
कांग्रेसका सात पूर्वपदाधिकारीलाई निवासमा दिए चियापान, शेखर र सुजातालाई आमन्त्रण गरिएन
कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीका पूर्वपदाधिकारी र अन्य निकटस्थ नेतालाई बिहीबार निवासमा चियापान आयोजना गरेका छन् । चियापानमा पूर्वउपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता डा. प्रकाशशरण महतलगायत सहभागी थिए ।
संस्थापन पक्ष मानिएका सात पूर्वपदाधिकारीले लोकतन्त्र दिवसका अवसरमा आयोजित चियापानमार्फत पार्टीको आगामी १५औँ महाधिवेशनमा साझा रूपमा अघि बढ्ने सन्देश दिएका छन् । उनीहरू पार्टी सभापति शेरबहादुर देउवानिकट हुन् । चियापानमा ऊर्जामन्त्री दीपक खड्का, पूर्वमन्त्री दीपक गिरीलगायत नेता र कार्यकर्ता सहभागी थिए ।
‘पूर्वउपसभापति निधिले विगतमा आयोजना गर्नुभएको चियापान र अनौपचारिक बैठककै निरन्तरता हो यो । पार्टीमा नयाँ आशाको सञ्चार होस् भन्ने सन्देश हो,’ चियापानमा सहभागी एक नेताले नयाँ पत्रिकासँग भने, ‘सातजना पूर्वपदाधिकारी र इच्छुक अन्य नेता–कार्यकर्तालाई बोलाएका हौँ ।’ सातजना पूर्वपदाधिकारीबिच आगामी महाधिवेशनमा संस्थापन पक्षको साझा रोडम्याप तय गरेर अघि जाने सहमति भएको छ । उनीहरूले यसका लागि सभापति शेरबहादुर देउवालाई सुझाव पनि दिँदै आएका छन् ।
चियापानमा पार्टीका वर्तमान पदाधिकारीलाई निमन्त्रणा थिएन । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत कोही पनि चियापानमा आमन्त्रित थिएनन् । कोइराला परिवारका शेखर कोइराला र सुजाता कोइरालालाई पनि आमन्त्रण गरिएको थिएन ।
‘मुख्य रूपमा सातजना पूर्वपदाधिकारी बस्न खोज्नुभएको रहेछ, इच्छुक साथीलाई पनि उहाँहरूकै तर्फबाट बोलाइएको रहेछ,’ कांग्रेसका अर्का नेताले भने । चियापानमा सहभागी पूर्वउपसभापति निधिले गणतन्त्र, संघीयता, लोकतन्त्र, समावेशिताका पक्षमा पार्टीलाई एक ठाउँमा उभ्याउन सातजना पूर्वपदाधिकारीको टिम एकबद्ध रहेको बताए । ‘यी मुद्दामा कांग्रेसलाई अडिग राख्न प्रतिबद्ध छौँ,’ उनले भने । निधि, सिंह र कोइरालाबिच यसअघि पनि भेटवार्ता हुँदै आएको थियो ।