मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १२ बिहीबार
  • Thursday, 28 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १२ बिहीबार १६:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली सेनाद्वारा अढाई करोडका २२ आयोजना सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १२ बिहीबार १६:२२:oo

नेपाली सेनाले असार मसान्तसम्म दुई करोड ५६ लाख रुपैयाँ बजेटमा देशभर २२ वटा शीघ्र प्रभावी आयोजना सम्पन्न गरेको छ । सेनाले बढीभन्दा बढी जनसमुदायहरू प्रत्यक्ष/परोक्ष लाभान्वित हुने सामाजिक, आर्थिक, पूर्वाधार विकासलगायतका जनहितका कार्यक्रम गरेको जनाएको छ । 

सेनाले नेपाल एकीकरणको दौरान प्रयोग भएका रणनीतिक एवं ऐतिहासिक महत्त्वका गढी संरक्षण र पुनर्निर्माण गरेको जनाएको छ ।

सेनाले बुधबार नयाँ पत्रिकालाई उपलब्ध गराएको विवरणअनुसार उदयपुरस्थित चौदण्डीगढी, ओखलढुंगाको सिद्धिचरण नगरपालिकामा अवस्थित तलुवागढी (जानुकागढी), चितवनको उपरदाङगढी, नुवाकोटको बेलकोटगढी, लमजुङको पुरानकोट, सुर्खेतको वीरेन्द्रनगरस्थित बयलकाँडागढी, डडेलधुरास्थित अमरगढी र पाल्पास्थित माथागढीलगायत गुल्मी जिल्लाको मुसिकोट मुसिकोट दरबारको स्तरोन्नति तथा मर्मत–सम्भार गरेको छ । 

सेनाले सामाजिक एकता जागृत गर्ने सांस्कृतिक तथा पर्यटकीय महत्त्व बोकेका इलामको माई स्थान मन्दिर, रामेछापको तिल्केस्थान गढीमा रहेको देवी मन्दिर, नुवाकोटको बेलकोटगढीस्थित निरञ्जना भगवती मन्दिरको स्तरोन्नति गरेको छ । सेनाले चितवनको देवघाटस्थित महेश आश्रममा गौशाला, मुस्ताङस्थित कागबेनीमा श्राद्धस्थलमा ट्रसघर, पर्वतका कटुवाचौपारीमा पुजारी बस्ने कोठासहितको ट्रसघर निर्माण गरेको छ ।

सेनाले महोत्तरी जिल्लाको सोनम गाउँपालिका, जिरौनामा रहेको सरस्वती जनता माविमा छात्राहरूलाई लक्षित गरी चारकोठे छात्रा शौचालय निर्माण गरिदिएको छ । यसैगरी, दैलेख जिल्लाको दुल्लु नगरपालिकास्थित पवित्र तीर्थस्थल पञ्चकोशी मावि वेद विद्या आश्रममा अध्ययनरत छात्रहरूका लागि सेड घर निर्माण गरेको छ ।     

सेनाले नेपाल सरकारको एक पालिका एक हेलिप्याडको नीतिमा सहयोग गरेको पनि जनाएको छ । जसअनुसार  मुगु जिल्लाको विकट मुगुम कार्मारुङ गाउँपालिकामा हेलिप्याड निर्माण गरेको छ ।  सेनाले डडेल्धुरा र डोटी जिल्लाका स्थानीयहरूका लागि पानीट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा धाराहरूको निर्माण गरेको जनाएको छ । 

सेनाले राष्ट्रिय एकताको प्रवर्द्धन तथा पर्यटन तथा पर्यावरणलाई टेवा पुर्‍याउन काठमाडौंको नारायणहिटी संग्रहालयपरिसरमा झिल पोखरीको मर्मत सम्भार गरेको छ ।  बाराको कलैया उपमहानगरपालिकास्थित कलैया बजारमा नेपालको झन्डा तथा मोनोग्राम निर्माण गरेको छ ।  आ.व. ०८१/८२ मा नेपाली सेनाद्वारा सम्पन्न भएका शीघ्र प्रभावी आयोजनाहरू विभिन्न मितिमा स्थानीय प्रशासन, अन्य सुरक्षा निकाय, विभिन्न संघसंस्था, पत्रकारहरू, स्थानीय बुद्धिजीवी र जनसमुदायको समुपस्थितिमा सम्बन्धित स्थानीय निकायहरूलाई हस्तान्तरण गरेको छ,’ सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले भनेको छ।  सेनाले बाजुरास्थित त्रिवेणी नगरपालिकाको समन्वयमा बडिमालिका मन्दिर पुनर्निर्माण गरेको छ ।