
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामा राख्न फेरि म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले थप पाँच दिन थुनामा राख्न म्याद दिएको छ।
मिश्र ४६ दिनदेखि हिरासतमा छन्। उनको बयान एक महिनाअघि नै सकिए पनि विनाकारण थुनामा राखिएको भन्दै सर्वत्र प्रश्न उठिरहेको छ। मिश्रसहित २६ जनालाई थुनामा राख्न मंगलबार अदालतले म्याद दिएको हो। उनीहरूमाथि संगठित अपराधको कसुर लगाएकाले ६० दिनसम्म प्रहरीले थुनामा राखेर अनुसन्धान गर्न पाउने अधिकार छ। तर, त्यो अधिकारको दुरुपयोग गरिएको आरोप लागेको छ।
गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको घटनामा मिश्र थुनामा परेका हुन्। उनलाई सोही दिन बेलुका प्रहरीले पक्राउ गरेको थियो। राजनीतिक प्रकृतिको मुद्दा भए पनि संगठित अपराध लगाएर लामो समय उनलाई थुनिएको भन्दै प्रहरी प्रशासनको आलोचना भइरहेको छ।