१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १९ शुक्रबार
  • Friday, 02 May, 2025
काई हे
२o८२ बैशाख १९ शुक्रबार o९:३४:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अमेरिका–चीन व्यापार युद्धले बढाउँदै छ विश्वव्यापी लागत

Read Time : > 2 मिनेट
काई हे
नयाँ पत्रिका
२o८२ बैशाख १९ शुक्रबार o९:३४:oo

ट्रम्पले सुरु गरेको व्यापार युद्धले द्विपक्षीय सम्बन्ध तनावपूर्ण बनाएको छ भने विश्वव्यापी व्यापार प्रणालीको जगमा कम्पन ल्याएको छ

संयुक्त राज्य अमेरिका र चीन आफ्नो करयुद्धमा अझै पनि अडिग देखिएका छन् । कुनै पनि पक्ष पछि हट्न तयार देखिँदैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अप्रिलको सुरुमा चिनियाँ आयातमा १४५ प्रतिशत भारी कर लगायो । चीनले देश भित्रिने अमेरिकी सामानमा १२५ प्रतिशत कर लगाएर बदला लियो । वित्तमन्त्री स्कट बेसेन्टले यसै साता तनाव कम गर्ने कुरा चीनको हातमा रहेको टिप्पणी गरेका छन् । शक्तिशाली मुलुकबिच करयुद्ध भइरहँदा दुई पक्षले छलफल नगरेको चीनको विदेश मन्त्रालयले जनाएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबिचको आर्थिक विच्छेदको सम्भावना अब अवश्यंम्भावी देखिन्छ । यो एक कठोर वास्तविकता बन्दै गइरहेको छ । धेरै पर्यवेक्षकले व्यापार युद्ध कसले ‘जित्न’ सक्छ भन्नेबारे बहस गर्दा सबैले हार्ने सम्भावना बढी हुन्छ ।

सुविधाजनक लक्ष्य
ट्रम्पको संरक्षणवादी एजेन्डाले थोरैलाई मात्र बचाएको छ । अमेरिकी करको व्यापक वृद्धिले सहयोगी र विरोधी देश दुवैलाई लक्षित गरेको छ । यद्यपि, अमेरिकामा व्यापार घाटा र आर्थिक विस्थापनमा व्यापक निराशाको राजनीतिक प्रतिक्रियालाई आत्मसात् गर्दै चीनले मुख्य लक्ष्यको रूपमा काम गरेको छ । चीनलाई पर्ने आर्थिक लागत निर्विवाद छ । अमेरिकी बजारमा भरपर्दो पहुँच गुम्दा, विश्वव्यापी व्यापार प्रणालीमा बढ्दो अनिश्चिततासँगै चीनको निर्यात–सञ्चालित क्षेत्रमा धक्का लागेको छ । चीनको तुलनात्मक लाभ यसको विशाल उत्पादन आधार र एकीकृत आपूर्ति शृंखलामा निहित छ । यो विशेषगरी विद्युतीय सवारी साधन, ब्याट्री र सौर्य ऊर्जाजस्ता उच्च प्रविधि र हरित उद्योगमा सत्य हो । यी क्षेत्र खुला बजार र अनुमानित मागमा गहिरो रूपमा निर्भर छन् । विशेषगरी, चिनियाँ विद्युतीय सवारी साधनमाथि युरोप, क्यानडा र अमेरिकामा नयाँ व्यापार प्रतिबन्धले यसअघि नै मागमा उल्लेखनीय गिरावट ल्याएको थियो ।

वर्षको पहिलो त्रैमासिकमा चीनको कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धि अपेक्षाभन्दा बढी अर्थात् ५.४ प्रतिशतमा थियो । तर विश्लेषकहरूले अब भन्सार शुल्कको बृहत् प्रभाव पर्ने अनुमान गरेका छन् । यो साता चिनिया कारखाना गतिविधिबारे मूल्यांकन गर्ने एक प्रमुख मापनले उत्पादनमा संकुचन देखाएको छ । औद्योगिक क्षमता (जब देशको उत्पादन मागभन्दा बढी हुन्छ), वृद्ध जनसंख्या, बढ्दो युवा बेरोजगारी र निरन्तर क्षेत्रीय असमानतासहित संरचनात्मक अवरोधले पनि चीनको आर्थिक वृद्धिलाई असर गरेको छ । एक समय देशको आर्थिक वृद्धिको स्तम्भ मानिएको घरजग्गा व्यवसाय वित्तीय तनावको मुख्य स्रोत बनेको छ । स्थानीय सरकारी ऋण बढ्दै गइरहेको छ भने पेन्सन संकट आउँदै छ । कर युद्ध अन्त्य गर्न अमेरिकासँगको वार्ता उपयुक्त हुन सक्छ । यद्यपि, बेइजिङको तर्फबाट एकपक्षीय सहुलियत न व्यावहारिक छ, न त राजनीतिक रूपमा नै स्वीकार्य ।

