
विवादित बनेको इम्बोस्ड नम्बर प्लेटको नागरिकस्तरबाट बहिष्कार अभियान सुरू भएको छ । महंगो भएको र संविधानविपरीत अंग्रेजी भाषा प्रयोग भएको भन्दै यसलाई संगठित रुपमा बहिष्कार गर्न अभियान नै सुरु भएको हो ।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पनि इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक आह्वान गरेको छ । यातायात व्यवस्था विभागले आगामी असोजदेखि सवारीको दर्ता, नवीकरण र नामसारी गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सार्वजनिक सूचना जारी गरेकोेमा महासंघले त्यसलाई कार्यान्वायन गर्न नसकिने जनाएको छ ।
पूर्वाधारविनै सर्वसाधारणलाई इम्बोस्ड नम्बर जडान गर्न दबाब दिएको भन्दै विरोधस्वरूप उसले यस्तो आह्वान गरेको हो ।
३ भदौमा जारी विभागको सूचनामाथि सार्वजनिक आलोचनासमेत भइरहेको छ । आलोचनाकै बिच सोमबार विज्ञप्ति जारी गर्दै महासंघले अव्यावहारिक विषय संशोधन नगरेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको हो ।
इम्बोस्ड नम्बर प्लेटमा प्रयोग गरिने भाषाप्रति पनि महासंघले आपत्ति जनाएको छ । प्लेटमा अंग्रेजी भाषा प्रयोग गरिने सम्झौतामा उल्लेख छ । सोहीअनुसार इम्बोस्ड नम्बर प्लेट जारी भएका छन् । इम्बोस्डमा अंग्रेजी भाषा प्रयोग गर्दा त्यसले नेपाली भाषा नै लोप हुन जाने विज्ञप्तिमा उल्लेख छ । यसले राष्ट्रिय स्वाभिमानमा नै आँच आउने महासंघको ठहर छ ।
नेपाली भाषाको देवनागरी लिपि लोप हुने तथा आवश्यक पूर्वाधारविनै नागरिक र सिंगो यातायात व्यवसायमा आर्थिक भार हुने गरी एकपक्षीय रूपमा भएको सरकारको निर्णयका कारण नेपालीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने र राष्ट्र नै कमजोर हुने महासंघको ठहर छ ।
इम्बोस्ड नम्बर जडान व्यवसायीको हितविपरीत
तत्काल अनिवार्य रूपमा इम्बोस्ड नम्बर जडान गर्ने कुरा व्यवसायीको हितविपरीत भएको र व्यावहारिक पनि नभएको भन्दै त्यसप्रति गम्भीर हुन पनि महासंघले भनेको छ । महासंघको विज्ञप्तिमा भनिएको छ, ‘सरकार, प्रत्यक्ष सरोकार पक्षहरूबिचको छलफल र संवादबिच देखिएका अव्यावहारिक विषयहरूको संशोधन सुधारविना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नुहुन सबैमा हार्दिक अनुरोध छ ।’
जबर्जस्ती प्लेट जडान गर्न खोजिए हुने विरोध र दबाबका गतिविधिप्रति स्वयं यातायात मन्त्रालयमातहतका निकाय नै जवाफदेही हुने चेतावनी महासंघको छ ।
उपभोक्ता अधिकारकर्मी, कानुन व्यवसायी तथा आम नागरिकले पनि इम्बोस्ड नम्बर प्लेट बहिष्कार गर्नुपर्ने बताएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिना यसरी इम्बोस्ड नम्बर प्लेटका लागि उर्दी जारी गर्नु आमनागरिकमाथि अन्याय भएको बताउँछन् । ‘जसरी पनि जडान गर्नुपर्छ भन्नु उपभोक्तामाथिको अन्याय हो,’ उनी भन्छन्, ‘यसमा लिपिदेखि धेरै विषयमा प्रश्न उठिरहेको छ, अंग्रेजी भाषामा नम्बर प्लेट लेख्नु संविधानविपरीत छ, कसैबाट परिचालित भएर राज्यका निकाय लागेका छन् भन्ने देखिन्छ ।’
यसप्रति नागरिक पनि रुष्ट छन् । सोमबार यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा भेटिएकी सेवाग्राही सविता श्रेष्ठले इम्बोस्ड नम्बर प्लेटका कारण धेरै नै दु:ख पाएको बताइन् । ‘मान्छेलाई पैसा तिरेर सहयोग लिँदा पनि घन्टौँ लाग्यो,’ उनले भनिन् ।
सो निर्णयविरुद्ध दिपेश केसीको नेतृत्वमा जाग नेपाली अभियानले पनि नम्बर प्लेट बहिष्कारको आह्वान गर्दै आन्दोलनको घोषणा गरेको छ ।
सामाजिक सञ्जालमा पनि इम्बोस्ड नम्बर प्लेटविरुद्ध अभियान सुरु भएको छ ।
खारेजीको माग गर्दै विराटनगर र बर्दियामा विरोध
इम्बोस्ड नम्बर खारेजीको माग गर्दै विराटनगर र बर्दियामा विरोध प्रदर्शन भएको छ । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले पनि अंग्रेजी भाषा प्रयोग गरिएकोमा सोमबार विराटनगरमा विरोध र्याली निकालेको छ ।
बर्दियामा सर्वसाधारणले प्रदर्शन गरेका हुन् । सरकारले आगामी १ असोजबाट अनिवार्य इम्बोस्ड नम्बर जडान गर्ने निर्णय गरेको छ । इम्बोस्ड नम्बर जडान गर्दा दुईपांग्रे सवारीसाधनले २५ सय, तीनपांग्रे २९ सय र साना तथा मझौला सवारीसाधनले ३२ सय र ठुला सवारीसाधनले ३६ सय राजस्व तिर्नुपर्ने हुन्छ । गुलरिया नगरपालिका– ६ का केशव रिजालले सरकारले यसरी इम्बोस्ड नम्बर अनिवार्य गर्दा सवारीधनी दोहोरो करको मारमा पर्ने बताए ।
उनले भने, ‘सरकारले इम्बोस्ड नम्बर ल्याएर करमाथि कर थपेको छ । अर्काेतर्फ, इम्बोस्ड नम्बर सवारीसाधनमा जडान गर्दा नेपाली मौलिक भाषा मास्ने काम भएको छ । यसरी नम्बर परिवर्तन गर्दा सरकारले मौलिक संस्कृतिमाथि पनि प्रहार गरेको छ । कतिपय देशमा इम्बोस्ड नम्बर त्यही देशको भाषाअनुसार छ । तर, यहाँ भने भाषा सिध्याउने खेल भएको छ ।’
गुलरिया नगरपालिका– ४ तुलापुरका राम भण्डारीले सरकारले अहिलेसम्म लाइसेन्स चेक गर्ने मेसिन ल्याउन सकेको छैन, यस्तो अवस्थामा इम्बोस्ड नम्बरको केही अर्थ नभएको बताए ।