१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 29 April, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o६:o९:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

मोबाइल वालेटमार्फत १७ अर्बको  हुन्डी, ११ जिल्लाबाट २१ जना पक्राउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o६:o९:oo

डिजिटल वालेटको आडमा अर्बौँ रुपैयाँको हुन्डी कारोबार गर्ने गिरोहका सदस्यहरू पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ११ जिल्लामा छापा मारेर रेमिट्यान्स, ट्राभल तथा अन्य कम्पनीका २१ सञ्चालक पक्राउ गरेको छ । 

सिआइबीका एसपी सुधीरराज शाहीका अनुसार पक्राउ परेकाहरूले १७ अर्ब ८६ करोड ७० लाखबराबरको अवैध कारोबार गरेका थिए । सिआइबी स्रोतका अनुसार लामो समयदेखि सक्रिय गिरोहले करोडौँ रकम दैनिक रूपमा हुन्डीमार्फत कारोबार गरिरहेको थियो । 

‘उनीहरूले सजिलो पे र पे–वेल नेपाल नामक डिजिटल वालेट कम्पनीमार्फत आन्तरिक विप्रेषणको नाममा हुन्डीको अवैध कारोबार गरेको पुष्टि हुन आएको छ,’ उनले भने, ‘राष्ट्र बैंकले आन्तरिक रेमिटमा प्रतिबन्ध लगाएको छ । तर, डिजिटल वालेटको बैंकिङ देखाएर उनीहरूले हुन्डीको रकम सम्बन्धित व्यक्तिको खातामै जम्मा गर्दै आएका थिए ।’

सिआइबीले सजिलो पे र पे–वेल नेपाल कम्पनीका सञ्चालकलाई गत वर्ष नै पक्राउ गरी मुद्दा चलाएको थियो । ती कम्पनीलाई हाल राष्ट्र बैंकले कारोबारमा प्रतिबन्ध लगाएको छ । गत वर्षकै सो मुद्दाको थप अनुसन्धान गर्ने क्रममा यसमा संलग्न गिरोहका सदस्यहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । 

पक्राउ पर्नेमध्ये मोरङका दीपेन्द्रप्रसाद साह र वीरेन्द्र्रप्रसाद साहले मात्र दुई अर्ब ८२ करोड १९ लाखबराबरको अवैध कारोबार गरेका छन् । उनीहरूले डिएस ट्रेडर्स एन्ड रेमिट्यान्स कम्पनीको आडमा सो कारोबार गरेका हुन् । 

त्यस्तै, महोत्तरीका श्रवणकुमार साहले दीपज्योति ट्रेडर्स कम्पनीमार्फत एक अर्ब ५१ करोड २० लाख, सप्तरीका तारालाल यादवले रिया ट्रेडर्समार्फत एक अर्ब ३९ करोड ५५ लाख, सर्लाहीका हरेराम महतोले आनन्द ट्रेडर्समार्फत एक अर्ब दुई करोड ६३ लाखको अवैध कारोबार गरेका छन् । 

धनुषाका मात्र पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा न्यु सन्देश इन्टरप्राइजेजका निरोजकुमार महतो, अलिता मनी ट्रान्सफरका अलितादेवी महतो र प्रकाश सिंह, श्री अञ्जल इन्टरप्राइजेजका अरुणकुमार साह र जय मा मनी ट्रान्सफरका संजीवकुमार महतो छन् । 

पर्साका प्रदीपकुमार साहले आर एन्ड ए सबरेमिटमार्फत एक अर्ब एक करोडको कारोबार गरेको अनुसन्धानमा खुलेको छ । 

नवलपरासीका राजकुमार लोनिया, भीमकुमारी गुरुङ र गणपति पाण्डे पक्राउ परेका छन् । सप्तरीका रामबिला साह, ममताकुमारी साह, सुशीलाकुमारी साहु र शम्भु मेहता तथा पर्साका बिकर्णजंग राणालाई पक्राउ गरिएको सिआइबीका एसपी शाहीले बताए । 

यो गिरोहको सम्बन्धमा नेपालमा हुने सुन तस्करीसम्मसमेत रहेको प्रहरीले जनाएको छ । नेपालमा हुने सुन तस्करीको कारोबार यिनै कम्पनीले हुन्डीमार्फत मिलाउने गर्दथे । ती दुई कम्पनीमार्फत करिब एक खर्बबराबरको अवैध कारोबार भएको भेटिएको थियो । पे–वेलबाट करिब ७० अर्ब र सजिलो पेले करिब २४ अर्बबराबरको अवैध कारोबार गरेको सिआइबी अनुसन्धानमा खुलेको थियो । 

सिआइबीले पे–वेल नेपालका अध्यक्ष भीमप्रसाद तिमिल्सिना, प्रमुख कार्यकारी प्रज्ज्वल आचार्य तथा सजिलो पेका सञ्चालक सुनील जाकिबन्जा तथा कार्यकारी प्रमुख कश्यप मानन्धरलाई पक्राउ गरी मुद्दा चलाएको थियो । जिल्ला अदालतले उनीहरूलाई थुनामा पठाएकोमा उच्चबाट धरौटीमा छुटेका छन् ।