Skip This
देशभरका जेन–जी सडकमा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
जिल्ला ब्युरो नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार o७:३४:oo
Read Time : > 4 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

देशभरका जेन–जी सडकमा

Read Time : > 4 मिनेट
जिल्ला ब्युरो, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार o७:३४:oo
  • प्रहरीको गोली लागेर इटहरीमा दुईजनाको मृत्यु, पोखरामा एक घाइते
  • बिर्तामोड, दमक, इटहरी र वीरगन्जमा कर्फ्यु, पोखरामा निषेधाज्ञा

भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी युवाहरूको आह्वानमा सोमबार देशभर प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा इटहरीमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको छ भने पोखरामा एकजना घाइते भएका छन् ।

युवाहरूले झापाको दमक, बिर्तामोड, धरान, इटहरी, विराटनगर, वीरगन्ज, हेटौँडा, भरतपुर, पोखरा, बुटवल, भैरहवा, बागलुङ, घोराही, नेपालगन्ज, धनगढीलगायत सहर–बजारमा प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले बिर्तामोड, दमक, इटहरी र वीरगन्जमा कर्फ्यु तथा पोखरामा निषेधाज्ञा जारी गरेका छन् । 

जेन–जी प्रदर्शनको क्रममा इटहरीमा प्रहरीको गोली लागेर दुईजनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिशेष श्रेष्ठ र परिचय खुल्न नसेकका एक अर्का व्यक्तिको ज्यान गएको सुनसरी प्रहरीका प्रहरी निरीक्षक प्रकाश पराजुलीले बताए । उनका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

बिहान ११ बजेदेखि इटहरी उपमहानगरपालिकाको गेटअगाडि जेन–जीको प्रदर्शन सुरु भएको थियो । केहीबेरपछि प्रहरीले लाठीचार्ज, अश्रु ग्यास र हवाई फायर प्रहार गरेर प्रदर्शनलाई तितरबितर बनाएको थियो । प्रहरीको हस्तक्षेपपछि आक्रोशित बनेका जेन–जी प्रदर्शनकारी दिउँसो करिब २ बजे नगरपालिकापरिसरमा पसेर कब्जा गरेका थिए । केही समय नाराबाजी गरेको समूहले करिब साढे तीन बजे मेयरको कार्यकक्ष र विभिन्न शाखाको कागजपत्र र फर्निचर तोडफोड गरेका थिए ।

कागजपत्रबाहिर निकालेर फ्यालेको सो प्रदर्शनकारी समूहले कार्यालयको भवनमा आगजनी गरेको थियो । फर्निचर र अन्य सामग्री निकालेर पूर्व–पश्चिम राजमार्गमा आगजनी गर्दा दिनभर जसो राजमार्ग अवरुद्ध बनेको थियो । नगरपरिसरमा रहेका केही मोटरसाइकल, साइकल, गेट, डिजिटल बोर्डसमेत तोडफोड र आगजनी गरेका थिए ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । ‘घटनामा इटहरी प्रहरीका डिएसपी लक्ष्मी भण्डारीसहित १३ जना सुरक्षाकर्मी घाइते भएका छन्,’ प्रहरी निरीक्षक पराजुलीले भने, ‘पाँचजना प्रदर्शनकारी घाइते भएकोमा एकको डिस्चार्ज भयो, ४ को उपचार भइरहेको छ ।’ 

प्रदर्शनको क्रममा १३ जना पक्राउ परेको उनले बताए । इटहरी तनावग्रस्त बनेपछि सुनसरी प्रशासनले सोमबार दिउँसो ३ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । 

