
पोखरा महानगरपालिका–१६, बाटुलेचौरस्थित चर्चित लिचीघारी जग्गा प्रकरण र घुस लेनदेनमा मुछिएकासँगै मुख्य ‘बिचौलिया’ भनिएका पोखरा– २५, हेम्जाका सुजन लामालाई एमालेले पार्टीबाट निलम्बन गरेको छ।
पार्टीको गण्डकी प्रदेश कमिटीका सल्लाहकारसमेत रहेका लामालाई प्रदेश कमिटीको आइतबार पोखरामा सम्पन्न बैठकले तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको सचिव धनञ्जय दवाडीले जानकारी दिए। दवाडीका अनुसार लामाको विषयमा सरोकारवाला निकायहरूले छानबिन गरिरहेको र आउँदो तीन महिनामा त्यसको छिनोफानो भइसक्ला भन्ने अनुमान गरी हाललाई निलम्बन गरेको जानकारी दिए।
यसैगरी, बैठकले पार्टीको उद्योग विभागअन्तर्गतका सदस्य कपिल गिरीलाई समेत निलम्बन गरेको दवाडीले जानकारी दिए। गिरीसमेत विभिन्न विवादमा मुछिएकाले त्यसको छिनोफानो नहुँदासम्मका लागि निलम्बन गरिएको उनले जानकारी दिए। पार्टीले निलम्बन गर्नुअघि दुईजनासँग स्पष्टीकरण सोधेकोमा चित्त नबुझेपछि कारबाहीस्वरूप निलम्बन गरेको दवाडीले जानकारी दिए।
यसका साथै बैठकले कमिटीले गत आर्थिक वर्ष ०८१/८२ मा गरेका वार्षिक योजना र कामहरूको समीक्षा, चालू आर्थिक वर्ष ०८२-८३ का लागि जिल्लाहरूसँग प्रस्तावित कार्ययोजना माग गर्नेसँगै आवश्यक बजेट पारित गरेको सचिव दवाडीले जानकारी दिए। बैठकले पार्टीले लेखनाथमा खरिद गरेको र केही दान पाएको गरी चार रोपनी जग्गामा भवन निर्माणका लागि आवश्यक काम अघि बढाउने निर्णयसमेत गरेको छ।
पोखरा–१६ स्थित लिचीघारीको १३५ रोपनी जग्गाको स्वामित्वको विषयसँगै कास्कीका तत्कालीन मालपोत कार्यालयका प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्नका लागि तत्कालीन सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग ५३ लाख र भूमि आयोग कास्कीको अध्यक्षमा खेम पुनलाई नियुक्ति गर्न २५ लाख रुपैयाँ घुस प्रस्ताव गरेको अडियो सार्वजनिक भएपछि लामा विवादमा आएका थिए। सोही अडियोका कारण मन्त्री गुप्ताले भने राजीनामा दिइसकेका छन्।