मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
जेसन हिकेल/डिलन सुलिभान/ओमर तैयब
Invalid date format ११:३६:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिकी र इयू प्रतिबन्धले निम्त्याएको मानवीय क्षति

Read Time : > 2 मिनेट
जेसन हिकेल/डिलन सुलिभान/ओमर तैयब
नयाँ पत्रिका
Invalid date format ११:३६:oo
  • प्रतिबन्धले सन् १९७० पछि तीन करोड ८० लाख मानिसको मृत्यु भएको छ, जसमध्ये धेरैजसो ग्लोबल साउथअन्तर्गतका देशका छन्

अमेरिका र युरोपले लामो समयदेखि एकपक्षीय प्रतिबन्धलाई साम्राज्यवादी शक्तिको उपकरणका रूपमा प्रयोग गर्दै आएका छन्, जसले पश्चिमी प्रभुत्वलाई हल्लाउन, स्वतन्त्र मार्ग तय गर्न र कुनै पनि प्रकारको अर्थपूर्ण सार्वभौमिकता स्थापना गर्न खोज्ने ग्लोबल साउथअन्तर्गतका सरकारलाई अनुशासनमा राख्न र ढाल्न पनि मद्दत गर्छ । सन् १९७० को दशकमा कुनै पनि वर्षमा औसतमा लगभग १५ देश पश्चिमी एकपक्षीय प्रतिबन्धअन्तर्गत थिए । यी प्रतिबन्धले वित्त र अन्तर्राष्ट्रिय व्यापारमा पहुँच रोक्न, उद्योगलाई अस्थिर बनाउन र राज्यको पतन उक्साउन विभिन्न संकट निम्त्याउन खोजेका थिए ।

उदाहरणका लागि जब १९७० मा चिलीमा लोकप्रिय समाजवादी साल्भाडोर एलेन्डे सत्तामा निर्वाचित भए, अमेरिकी सरकारले क्रूर प्रतिबन्ध लगायो । सेप्टेम्बर १९७० मा ह्वाइट हाउसमा भएको बैठकमा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले यसको उद्देश्य ‘चिलीकोे अर्थतन्त्रलाई त्राहिमाम् बनाउनु’ थियो भनेर व्याख्या गरे । इतिहासकार पिटर कोर्नब्लुहका अनुसार प्रतिबन्धहरू ‘अदृश्य नाकाबन्दी’ थिए, जसले चिलीलाई अन्तर्राष्ट्रिय वित्तबाट कटौती गर्‍यो, सामाजिक अशान्ति सिर्जना गर्‍यो र अगस्टो पिनोचेको क्रूर दक्षिणपन्थी तानाशाही स्थापना गर्ने अमेरिकी समर्थित विद्रोहका लागि मार्ग प्रशस्त गर्‍यो ।

त्यसवेलादेखि, अमेरिका र युरोपले प्रतिबन्धलाई नाटकीय ढंगले बढाएका छन् । सन् १९९० र २००० को दशकमा कुनै पनि वर्षमा औसत ३० देश पश्चिमी एकपक्षीय प्रतिबन्धमा थिए । र, अब २०२० को दशकमा ६० भन्दा बढी देशमा यो प्रतिबन्ध छ । यीमध्ये अधिकांश ग्लोबल साउथअन्तर्गतका देश छन् । प्रतिबन्धमा प्राय: ठुलो मानवीय क्षति हुने गरेको विद्वान्हरूले औँल्याएका छन् । जस्तै– १९९० को दशकमा इराकविरुद्ध अमेरिकी प्रतिबन्धले व्यापक कुपोषण, सफा पानी, औषधि र बिजुलीको अभाव निम्त्यायो । हालसालै, भेनेजुएलाविरुद्ध अमेरिकी आर्थिक युद्धले गम्भीर आर्थिक संकट निम्त्याएको छ । प्रतिबन्धले २०१७ देखि २०१८ सम्म मात्र एक वर्षमा ४० हजार अतिरिक्त मृत्यु निम्त्याएको एक अध्ययनले देखाएको छ ।

