
साउनको तेस्रो साता चलिरहँदा गण्डकी प्रदेशमा ८८.९७ प्रतिशत धान रोपाइँ सकिएको छ। गण्डकी प्रदेशमा १८ साउन अर्थात् आजसम्म ८८.९७ प्रतिशत रोपाइँ सकिएको कृषि विकास निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ।
गण्डकीमा चार लाख ७९ हजार ६१७ हेक्टर खेतीयोग्य क्षेत्रफल रहेकोमा सोमध्ये ९४ हजार १८२ हेक्टरमा धानखेती हुने अनुमान निर्देशनालयले गरेकोमा १८ साउनसम्म ८३ हजार ७९४.२ हेक्टरमा धान रोपाइँ सकिएको जनाएको हो।
निर्देशनालयका सूचना अधिकारी मनोज पौडेलका अनुसार प्रदेशका ११ जिल्लामध्ये हिमालपारिका जिल्लाका नामले परिचित दुई जिल्ला मनाङ र मुस्ताङबाहेक अन्य नौ जिल्लामा धानखेती हुँदै आएको छ।
नौ जिल्लामध्ये सबैभन्दा धेरै बागलुङमा पाँच हजार ७०७ हेक्टरमध्ये पाँच हजार ५२५ अर्थात् ९६.८१ प्रतिशत र सबैभन्दा कम नवलपरासीमा १८ हजार ७२० हेक्टरमध्ये १४ हजार ८४० अर्थात् ७९.२७ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको पौडेलले जानकारी दिए ।
यसैगरी, अन्य जिल्लाहरूमध्ये लमजुङमा नौ हजार २९९ हेक्टरमध्ये आठ हजार ८६० हेक्टर अर्थात् ९५.२८ प्रतिशत, कास्कीमा १६ हजार २२० हेक्टर मध्ये १५ हजार ४०९ हेक्टर अर्थात् ९५ प्रतिशत, म्याग्दीमा तीन हजार ८०६ हेक्टरमध्ये तीन हजार ४६४ हेक्टर अर्थात् ९१.१ प्रतिशत, तनहुँमा आठ हजार ७२० हेक्टरमध्ये सात हजार हजार ९३५.२ हेक्टर अर्थात् ९१ प्रतिशत, पर्वतमा सात हजार १८० हेक्टरमध्ये ६ हजार ४६२ हेक्टर अर्थात् ९० प्रतिशत, स्याङ्जामा १४ हजार ३९० हेक्टरमध्ये १२ हजार ७३४ हेक्टर अर्थात् ८८.४९ प्रतिशत र गोरखामा १० हजार १४० हेक्टरमध्ये आठ हजार ५६५ अर्थात् ८४.४७ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको पौडेलले जानकारी दिए।
विशेष गरी गण्डकीमा जेठो बुढो, पोख्रेली जेठो बुढो, पहेले, एक्ले, खुमल, गुद्री, झिनुवा, जर्नेली, साबित्री, हर्दिनाथ, रामधान, सुक्का १, सावा मन्सुलीलगायत धानखेती हुँदै आएको पौडेलले जानकारी दिए।