताको चक्रमा फसाउन निर्माण गरिएको देखिन्छ ।
हिंसा वा विभेदका भिडियो निरन्तर साझा गर्दा प्रायः भय र पीडालाई बलियो बनाउँछ । सशक्तीकरणको सट्टा असहायतालाई निरन्तरता दिन्छ । धेरैजसो स्थानीय रूपमा संगठित वा वास्तविक समुदाय निर्माणमा संलग्न हुनुको सट्टा संकटलाई नै अनलाइनमा राख्ने र आक्रोश पोस्ट गर्नेमा केन्द्रित हुन्छन् । तर, उत्तेजक भावना निर्माण गर्नुबाहेक यी पीडा झल्काउने पोस्टबाट वास्तवमा समुदायले के हासिल गर्छन् ?
लाइक, सेयर र रि–ट्विटमार्फत पीडा झल्काउन गरिएका पोस्टमा आएको प्रमाणीकरणले सशक्तीकरणको भ्रम मात्र दिन्छ । सामाजिक सञ्जालले यिनलाई सामाजिक अभियन्ताका रूपमा मात्र चित्रण गर्छ, तर संलग्नता मामिलामा प्रायः यस्ता अभियन्ता खोक्रो हुने गर्छन् । यिनले आफ्नो समुदायको संघर्ष आफ्नो अनलाइन उपस्थिति बढाउन प्रयोग गर्छन् र आफ्ना भावनात्मक प्रतिक्रिया अर्थात् क्रोध एवं शोक अल्गोरिदमबाट हेरफेर भइरहेका छन् भन्ने महसुस नगरीकनै भय र घृणाको चक्रलाई बलियो बनाउँछन् ।
प्रदर्शनात्मक आक्रोशको यो संस्कृतिले मानसिक स्वास्थ्यमा पनि गम्भीर असर गर्छ । नकारात्मक सन्देशको निरन्तर प्रवाहले आत्मविश्वासलाई मात्र कम गर्दैन, यसले समग्र मानसिक अवस्थालाई कमजोर बनाउँछ । हामीमध्ये धेरैले सामाजिक सञ्जालमा अनगन्ती घण्टा बिताउँछौँ र प्रायः यसलाई हाम्रो वास्तविक जीवनका जिम्मेवारी र चुनौतीबाट विचलित हुन प्रयोग गर्छौं । आक्रोश र असहायताको यो चक्रले धेरैलाई निराश र हतास महसुस गराउँछ । धेरैले मुसलमानका मुद्दालाई च्याट रुम वा सामाजिक सञ्जालमा मात्रै सीमित गर्न खोज्छन्, जसमा प्रायः वास्तविक संवादलाई प्रोत्साहन आवश्यक पर्ने सूक्ष्मता र हेरचाहमा कमी ल्याउँछ ।
यी इन्फ्लुएन्सर सामाजिक सञ्जाल अभियन्ताका रूपमा देखिएका छन्, यी अभियन्ता सीमान्तकृत समुदायमा जान्छन् र समर्थन प्रस्ताव गर्छन् भने यसले वास्तविक परिवर्तन ल्याउन सक्थ्यो । प्रणालीगत विभेदको सामना गर्नेलाई आश्वासन दिँदा भावनात्मक राहत र एकता निर्माण हुनेछ । अर्थात् ‘हामी यहाँ तपाईंका लागि आएका हौँ, तपाईंलाई केही चाहिन्छ भने हामीलाई थाहा दिनुहोस्’ भन्दा धेरै प्रभावकारी हुन्थ्यो । सामाजिक र राजनीतिक रूपमा सचेत हुन केवल ह्वाट्सएप सन्देश पठाउनु, सोसल मिडिया पोस्ट गर्नु वा आक्रोश रि–ट्विट गर्नुले पुग्दैन । चुनौती भनेको भारतका मुसलमानले भोगेका अन्यायलाई सम्बोधन गर्नु मात्र नभई भाष्यलाई नै पुनः आकार दिनुमा छ, अर्थात् भय र पीडाबाट सशक्तीकरण र स्वायत्ततातर्फको रूपान्तरण आवश्यक छ ।
सामाजिक सञ्जालले मत र आवाजलाई फैलाउन सक्छ, तर अफलाइन गरिएका पहलकदमी नै वास्तवमा महत्वपूर्ण हुन्छन् । अहिले सामूहिक जागरणको समय आएको छ, जसले डरलाग्दा कथा बाँड्नुभन्दा पर गएर आशा एवं प्रगतिका कथा सिर्जना गरोस् । हाम्रो समुदायले आफ्नो भाष्यलाई पुनः दाबी गर्न आवश्यक छ, जहाँ हामी निष्क्रिय पीडित नभई उज्ज्वल भविष्य बनाउन सक्षम परिवर्तनको सक्रिय प्रतिनिधि बन्न आवश्यक छ ।
(इस्तिखार जवाहरलाल विश्वविद्यालयका विद्यावारिधिका शोधकर्ता हुन्)
स्क्रोल डट इनबाट