Skip This
सहिद स्मारक यू–१६ लिगको तयारी : एपिएफबाहेक १४ क्लबलाई  एन्फाले बोलायो बैठकमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 31 May, 2025
रमेश सुवेदी काठमाडाैं
Invalid date format o८:३o:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सहिद स्मारक यू–१६ लिगको तयारी : एपिएफबाहेक १४ क्लबलाई  एन्फाले बोलायो बैठकमा

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o८:३o:oo
  • एपिएफ र थ्री स्टारको विवाद एन्फाको अपिल कमिटीमा विचाराधीन छ । त्यसको निर्णयले कुन टोली ‘बी’ डिभिजनमा झर्ने टुंगो लाग्छ, तर दुई वर्षदेखि निर्णय नगरीकन एन्फाले एपिएफलाई ‘बी’ डिभिजनमै झारेर बैठकमै बोलाएन ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले विभागीय टोली एपिएफ क्लबलाई बाहिर राख्दै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आबद्ध १४ क्लबलाई बैठकमा बोलाएको छ । एन्फा महासचिव किरण राईले बुधबार ‘ए’ डिभिजनका १४ क्लबलाई पत्र लेख्दै आसन्न यू–१६ लिगको तयारीबारे छलफलमा बोलाएका हुन् । एन्फाले १५ असारबाट एन्फा यू–१६ युथ लिग आयोजना गर्दै छ ।

एन्फाले लिगको तयारीका लागि शुक्रबार १४ क्लबलाई सातदोबाटोस्थिति एन्फाको मुख्य कार्यालयमा बोलाएको हो । तर, विभागीय टोली एपिएफलाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छैन । एन्फाले अहिलेसम्म एपिएफ र थ्री स्टारबिचको विवाद सुल्झाउन सकेको छैन । ०८० मा भएको ‘ए’ डिभिजन लिगमा एपिएफसँगै खुमलटार ‘बी’ डिभिजनमा झरेका थिए । सोही लिगमा थ्री स्टारविरुद्ध श्रम स्वीकृतिविना खेलाडीलाई मैदानमा उतारेको आरोप लागेको थियो । एन्फाले थ्री स्टारलाई जरिवाना मात्र गर्‍यो ।

लिग वा नकआउट खेलमा क्लबमाथि कारबाही हुँदा उसले प्रतिस्पर्धा गरेको खेलको नतिजा ३–० ले उल्ट्याउने नियम छ । एन्फाले थ्री स्टारलाई दोषी ठहर गर्दा पनि ३ अंक खोस्ने र नतिजा उल्ट्याउने हिम्मत गरेको छैन । एपिएफले फिफाको नियम पालना हुनुपर्ने भनी थ्री स्टारविरुद्ध अपिल कमिटीमा उजुरी राखेको छ । यस विषयमा अहिलेसम्म पनि एन्फाको अपिल कमिटीले निर्णय लिन सकेको छैन ।

यसअघि एन्फाले सहिद स्मारक ‘बी’ डिभिजन लिगको साइकल पूरा नभएका कारण एपिएफलाई ‘ए’ डिभिजनकै हैसियत प्रदान गरेको थियो । तर, अहिले एन्फाले ‘बी’ डिभिजन पूरा भएको जनाउँदै एपिएफ र खुमलटारलाई ‘बी’ डिभिजनमै झारेको स्रोतले बतायो । ‘बी’ डिभिजन लिगको साइकल पूरा भएको छ, यसकारण तत्काललाई एपिएफ र खुमलटार नै घटुवा भएका हुन्,’ स्रोतले भन्यो ।

‘बी’ डिभिजनको साइकल पूरा
एन्फाका प्रवक्ता सुरेश शाहले अपिल कमिटीको निर्णयअनुसार आगामी कार्यक्रम हुने बताए । ‘बी डिभिजन लिग साइकल पूरा भएपछि यथास्थितिमा एपिएफलाई बैठकमा नबोलाएका हौँ, यदि अपिल कमिटीले एपिएफको उजुरी सदर गर्छ भने सोहीअनुसार थ्री स्टार रेलिगेसनमा पर्छ,’ शाहले भने, ‘त्यो निर्णय नभएसम्म एपिएफलाई शीर्ष डिभिजनमा मान्यता छैन ।’ रेलिगेसनमा परेपछि एन्फाले यसअघि खुमलटार र एपिएफलाई यू–१८ लिग खेलाएको थियो । एन्फा भने थ्री स्टारलाई माथिल्लो र एपिएफलाई तल्लो डिभिजनमा घटुवा गर्ने योजनामा छ ।

एपिएफले अपिल कमिटीको निर्णयपछि मात्रै आफ्नो धारणा राख्ने जनाएको छ । ‘तत्काल कुनै पनि निर्णय वा प्रतिक्रिया दिने अवस्था छैन, एन्फाको अपिल कमिटीको निर्णयपछि मात्र कसरी अगाडि बढ्ने निर्णय गर्छौँ,’ एपिएफ स्रोतले बतायो । 

दुई वर्षअघि एन्फाको यस्तो निर्णय 
फिफाको अनुशासन कमिटीको नियमअनुसार कारबाही भएको टोलीको नतिजा उल्ट्याइने र ३ अंक खोसिन्छ । विपक्षी टोलीलाई ३ अंक प्रदान गरी ३–० को नतिजा प्रदान हुने उल्लेख छ । एन्फाले दुई वर्षअघि सम्पन्न ‘ए’ डिभिजन लिगमा एपिएफ र थ्री स्टारबिचको मुद्दामा एन्फाले सामान्य मात्र निर्णय गरेको थियो । एन्फाले फिफाको नियम लागू गरेको अवस्थामा थ्री स्टारलाई ‘बी’ र एपिएफलाई ‘ए’ डिभिजनमा मान्यता दिनुपर्ने थियो । तर, एन्फाले केवल थ्री स्टारलाई जरिवाना मात्र गर्‍यो । एन्फाको अनुशासन कमिटीले नै थ्री स्टारमाथिको सबै आरोप सही भएको निर्णय गरेको थियो । गत साता समाप्त भएको ‘बी’ डिभिजन लिगमा एन्फाको अनुशासन कमिटीले नयाँ बस्तीलाई ३ अंक प्रदान गरेको थियो । यसैगरी, एन्फाले ‘सी’ डिभिजन लिगमा पनि आरसी ३२ विरुद्ध दुईपटक गरी ६ अंक खोस्यो ।

फिफा इथिक्स कमिटी के भन्छ 
फिफाको अनुशासन कमिटीले खेलाडी अयोग्य हुँदा क्लब र खेलाडीलाई कारबाही गरिने उल्लेख छ । कमिटीको धारा १९ मा कारबाहीको प्रावधान उल्लेख गरिएको छ । ‘मैदानमा उतारिएको खेलाडीलाई अयोग्य घोषित गरियो भने खेलाडीलाई कारबाही तथा सम्बन्धित टोलीको खेल जफत गरिनेछ,’ धारा १९ मा भनिएको छ । यसैगरी, धारा २८ मा अयोग्य टोलीको खेल जफत गर्दा विपक्षी ३–० ले विजयी हुने भनिएको छ । धारा ५६.१ ले कुनै खेलाडी अयोग्य हुँदाहुँदै मैदानमा उत्रिएको खण्डमा अपराध ठहरिने बताएको छ । यो धाराले खेलाडी र क्लब दुवैलाई समान एक हजार अमेरिकी डलर जरिवाना गर्ने उल्लेख गरिएको छ ।