अहिलेसम्म, अनुसन्धानकर्ताले तथ्यगत आधारमा प्रतिबन्धको मानवीय क्षति बुझ्न खोजेका छन् । यो गाह्रो काम हो र यसले हामीलाई आंशिक तस्बिर मात्र दिन सक्छ । तर, यो वर्ष द ल्यान्सेट ग्लोबल हेल्थमा प्रकाशित नयाँ अनुसन्धानले हामीलाई पहिलोपटक विश्वव्यापी दृष्टिकोण दिन्छ । डेनभर विश्वविद्यालयका अर्थशास्त्री फ्रान्सिस्को रोड्रिगेजको नेतृत्वमा भएको अध्ययनले १९७० देखि २०२१ सम्म अन्तर्राष्ट्रिय प्रतिबन्धसँग सम्बन्धित अतिरिक्त मृत्युको कुल संख्याको गणना गरेको छ । नतिजाहरू अचम्मलाग्दा छन् । लेखकहरूले पत्ता लगाएका छन् कि १९७० देखि अमेरिका र इयूद्वारा लगाइएका एकपक्षीय प्रतिबन्ध तीन करोड ८० लाख मृत्युसँग सम्बन्धित छन् । सन् १९९० को दशकको केही वर्षमा दश लाखभन्दा बढी मानिस मारिएका थिए । त्यस्तै, सन् २०२१ (तथ्यांकको सबैभन्दा पछिल्लो वर्ष) प्रतिबन्धले आठ लाखभन्दा बढी मृत्यु निम्त्यायो ।

यी नतिजाका अनुसार युद्धको प्रत्यक्ष हताहत (औसतमा, प्रतिवर्ष लगभग एक लाख मानिस) भन्दा धेरै गुणा बढी मानिस प्रतिबन्धबाट मारिन्छन् । पीडितमध्ये आधाभन्दा बढी बालबालिका र वृद्धवृद्धा छन्, जो कुपोषणको सबैभन्दा बढी जोखिममा छन् । अध्ययनले पत्ता लगाएको छ कि सन् २०१२ देखि मात्र, प्रतिबन्धले दश लाखभन्दा बढी बालबालिकाको ज्यान लिएको छ । भोकमरी र अभाव पश्चिमी प्रतिबन्धको आकस्मिक बाइप्रोडक्ट होइन, तिनीहरू एक प्रमुख उद्देश्य हुन् । यो अप्रिल १९६० मा लेखिएको विदेश मन्त्रालयको ज्ञापनपत्रबाट स्पष्ट छ, जसले क्युबाविरुद्ध अमेरिकी प्रतिबन्धको उद्देश्यलाई व्याख्या गर्छ । ज्ञापनपत्रमा उल्लेख गरिएको छ कि फिडेल क्यास्ट्रो र क्रान्तिले क्युबामा झन् व्यापक लोकप्रियता हासिल गरेको थियो । यसले तर्क गर्‍यो कि ‘क्युबाको आर्थिक जीवनलाई कमजोर बनाउन हरेक सम्भावित कदम तत्काल चाल्नुपर्छ ।’ 

पश्चिमा प्रतिबन्धहरूको शक्ति विश्वका आरक्षित मुद्राहरू (अमेरिकी डलर र युरो) मा उनीहरूको नियन्त्रण, अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीहरू (स्विफ्ट) मा उनीहरूको नियन्त्रण र आवश्यक प्रविधिमा उनीहरूको एकाधिकारमा निर्भर गर्छ । यदि ग्लोबल साउथका देश बहुध्रुवीय संसारतर्फ अझ स्वतन्त्र मार्ग तय गर्न चाहन्छन् भने उनीहरूले यी सन्दर्भमा आफ्नो निर्भरता सीमित गर्न कदम चाल्नुपर्नेछ । रुसको हालैको अनुभवले देखाउँछ कि यस्तो दृष्टिकोण सफल हुन सक्छ ।
सरकारले ग्लोबल साउथ देशबिच वस्तु तथा सेवा र प्रविधिको आदानप्रदान गरेर, आवश्यक प्रविधि विकास गर्न क्षेत्रीय योजना प्रयोग गरेर र पश्चिमा नियन्त्रणबाहिर नयाँ भुक्तानी प्रणाली स्थापना गरेर ठुलो स्वतन्त्रता प्राप्त गर्न सक्छन् । वास्तवमा, धेरै देशले पहिले नै यस दिशामा कदम चालिरहेका छन् । महŒवपूर्ण कुरा चीनमा विकसित गरिएका नयाँ प्रणाली (जस्तै– अन्तर्राष्ट्रिय भुक्तानीका लागि सिआइपिएस, उपग्रहहरूका लागि बिडोउ, दूरसञ्चारको हुवावे) ले अब अन्य ग्लोबल साउथ देशलाई विकल्प प्रदान गर्छन्, जुन पश्चिमी निर्भरता र प्रतिबन्धको जालबाट बाहिर निस्कने बाटो बन्न सक्छ ।

सार्वभौम विकास हासिल गर्न चाहने देशका लागि यी कदम आवश्यक छन्, तर यी नैतिक अनिवार्यता पनि हुन् । हामी त्यस्तो संसारलाई स्वीकार गर्न सक्दैनौँ, जहाँ पश्चिमा प्रभुत्वलाई समर्थन गर्न प्रत्येक वर्ष पाँच लाख मानिस मारिन्छन् । 

(अलजजिराका लागि हिकेल, सुलिभान र तैयबको आलेख)