वैश्विक खाद्य प्रणाली अहिले खण्डित भएको छ । यो प्रणालीमा बहुराष्ट्रिय निगमको हालिमुहाली छ र यिनले गैर–दिगो र अस्वस्थ उत्पादन एवं उपभोग प्रवृत्तिलाई प्रोत्साहन गर्छन् । यसक्रममा यिनले उत्पादनदेखि वितरणसम्मका सबै चरणमा अत्यधिक व्यर्थ अवशेष उत्पादन गरिरहेका छन् । वैश्विक खाद्य प्रणालीले अत्यधिक हरितगृह ग्यास पनि उत्सर्जन गरिरहेको छ, जसले वातावरणीय क्षति गराइरहेको छ । नतिजा, विभिन्न मुलुकका साना किसान सुरक्षित एवं व्यावहारिक जीविका चलाउनबाट वञ्चित भइरहेका छन् । सबैभन्दा दुर्भाग्यको कुरो के छ भने भोकमरी घट्नु त परको कुरो, थप बढिरहेको छ ।
यो बहुआयामिक समस्यालाई सम्बोधन गर्नु भनेको ठूलो र जटिल जिम्मेवारी लिनु हो । छोटो अवधिको मूल्यवृद्धिको प्रतिक्रिया र थप दिगो उत्पादन एवं समान वितरणका लागि दीर्घकालीन पहल कार्यान्वयन गर्नेबीचको स्पष्ट द्वन्द्वलाई ध्यानमा राख्दा आउने समाधानले व्यापारिक लेनदेनलाई चुनौतीपूर्ण बनाउनेछ । विश्वव्यापी रूपमा मलको अभाव यसको एक उदाहरण हो । प्राकृतिक ग्यासको बढ्दो लागतका कारण नाइट्रोजनमा आधारित उर्वरकको अत्यावश्यक कच्चा पदार्थ र युक्रेन युद्धले प्रमुख मल निर्यातक रुसमाथि आर्थिक प्रतिबन्ध लागेपछि सन् २०२१ मा बढ्दै गएको मूल्यले सन् २०२२ मा आकाश छोयो ।
तर, कम्पनीहरूले यो संकटको दुरुपयोग गरेर लागत वृद्धिभन्दा बढी मूल्यवृद्धि गर्न खोजेको प्रस्ट भएको छ । ग्रेन र द इन्स्टिच्युट फर एग्रिकल्चर एन्ड ट्रेड पोलिसीको हालैको अध्ययनअनुसार विश्वका नौ सर्वाधिक ठूला मल कम्पनीको नाफामा अत्यधिक बढोत्तरी आएको छ । सन् २०२० मा यी कम्पनीको नाफा १४ अर्ब डलरबाट सन् २०२१ मा २८ अर्ब डलर पुगेको थियो र २०२२ सम्ममा यो आँकडा ४९ अर्ब डलर पुगेको थियो । यहाँनेर ध्यान दिनुपर्ने के छ भने यी कम्पनीको नाफावृद्धि व्यापारमा बढोत्तरी भएर भएको होइन, बरु मूल्यमा भएको वृद्धिलाई ‘ग्रिडफ्लेसन’का (लोभ र मुद्रास्फीति) रूपमा व्याख्या गर्न सकिन्छ, अर्थात् यी कम्पनीले आफ्नो नाफालाई उल्लेखनीय रूपमा बढाउन आपूर्तिमा भएको अवरोधको फाइदा उठाएका थिए ।
साना किसान दिनानुदिन ऋणको गर्तमा डुब्दै जाँदा घटिरहेको मलको प्रयोगले अन्ततः घरेलु खाद्य उत्पादनलाई घटाउँछ र खाद्य सुरक्षालाई जोखिममा पार्छ
सन् २०२३ यता मलको मूल्यमा थोरबहुत गिरावट आए पनि विश्वभरका साना किसानका लागि मूल्य अझै पनि छुन नसकिने छ । न्यून आय भएका मुलुकका किसानले अहिले पहिलेको तुलनामा मल खरिदमा झन्डै तीन गुणा बढी रकम खर्च गर्नुपर्छ । साना किसान दिनानुदिन ऋणको गर्तमा डुब्दै जाँदा मलको प्रयोग घटिरहेको छ, जसले अन्ततः घरेलु खाद्य उत्पादनलाई घटाउँछ र खाद्य सुरक्षालाई जोखिममा पार्छ । उच्च मूल्यका कारण राष्ट्रसंघले सन् २०२२ को अन्त्यमा हालको ‘किफायती संकट’ ‘उपलब्धताको संकट’मा रूपान्तरण हुने खतराको चेतावनी दिएको छ ।
