मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Sunday, 03 August, 2025
२o८२ श्रावण १८ आइतबार o८:२४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

स्वरूप फेर्दै दुधे रंगशाला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार o८:२४:oo
  • एक करोड ७० लाखको लागतमा झापाको शिवशताक्षीस्थित दुधे रंगशालाको स्तरोन्नति हुँदै 

५० वर्षअघि सम्म झापाको शिवशताक्षी–११ स्थित दुधेमा एउटा सामान्य चौर थियो । त्यही चौरमा स्थानीयले फुटबल खेल्ने गर्थे । समयक्रमसँगै यो चौरमा भवानी स्मृति कप, पूर्वाञ्चलस्तरीय कप हुँदै ए डिभिजन क्लब सम्मेलित दुधे गोल्डकप आयोजना भयो । त्यसपछि यो मैदानलाई दुधे रंगशालाको नामकरण गरियो । तर, मैदानमा हुने प्रतियोगिता अक्सर बाँसको अस्थायी प्यारापिट लगाएर आयोजना हुन्थ्यो ।

०७४ पछि यो दुधे रंगशालामा कुनै प्रतियोगिता नै भएन । अहिले दुधे रंगशालाको स्वरूप फेरिएको छ । सामान्य मैदानदेखि ए डिभिजन लिग फुटबल आयोजना गर्न सक्ने क्षमताका रूपमा विकास भएको छ । आठ वर्षअघि यसलाई सुविधासम्पन्न रंगशालाको रूपमा विकास गर्न थालिएको हो । साढे चार बिघा क्षेत्रफलमा फैलिएको दुधे रंगशालामा संघीय, प्रदेश र स्थानीय सरकारले स्थायी प्यारापिट निर्माणको काम गरिएको हो ।

संघीयको ४० लाख, कोशी प्रदेशको २० लाख र स्थानीय सरकारको लगानीमा एक करोड १० लाखमा स्थायी घेरा लगाइएको शिवशताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्राले जानकारी दिएका छन् । स्टेजसहितको स्थायी प्यारापिटका लागि एक करोड आठ लाख रुपैयाँ खर्च गरिएको उनले बताए । यो रंगशाला निर्माणका लागि ८६ कराेड रुपैयाँ लागत लाग्ने गरी डिपिआर तयार गरिएको छ । 

‘रंगशाला बिस्तारै बनिरहेको छ । यसमा तीनै क्षेत्रबाट लगानी भएको छ,’ अध्यक्ष थोप्राले भने, ‘यो रंगशालालाई २६ हजार दर्शक अँट्न सक्ने रंगशाला बनाइने लक्ष्य हामीले राखेका छौँ ।’ उनका अनुसार रंगशालालाई झापाकै गौरवको रूपमा विकास गर्ने योजना रहेको छ । ‘हामीहरूको लक्ष्य नै यहाँ कम्तीमा पनि २६ हजार दर्शक अट्ने रंगशाला बनाउने हो, क्रमसँग वरिपरि प्यारापिटको काम गर्नेछौँ,’ उनले भने, ‘यो रंगशालामा ट्र्याफिल्ड, भलिबल कोर्ट, स्विमिङ पुल पनि रहन्छ ।’ 

चालू आर्थिक वर्षमा तीन करोड
संघीय सकारले चालू आर्थिक वर्षमा यो रंगशालाका लागि तीन करोड विनियोजन गरेको नगरप्रमुख थोप्राले बताए । उनका अनुसार यसले रंगशालामा फ्लडलाइट जडान गरिनेछ ।

स्थानीय सरकारले पनि चालू आर्थिक वर्षमा ५० लाख खर्च गर्ने उनले बताए । स्थानीय खेलप्रेमीको लामो प्रयासपछि दुधे रंगशालाले नयाँ रूप लिँदै गएको दुधे युथ क्लबका अध्यक्ष सन्तोष थोप्रा बताउँछन् । उनका अनुसार हाल करिब तीन हजार दर्शक अँट्ने प्यारापिट पनि निर्माण भइसकेको छ । आउने कात्तिकसम्म प्यारापिट निर्माण सम्पन्न गरेर महिला गोल्डकप आयोजना गरिने उनले बताए ।

महिला गोल्डकपका लागि खेलमैदानको स्तरोन्नति, पक्की र अस्थायी प्यारापिट निर्माणको काम धमाधम भइरहेको जानकारी दिए । ‘चालू आर्थिक वर्षको बजेटले फ्लडलाइट पनि जडान हुन्छ । यो झापावासीकै लागि गौरवको कुरा हो,’ उनले भने, ‘झापामा फुटबलको क्रेज धेरै राम्रो छ । काठमाडौंबाहिर झापामा सबैभन्दा धेरै फुटबल गतिविधि हुँदै आएको छ ।’  झापामा राम्रो फुटबल क्रेज भए पनि अन्तर्राष्टियस्तरको रंगशाला छैनन् । यहाँ आयोजना हुने अधिकांश फुटबल प्रतियोगिता अस्थायी प्यारापिट हुँदै आएको छ । अब दुधे रंगशालाले यसको अन्त्य गर्ने थ्रोपाले बताए ।