Skip This
प्रणालीमै पुरानाे चालकको विवरण फेरेर लिखित र ट्रायल नै नदिएको व्यक्तिलाई कारको लाइसेन्स, चारविरुद्ध मुद्दा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १६ शुक्रबार १७:२२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रणालीमै पुरानाे चालकको विवरण फेरेर लिखित र ट्रायल नै नदिएको व्यक्तिलाई कारको लाइसेन्स, चारविरुद्ध मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १७:२२:oo

पहिले नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिइसकेका व्यक्तिको विवरण फेरेर त्यही नम्बरमा अर्को व्यक्तिलाई लाइसेन्स दिएको भेटिएपछि त्यसमा संलग्नविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

नक्कली लाइसेन्स लिने चालक र मिलेमतोमा लाइसेन्स दिने कर्मचारीसहित चारजनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो। यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चारजनाउपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो।

गत वर्ष यातायात व्यवस्था विभागले एक लाख दुई हजार सवारी लाइसेन्स फर्जी रहेको विवरणसहित कारबाहीका लागि अख्तियारमा पत्राचार गरेको थियो। लामो समयपछि नक्कली लाइसेन्स प्रकरणमा अख्तियारले पहिलो मुद्दा दायर गरेको हो।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायणप्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, तुलसीपुर दाङका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरलाई अख्तियारले प्रतिवादी कायम गरेको छ। लाइसेन्स लिने सवारीचालक सभ्यता केसीलाई मतियारका रूपमा अख्तियारले प्रतिवादी बनाएको छ।

यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र रुपन्देहीबाट ७ चैत ०७८ मा एप्लिकेन्ट आइडी ८४०१६८५ भएको ‘बी क्याटागाेरी’ (कार, जिप, भ्यान)को सवारीचालक अनुमतिपत्र जारी भएको थियो। उक्त लाइसेन्सको विवरण परिवर्तन गरी उही एप्लिकेन्ट आइडी र लाइसेन्स नम्बर हुने गरी लिखित र ट्रायल परीक्षामा सामेल नै नभएकी सभ्यता केसीका नाममा लाइसेन्स जारी भएको भेटिएको थियो। यातायात व्यवस्था विभागको डाटा प्रणाली ‘इडिएलभिआरएस’मा विवरण परिवर्तन (एडिट) गरी अद्यावधिक गरेर केसीलाई लाइसेन्स दिलाइएको थियो।

‘बदनियत राखी कलुषित मनसायका साथ अर्कै व्यक्तिको नामको सक्कल सवारीचालक अनुमतिपत्रका विवरणहरू प्रतिवादी सभ्यता केसी भन्ने व्यक्तिको सवारीचालक अनुमतिपत्रमा विवरण उल्लेख गरी गराई सवारीचालक अनुमतिपत्र जारी गरे–गराएको’ अख्तियारको आरोपपत्रमा उल्लेख छ।

छानबिनका क्रममा अख्तियारलाई यातायात व्यवस्था विभागले पत्र पठाएको थियो। जसअनुसार प्रत्येक व्यक्तिको एप्लिकेन्ट आइडी अलग हुन्छ। त्यस्तै डाटाबेसबाट एकचोटि कसैको विवरणको नाममा उत्पत्ति भएको एप्लिकेन्ट आइडी अन्य कुनै व्यक्तिको नाममा पुनः उत्पत्ति हुन नसक्ने विभागको भनाइ छ।

मिलेमतो गरी गैरकानुनी रूपमा अर्कै व्यक्तिको नामको लाइसेन्सको विवरण सच्याएर केसीकाे विवरण प्रविष्ट गरी भ्रष्टाचारजन्य कार्य गरेको देखिएको अख्तियारको दाबी छ। ‘प्रतिवादीहरूले यातायात व्यवस्था विभागमा रहेको इडिभिआरएस प्रणालीमा एप्लिकेन्ट आइडी ८४०१६८५ बाट जारी भएको अर्कै व्यक्तिको नामको क्याटेगोरी ‘बी’को सवारीचालक अनुमतिपत्र ०१–०८–०१०३१२६२ मा आपसी मिलेमतो तथा योजनामा बदनियत राखी गैरकानुनी तरिकाले सच्याई प्रतिवादी सभ्यता केसीको विवरण प्रविष्ट गरी–गराई सवारीचालक अनुमतिपत्रको गलत लिखत तयार गरी जारी गरे गराएको तथ्य स्थापित भएको,’ अख्तियारको आरोपपत्रमा उल्लेख छ। यस्तो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुर भएको अख्तियारको दाबी छ।

विवरण सच्याएर गैरकानुनी तरिकाले लाइसेन्स जारी गरिएकी केसी तिलोत्तमा नगरपालिका– ४ वासी हुन्। बी क्याटागाेरीको सवारी लाइसेन्स प्राप्त गर्न केसीले प्रचलित यातायात व्यवस्था ऐन तथा नियमावलीबमोजिमको प्रक्रियामा भाग नलिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। ‘अर्कै व्यक्तिको एप्लिकेन्ट आइडी बदनियत साथ दुरुपयोग गरी प्रतिवादीहरूसँगको मिलेमतो तथा योजनामा यातायात व्यवस्था विभागको प्रणालीमा रहेको उक्त सरकारी सार्वजनिक अभिलेख गैरकानुनी तरिकाले सच्याउन लगाएको’ अख्तियारको दाबी छ।

लगत अभिलेख तयार गरी–गराई केसीले सवारी लाइसेन्स प्राप्त गरी प्रचलनमा समेत ल्याएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। केसीलाई भ्रष्टाचार निवारण ऐनबमोजिम कसुरजन्य कार्यको गैरकानुनी लाभ प्राप्त गर्ने प्रकृतिको मतियारका रूपमा अख्तियारले प्रतिवादी कायम गरेको छ।