
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले हरेक वर्ष प्रदान गर्दै आएको पोखरा स्पोर्टस् अवार्डको नवौँ संस्करणमा चार विधाको मनोनयन सार्वजनिक भएको छ । बुधबार आयोजकले पत्रकार सम्मेलनमार्फत उत्कृष्ट खेलाडी पुरुष र महिला, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
चारै विधाको मनोनयनमा तीनजना छन् । यही वैशाख २६ गते पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डको उत्कृष्ट खेलाडी पुरुष विधामा भलिबलका विश्वास अधिकारी (नवलपुर), टेनिसका प्रदीप खड्का (कास्की) र फुटबलका सुमित श्रेष्ठ (कास्की) मनोनयनमा परेका छन् ।
त्यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा भलिबलकी अरुणा शाही (कास्की), फेन्सिङकी कृपा गुरुङ (स्याङ्जा) र आइटिएफ तेक्वान्दो/मुआथाईकी सुस्मिता थापा मगर (बाग्लुङ) छन् । यता वर्ष उदीयमान खेलाडीतर्फ एथ्लेटिक्सका बादल कार्की (बाग्लुङ), भलिबलका जितबहादुर सार्की (स्याङ्जा) र क्रिकेटकी रचना चौधरी (कास्की) मनोनयनमा परेका मञ्चले जनाएको छ । यसैगरी टेनिसका निरज थापा (कास्की), भलिबलका रमेश केसी (स्याङ्जा) र फुटबलका राजेन्द्र तामाङ (कास्की) वर्ष उत्कृष्ट प्रशिक्षक बन्ने दौडमा छन् ।
अवार्ड कार्यक्रममा उत्कृष्ट खेलाडी पुरुष/महिला, उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरी सात विधा समावेश गरिएका छन् ।