
नारायणी नदीमा एक्कै दिन दुई जनाले हाम फालेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका–५ कुसमुघाट निवासी १५ बर्षीय आदेश श्रेष्ठ र नुवाकोट जिल्लाको साविक हलदेब गाविस–१ स्थायी घर भएका ५९ वर्षीय मिठा गिरी नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।
आज साँझ ८ बजेतिर पुलमा आफ्नो नागरिकता छाडेर ५९ वर्षीय गिरी नदीमा हाम फालेका हुन् । नारायणगढ र गैडाकोट जोड्ने नारायणी नदीको गैडाकोट– २ तर्फको पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।
यसैगरी, आर्ज बिहान सवा ६ बजेतिर गैडाकोट–५ कुसुमघाट निवासी १५ वर्षीय किशोर आदेश श्रेष्ठ पनि नदीमा हाम फालेरे बेपत्ता भएका छन् । उनको बिहानैदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरीका खोजी जारी राखे पनि अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले बताए । ती किशोर साइकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेका थिए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कक्षा ९ मा अध्ययनरत १५ वर्षीय आदेश श्रेष्ठका मामाका अनुसार उनी बिहानै घरबाट कसैलाई केही नभनी निस्केका थिए । उनका बुवा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।