क्षेत्रीय समन्वय
ट्रम्पको शुल्क युद्धले द्विपक्षीय सम्बन्ध तनावपूर्ण बनाएको छ । यसले विश्वव्यापी व्यापार प्रणालीको जगमा कम्पनसमेत ल्याएको छ । विश्व व्यापार संगठनलाई किनारा लगाएर र द्विपक्षीय व्यापारमा लेनदेनको दृष्टिकोण अपनाएर अमेरिकाले बहुपक्षीय मान्यतालाई कमजोर बनाएको छ, विश्वव्यापी रूपमा संरक्षणवादी प्रवृत्तिलाई प्रोत्साहित गरेको छ । यस अस्थिरताको एउटा अनपेक्षित परिणाम क्षेत्रीय व्यवस्थाको पुनरुत्थान हो । एसियामा चीनले समर्थन गरेको र दक्षिणपूर्वी एसियामा आसियान ब्लकमा केन्द्रित क्षेत्रीय व्यापक आर्थिक साझेदारी (आरसिइपी) आर्थिक सहयोगको लागि एक विश्वसनीय विकल्पको रूपमा देखा परेको छ ।

यसैबिच, ट्रान्स–प्यासिफिक पार्टनरसिपका लागि व्यापक र प्रगतिशील सम्झौता (सिपिटिपिपी) विस्तार हुँदै गइरहेको छ, जसमा गत वर्षको अन्त्यतिर बेलायत पनि सामेल भएको छ । ल्याटिन अमेरिकाभरि पनि क्षेत्रीय समूहले पुनरुत्थानशील संरक्षणवादको झट्काको विरुद्धमा आफूलाई संरक्षण गर्ने नयाँ बाटाहरू खोजिरहेको छ । तर, क्षेत्रीयता कुनै रामवाण होइन, यसले विश्वव्यापी व्यापारको स्केल वा दक्षताको नक्कल गर्न सक्दैन, न त यसले निर्यातकर्ता निर्भर हुने भविष्यवाणीलाई पुनस्र्थापित गर्न सक्छ ।

बढ्दो खतरा
सबैभन्दा ठुलो खतरा भनेको विश्वमा यस्तो अवस्था आउँछ, जहाँ विश्वव्यापी स्थिर व्यापार प्रणालीलाई कायम राख्न कुनै पनि शक्ति अगाडि बढ्दैन । यस सन्दर्भमा अर्थशास्त्री चाल्र्स किन्डलबर्गरको महामन्दीको विवरण शिक्षाप्रद रहन्छ, जुन द्वन्द्वको उपस्थिति नहुदाँ नेतृत्वको अभावमा आएको थियो । त्यसले विश्वव्यापी अर्थतन्त्रको प्रणालीगत पतन ल्यायो । 

विश्वव्यापी समन्वयविना ट्रम्पको शुल्क युद्धले सुरु गरेको आर्थिक विखण्डनले मन्दीभन्दा धेरै खतरनाक अवस्था निम्त्याउन सक्छ । राजनीतिक परिदृश्य पहिले नै तनावपूर्ण छ । उदाहरणका लागि, चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि ताइबानसँग गर्ने भएको एकीकरणको वाचामा आफ्नो वैधतालाई जोड्दै आएको छ । तैपनि, बल प्रयोगको लागत अत्यधिक उच्च छ । ताइबानका राष्ट्रपति लाई चिंग तेले हालै चीनलाई ‘विदेशी शत्रु शक्ति’को रूपमा उल्लेख गरेका कारण तनाव बढेको छ ।

–द कन्भर्सेसनबाट