पोखरामा प्रहरी र प्रदर्शनकारीबिच झडप, निषेधाज्ञा जारी 
पोखरामा प्रदर्शनमा उत्रिएका जेन–जी युवाहरू र प्रहरीबिच झडप भएको छ । मुख्यमन्त्री कार्यालय घेराउमा जान थालेपछि प्रहरीले चलाएको गोली लागेर २८ वर्षीय दिवस गुरुङ घाइते भएका छन् । प्रहरीको गोलीबाट घाइते गुरुङको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । झडपमा थप पाँचजना घाइते भएको र उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले सहिदचोकआसपासका क्षेत्रलाई तोकेर अनिश्चितकालीन निषेधाज्ञासमेत 
जारी गरेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निषेधाज्ञा जारी भएका स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति भेला, जम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा र विरोधका कार्यक्रम गर्न पाइनेछैन ।

कांग्रेस रुपन्देहीको पार्टी कार्यालय र पूर्वगृहमन्त्री खाणको घरमा तोडफोड
प्रदर्शनमा उत्रिएका युवाहरूले कांग्रेस रुपन्देहीको भैरहवास्थित पार्टी कार्यालय र तिलोत्तमा नगरपालिका–८ स्थित पूर्वगृहमन्त्री बालकृष्ण खाणको घरमा तोडफोड गरेका छन् । पार्टी कार्यालयपरिसरमा रहेका चारवटा कार, केही मोटरसाइकल र स्कुटीसमेत तोडफोड भएको कांग्रेस रुपन्देहीले जनाएको छ । युवाहरूले खाणको घरको गेट र कम्पाउन्डमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ । प्रदर्शन निन्त्रणबाहिर गएको भन्दै स्थानीय प्रशासनले बुटवल र भैरहवाका केही क्षेत्रमा सोमबार कर्फ्यु लगाएको  थियो । तर, राति १० बजेबाट हटेको छ । 

कोशी प्रदेशको राजधानी विराटनगरमा समेत प्रदर्शन भएको छ ।  राष्ट्रिय झन्डा, प्लेकार्ड र ब्यानरसहित युवाहरू विराटनगरको संसारीमाई स्थानबाट ट्राफिक चोक, महेन्द्र चोक, बसपार्क हुँदै रोडशेष चोकदेखि विराटनगर बजार परिक्रमा गरेर जिल्ला प्रशासन कार्यालय र कोशी प्रदेश सभाअगाडि प्रदर्शन गरेका हुन् । 

संसारीमाई स्थानदेखि महेन्द्र चोक हुँदै दक्षिण रोडशेष चोक पुगेका उनीहरूले प्रहरीको ब्यारिकेड तोडेर मुख्यमन्त्री कार्यालय घेराउको प्रयाससमेत गरे । उनीहरूले विराटनगर महानगरपालिकामा ढुंगासमेत प्रहार गरेका थिए । त्यस्तै, विराटनगर महानगरपालिकाले आन्दोलनबाट उत्पन्न परिस्थितिका कारण भन्दै महानगरभित्रका सबै विद्यालयको पठनपाठन मंगलबारका लागि बन्द गरेको छ ।

पर्साको वीरगन्जमा सोमबार राति नौ बजेदेखि मंगलबार बिहान नौ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । सोमबार वीरगन्जमा भएको जेन–जीको आन्दोलन मंगलबार पनि कायमै हुने देखिएपछि कर्फ्यु लगाइएको हो । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु आदेश भएको हो । महानगरको यस क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा बैठक घेराउ गर्न नपाउने उनले बताए ।

अन्य क्षेत्रमा पनि प्रदर्शन
युवाहरूले हेटौँडा वीरगन्ज, जनकपुर, बागलुङ, नेपालगन्ज, धनगढीलगायत क्षेत्रमा पनि प्रदर्शन गरेका छन् । हेटौँडा उपमहानगरपालिकाको कार्यालयअगाडि भेला भएर निस्किएका युवाहरू हुप्रचौर, बुद्धचोक र सीमाचोक हुँदै बागमती प्रदेश सभा भवनअगाडिसम्म पुगेका थिए । करिब दुई घण्टासम्म बुद्धचोक क्षेत्रमा सडक अवरुद्ध पार्दैे उनीहरूले ‘भ्रष्टाचार बन्द गर’, ‘सामाजिक सञ्जाल खोल’, ‘युवाले चाहेको परिवर्तन दे’ जस्ता नारा लगाएका थिए ।

