
धनुषाको जनकपुरधाम उपमहानगरपालिका– ४ मा धारिलो हतियार प्रहार गरी एक किशोरीको हत्या गरिएको छ भने दुई महिला घाइते भएका छन्। जनकपुरधामको कटैयाचौरीनजिक भएको घटनामा धनुषाको बटेश्वर गाउँपालिका– ५, शान्तिपुरनिवासी दिनेश यादवकी १४ वर्षीया छोरी अञ्चली यादवको मृत्यु भएको धनुषाका प्रहरी निरीक्षक अनिल बैठाले जानकारी दिए।
घटनामा अञ्चलीकी आमा ३६ वर्षीया आशा यादव र आशाकी भतिजी राधा यादव घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटना गएराति करिब ११ बजे भएको हो। अञ्चली जनकपुरमा डेरा गरी पढ्दै आएकी थिइन् । धारिलो हतियार प्रयोग गरेर आक्रमण गर्ने व्यक्ति फरार रहेको र उनको खोजी तथा घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।