
दाङमा लाइसेन्स नभएको छोरालाई मोटरसाइकल चलाउन दिने आमालाई पनि प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर–१९, बाँसगढीमा पैदल हिँडिरहेकी ६५ वर्षीया गौमती रोकालाई शनिबार मोटरसाइकलले ठक्कर दिँदा उपचारको क्रममा मृत्यु भएको थियो। दिउँसो करिब साढे २ बजेतिर रा५प २६७८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते रोकाको बाँकेको कोहलपुर मेडिकल कलेजमा शनिबार साँझ साढे ६ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो।
सोही मोटरसाइकल तुलसीपुर उपमहानगरपालिका–७ निवासी मीना भुसालको थियो। तर, उक्त मोटरसाइकल १६ वर्षीय छोरा लक्ष्मण भुसालले चलाउँथे। तर, उनको लाइसेन्स छैन। आमाको नामको मोटरसाइकल छोराले चलाएकाले आमालाई पनि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सूर्यबहादुर रानाले जानकारी दिए।
कसैले पनि लाइसेन्स नभएकालाई सवारी चलाउन दिँदा सवारीधनीलाई समस्या पर्ने उनले बताए। पक्राउ परेका आमाछोरालाई जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरेर इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।