सरकारले ‘उल्टो बाटो’ लिएको भन्दै सांकेतिक रूपमा केहीबेर उल्टो हिँडेर विरोध जनाएका थिए । प्रदर्शनकारी समीर सापकोटाले उल्टो हिँड्दा दुर्घटना हुने भएकाले सरकारलाई सुल्टो बाटोमा हिँड्न दबाब दिइएको बताए ।

‘भैँसी लड्यो है माया भिरबाट हेर, हाम्रो ट्याक्स है माया गै गयो लौ खेर’ नारासहित बागलुङ बजारमा विरोधसभा भएको छ । धनगढीमा जिल्ला प्रशासन कार्यालयअगाडि भेला भएका युवाले ‘जनताको पैसा जनताकै लागि’, ‘जनताको पसिना नेताको ऐस होइन’, ‘जनताको आवाज रोकिँदैन कहिल्यै’लगायतका प्लेकार्ड बोकेका थिए ।

दमक र बिर्तामोडमा आगजनी, प्रधानमन्त्री ओलीको घरमा ढुंगा प्रहार
झापाको दमक र बिर्तामोडमा पनि तनाव भएको छ । प्रदर्शनकारीले दमक र बिर्तामोड नगरपालिकामा प्रदर्शनसँगै आगजनीसमेत गरेका छन् । उनीहरूले दमक–९ स्थित प्रधानमन्त्री केपी ओलीको निवासमा समेत ढुंगा प्रहार गरेका छन् । प्रदर्शनका कारण बिर्तामोड क क्षेत्रमा सोमबार राति साढे ८ बजेदेखि बिहान ५ बजे तथा दमक क्षेत्रमा सोमबार राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको छ । दमकको प्रदर्शनमा ९ जना आन्दोलनकारी र १२ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले बताए । घाइतेको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै, दमकमा ५४ सेल अश्रुग्यास प्रहार भएको छ । उनका अनुसार विभिन्न हतियारबाट २१ राउन्ड गोली प्रहार भएको छ । खड्काले भने हवाई फायर भएको बताएका छन् । तर, प्रदर्शनकारीको घुँडा तथा शरीरका विभिन्न ठाउँमा गोली लागेर उपचार गराइरहेका छन् । आन्दोलनका क्रममा दमकबाट आठजना नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दमक नगरपालिकामा पार्किङ गरेर राखेका सरकारी तथा निजी करिब पाँचवटा मोटरसाइकल पूर्ण रूपमा जलाइएको छ । दुईवटा मोटरसाइकल तथा स्कुटरमा क्षति पुगेको दमक नगरपालिकाका सूचना अधिकारी समीप चुडालले बताए । उनका अनुसार दमक नगरपालिकाको प्रशासनिक भवनको सिसासमेत फुटाइएको छ । यस्तै, पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमकको क्याम्पस मोडदेखि चिया दोकानसम्म करिब तीन ठाउँमा टायर बालेर दुई घण्टाभन्दा बढी सडक अवरोध गरेका थिए । 

बिर्तामोड नगरपालिकामा पनि प्रदर्शनकारीले नगरपालिकाको गेटमा आगो बालेर प्रदर्शन गरेका छन् । उनीहरूले नगरपालिकापरिसरमा राखेका सवारीसाधनमा समेत तोडफोड गरेका हुन् । यस्तै, आन्दोलनकारीले अबेर राति बिर्तामोडस्थित एमाले झापाको कार्यालयमा समेत तोडफोड गरेका छन् । उनीहरूले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको पुरानो भवनपरिसरमा समेत आगजनी गरेका छन् । 

झापामा चिरञ्जीवी घिमिरे,इटहरीमा आरबी कटुवाल, पोखरामा रोहितराज पराजुली र भैरहवामा दीपेश पछाई