
बलात्कार मुद्दामा पक्राउ परेका पूर्वप्रदेश प्रमुख राजेश अहिराज(झा) माथि प्रहरीले एक सातामै अनुसन्धान टुंगाएको छ । गत ४ साउनमा पक्राउ परेका उनीविरुद्ध आइतबार नै प्रहरीले अनुसन्धान टुंगाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो। मंगलबार उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ ।
बलात्कार जस्तो गम्भीर मुद्दामा प्रहरीले २४ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउँछ। सर्वसाधरणको हकमा अन्तिम दिनसम्म थुनामा राखेर अनुसन्धान हुने गरेको छ। तर, अहिराजको हकमा यसरी फाष्ट ट्रयाकमा प्रहरीले अनुसन्धान गरेर मुद्दा चलाएपछि प्रश्न उठेको छ ।
४ जेठ २०८१ मा एक युवतीमाथि बानेश्वरको कात्यानीचोकमा आफुमाथि बलात्कार भएको एक युवतीको जाहेरी परेको थियो। जाहेरी परेलगत्तै झा फरार भएकामा ४ साउनमा पक्राउ परेका थिए।
आफ्नो कोठामै आएर झाले बलात्कार गरेको पीडितको जाहेरी छ। जाहेरीमा भनिएको छ,‘तलाई कसले मार्यो पनि थाहा हुँदैन, नेपालमा पैसा र पावरकै कानून छ भन्दै धम्की दिदैं अस्मिता लुटियो ।’ छाडिदिन्स् भनेर आग्रह गर्दा पनि मुख थुनेर पटक–पटक बलात्कार गरेको पीडितको जाहेरीमा उल्लेख छ।
अहिराजलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अघिल्लो कार्यकालमा मधेस प्रदेशको प्रदेश प्रमुख बनाएका थिए।