खाद्य आपूर्ति शृंखलामा हुने थप अवरोध रोक्न भारत, केन्या र फिलिपिन्स सरकारले कृषि अनुदान बढाएका छन् भने युरोपेली संघले घरेलु मल उत्पादन वृद्धिलाई प्रोत्साहन गर्ने उपाय अवलम्बन गरेको छ । तर, रासायनिक मल आफैँमा एक पारिस्थितिकीय समस्या अर्थात् दिगो कृषि एवं ग्रहकै लागि जोखिमका रूपमा हेरिएको छ । कुल हरितगृह ग्यास उत्सर्जनको २.४ प्रतिशत उत्सर्जनका अलावा रासायनिक मलले माटोको गुणस्तरमा गिरावट ल्याउँछ, ओजोन तह पातलो बनाउँछ, जैविक विविधतामा क्षति र वायु प्रदूषण पनि गराउँछ ।
यी जोखिमलाई हेर्दा सरकारहरूले पारिस्थितिक दिगोपनालाई असर पुर्याउन सक्ने योजना ल्याउनुहुँदैन । बरु वैकल्पिक कृषि–पारिस्थितिक प्रविधिमा आधारित चक्रीय खेती, प्राकृतिक मल एवं कीटनाशक निर्माणमा अनुदान अपरिहार्य छ । यसले किसानको खर्च मात्रै नघटाई नाइट्रोजन मलले निम्त्याउने वातावरणीय क्षतिलाई कम गर्न सघाउनेछ । महत्वपूर्ण कुरो यी विकल्प हामीसँग मौजुद छन् र यी व्यावहारिक भए पनि यसको अपार महत्व भने झल्किन बाँकी छ ।
ध्यान दिनुपर्ने के छ भने वैकल्पिक उपायलाई एकाएक लागू भने गर्नुहुँदैन । सन् २०२१ मा जब श्रीलंकाले एकाएक रासायनिक मलमा प्रतिबन्ध लगायो, तत्पश्चात् त्यहाँ नाटकीय ढंगले घरेलु उत्पादन घट्यो र खाद्यसंकट निम्तियो । तर, यदि कृषि–पारिस्थितिक प्रविधिलाई विचार गरेर लागू गरेको खण्डमा उत्पादन एवं माटोको गुणस्तर बढेका कैयौँ प्रमाण भेट्न सकिन्छ ।
दुर्भाग्य ! निजी लगानी र वैदशिक अनुदानले (दुवै निजी एवं सार्वजनिक क्षेत्रबाट आउने) कृषि–पारिस्थितिक प्रविधिको सट्टा रासायनिक मलमै बढी लगानी गर्छन् । उदाहरणका लागि सन् २००६ मा स्थापित र कैयौँ प्रतिष्ठानको दाताका रूपमा चिनिएको एलाइन्स फर अ ग्रिन रेभोल्युसन इन अफ्रिका (एग्रा) ले कृषिको औद्योगिक मोडेलको पैरवी गर्छ, जसमा रासायनिक मल एवं कीटनाशक आवश्यक पर्ने बढी उब्जनीको बिउ अत्यधिक प्रयोग हुने गर्छ । स्वतन्त्र अध्ययन र एग्राको आफ्नै मूल्यांकनले लाखौँ अफ्रिकी साना किसानको उब्जनी र आम्दानी दोब्बर बनाउने लक्ष्यमा एग्रा असफल भएको छ । यसैबीच, अफ्रिका महादेशका किसान रासायनिक मलको बढ्दो निर्भरता र अन्य कृषि सामग्रीको मूल्यवृद्धिका कारण दिनानुदिन जोखिममा परिरहेका छन् ।
विश्वले व्यहोरिरहेको वातावरणीय चुनौती र जलवायु परिवर्तनका भयावह असरलाई सामना गर्न हामीले वैश्विक खाद्य प्रणालीलाई थप दिगो एवं समतामूलक बाटोतर्फ डो¥याउनैपर्छ । यसका लागि खाद्य उत्पादनका विभिन्न क्षेत्रमा रूपान्तरण आवश्यक छ, विशेषतः कृषि सामग्री र उत्पादनमा विद्यमान एकाधिकार बजारलाई रूपान्तरण गर्न आवश्यक छ । रासायनिक मलप्रतिको हाम्रो निर्भरतालाई घटाएर हामी हालको खाद्यसंकटलाई एक महत्वपूर्ण अवसरमा रूपान्तरण गर्न सक्छौँ ।
(घोष मासाचुसेट्स अम्हेरेस्टकी अर्थशास्त्रकी प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट