
एमाले सांसद तारा लामा तामाङले कञ्चनपुरमा नदीकटानको समस्या अन्त्य गर्न तटबन्ध निर्माणको माग गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कञ्चनपुर–१ बाट निर्वाचित सांसद लामाले कटानको जोखिम रहेको अतिसंवेदनशील स्थानमा तटबन्ध गर्न र दीर्घकालीन समस्या समाधानका लागि बृहत् गुरुयोजना बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘चुरेदेखि भारतसम्म फैलिएको दोदा नदी र चौधर नदीमा बहुउद्देश्यीय तटबन्ध निर्माण गरी नदीलाई मानव र प्राणीमैत्री बनाउन सभामुखमार्फत नेपाल सरकारसँग जोडदार माग राख्छु,’ उनले भने।
सांसद लामाले वर्षायाम सुरु हुन लागिसकेकाले सजग हुनुपर्ने बताए।
‘कञ्चनपुरको दोदा, महाकाली र झर्ना खोलाको बाढीले बर्सेनि धनजनको क्षति भइरहेको छ। गत वर्षको बाढीले कटान गरेको दोदा नदी र झर्ना खोलाको अझै तटबन्ध निर्माण कार्य हुन नसकेकाले यस वर्ष झन् ठुलो क्षति हुन सक्ने त्रासमा जनता छन्,’ उनले भने, ‘वर्षायाममा बाढीपहिरोका कारण हुन सक्ने क्षति न्यूनीकरण गर्न राज्यका सरोकारवाला सबै पक्ष र स्रोतसाधनलाई तयारी अवस्थामा राख्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछु।’