
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बुटवल उपमहानगरपालिकाले बुटवलमा ३० जना महिलालाई सम्मान गरेको छ। उपमहानगरपालिकाले सालको पात बेच्ने, मकै पोल्ने तथा ई–रिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गरेको छ। बुटवल उपमहानगरपालिकाले सालको पात बेच्ने १० जना, मकै पोल्ने १० जना र ई–रिक्सा चलाउने १० जना गरी ३० जना महिलालाई जनही १० हजारका दरले सम्मान गरेको हो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले चर्को घाम, चिसो र दिनरात नभनी जोखिमसहितको श्रम गर्ने श्रमिकको सम्मान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि सम्मान गर्न थालेको बताए । श्रमको सम्मान गर्ने परिपाटीको विकास नहुँदा मुलुकमा बेथिति बढेको भन्दै प्रमुख पाण्डेयले श्रमिकहरूलाई कुराले नभएर वास्तविक रूपमै श्रमको सम्मान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले पात बेच्ने, मकै पोल्ने र ई–रिक्सा चलाउने महिलालाई नगदसहित सम्मान गर्न सुरु गरेको उल्लेख गरे ।
बुटवल उपमहानगरपालिका श्रमिकको पक्षमा काम गरेर खानेहरूको पक्षमा र कृषकको पक्षमा रहेको भन्दै उनले उपमहानगरपालिकाले सीप सिकेर स्वरोजगार बन्न चाहने नगरवासीहरूलाई विभिन्न किसिमका सीपमूलक तालिमसमेत प्रदान गर्दै आइरहेको जानकारी गराए । बुटवल उपमहानगरपालिकाले सुनचाँदीका गहना बनाउने तालिम, पन्चेबाजा बजाउने तालिम, जुत्ता–चप्पल बनाउने तालिम, शृंगारसम्बन्धी तालिमलगायतका तालिम दिनुका साथै व्यावसायिक कृषि तथा पशुपालनबाट आयआर्जन वृद्धि गर्ने उद्देश्यले मकै पकेट क्षेत्र, प्याज पकेट क्षेत्र तथा भैँसीको पाडी वितरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको प्रमुख पाण्डेयले बताए ।
उनले श्रम गरेर पनि बालबालिकालाई पढाउन नसकेका श्रमिकका बालबालिकाको पठनपाठनको जिम्मा बुटवल उपमहानगरपालिकाले लिने प्रतिबद्धता पनि व्यक्त गरे । उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार श्रमिक वर्गको साथमा छ भन्ने अनुभूति गराउन बुटवल उपमहानगरपालिकाले गत वर्षदेखि मकै पोल्ने, पात बेच्ने र ई–रिक्सा चलाउने महिलालाई नगदसहित सम्मान गर्न सुरु गरेको भन्दै आगामी दिनमा गिटी कुट्ने श्रमिकहरूलाई पनि समेट्ने प्रयास गर्ने प्रतिबद्धता जनाइन् ।
यस्तो कार्य अन्य पालिकाहरूले पनि गर्न जरुरी रहेको भन्दै उनले श्रमको सम्मान गर्ने परिपाटीको विकास भए मात्रै मुलुक समृद्ध बन्ने धारणा राखिन् । जनताको नजिकको सरकार भनेकै स्थानीय सरकार भएको बताउँदै उपप्रमुख अर्यालले स्थानीय सरकारले सानातिना कुरामा पनि ध्यान दिनुपर्नेमा जोड दिइन् । कार्यक्रममा ई–रिक्सा व्यवसायी सीताराम महतोले बुटवल उपमहानगरपालिकाले सडकमा मकै पोलेर जीविकोपार्जन गर्ने, जंगलबाट पात टिपेर ल्याई बजारमा बिक्री–वितरण गर्ने तथा ई–रिक्सा चलाउने महिला श्रमिकहरूलाई नगदसहित सम्मान गर्नु खुसीको कुरा भएको भन्दै यस्ताखाले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । असंगठित क्षेत्रमा कार्यरत महिला श्रमिकहरूलाई सम्मान गरेकोमा सम्मानित महिलाहरूले खुसी व्यक्त गरेका थिए ।