१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १३ शनिबार
  • Saturday, 26 April, 2025
२o८२ बैशाख १३ शनिबार ११:१९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दलित बस्तीमै पसेर निर्घात कुटपिट, घाइते तीनजनाको उपचार हुँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख १३ शनिबार ११:१९:oo

सिरहाको लहानसँगै जोडिएको सप्तरीको सुरुंगा नगरपालिका ५ बनिगामा टोलको दलित बस्तीमा पुरानो रिसइवका कारण  २५–३० जनाको समूहले कुटपिट गरेको छ । स्थानीय दुर्गानन्द चौधरी, चन्द्र चौधरी, नित्यानन्द चौधरी, शर्मिला चौधरी लगायतको समूहले पुरानो रिसइवी, डिहबार थानको पूजा तथा भोजभतेरको विषयमा कुटपिट गरेको दलितहरुले सुनाए । दलितहरुको बसोवास रहेको टोलदेखि पूर्वपट्टिको बस्तीबाट आएको समूहले बिहीबार राती करिब ८ बजेतिर रामचन्द्र रामको घरमा गालीगलौज, धाकधम्की दिंदै कुटपिट गरेको हो । 

एकोहोरो गालीगलौज गर्न थालेपछि गर्दा सम्झाउन गएका उनका भाइ ५३ वर्षीय हरि रामलाई हात, लात्ताले कुटपिट गर्न थालेपछि छुट्याउन गएकी उनकी श्रीमती सुकमैन देवी राम र बिल्टौनदेवी रामलाई समेत कुटपिट गरेको रामचन्द्रले सुनाए । ‘तत्काल प्रहरीलाई बोलाएपछि कुटपिट गर्नेहरु हिँडे’ उनले भने। कुटपिटमा घाइते भएका हरि, उनकी श्रीमती सुकमैनदेवी, सुगिलाल रामको लहानस्थित माँ धमिनी हस्पिटलमा उपचार भइरहेको छ ।

अस्पतालमा स्वास्थ्य सहायक रामपुकार सिंहका अनुसार कुटपिटमा हरिको छातीमा भित्री चोट लागेको छ भने उनकी श्रीमती सुकमैनको टाउकोसहित पिठ्युँमा चोट लागेको बताए । ‘घटनालगत्तै ल्याइएका हरि र भोलिपल्ट बिहान ल्याइएकी श्रीमती सुकमैनको उपचारपछि शनिबार डिस्चार्ज गर्दैछौं’ उनले भने ।

घाइते उपचारमा रहेकाले पीडितको तर्फबाट शुक्रबार इलाका प्रहरी कार्यालय कडरबोनामा दाजु रामचन्द्रले घाउजाँच केस र कुटपिट गर्नेहरुलाई पक्राउ गरी कानुन बमोजिम कारबाहीको माग गर्दै उजुरी दिएका छन् । कडरबोना प्रहरीले उजुरी दर्ता गरी घाइतेहरुको घाउजाँचको लागि पठाइएको जनाएको छ । प्रहरीका अनुसार कुटपिट गर्नेहरुको खोजी गर्न प्रहरी परिचालन गरिएको छ । 

सुरुंगा ५ का वडाध्यक्ष दिलाराम चौधरीले करिब एक हप्ताअघिको भोजको विषयमा गालीगलौज गरेपछि आवेगमा आएका केही युवाहरुले सम्झाउन गएको दावी गरे । ‘भोज खुवाउने परिवारले दलित बस्तीको एक घरलाई मात्र खान बोलाएको भन्ने सुनेको छु’ उनले भने ‘भोजमा नबोलाइएहरुले खान गएका व्यक्ति र खुवाउने व्यक्तिसहित समुदायलाई जोडेर गालीगलौज गरेपछि सम्झाउन जाँदा भनाभन भएको हो ।’

स्थानीय दलितहरुका अनुसार गाउँको अगुवाको रुपमा रहेका रामचन्द्रसहित छ घर दलितहरुलाई डिहीबार थानको पूजा र गाउँको भोजमा बाहेक गरिएपछि अप्ठ्यारो महसूस गरिरहेका बेला उनकी बुहारीले भोज खाएर फर्किएपछि ‘हामीलाई मान्छे नै नगन्ने, तिमी चाहिं किन भोज खान गएको’ भन्दै सम्झाएका थिए । त्यही निहुँमा कुटपिट गरिएको उनले बताए ।