१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 24 April, 2025
अजितविक्रम शाह
Invalid date format १९:१o:oo
Read Time : > 6 मिनेट
१८औँ वार्षिकोत्सव विशेषांक प्रिन्ट संस्करण

आइटीमा आमूल परिवर्तन, प्रोत्साहनको खाँचो

Read Time : > 6 मिनेट
अजितविक्रम शाह
नयाँ पत्रिका
Invalid date format १९:१o:oo

युवा उद्यमीको सक्रियता, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमताले नेपाली सफ्टवेयर कम्पनीको विकास तीव्र हुँदै छ

दुई दशकमा नेपालमा सूचना प्रविधि (आइटी) क्षेत्र उल्लेखनीय रूपले परिमार्जन भइसकेको छ । सरकार तथा निजी क्षेत्रको सहकार्य, प्रविधिमा चासो राख्ने युवाको सक्रियता र डिजिटल पूर्वाधारको विस्तारसँगै आइटी क्षेत्रमा आमूल परिवर्तन देखिएको छ । देशभर प्राविधिक शिक्षालय, विश्वविद्यालय र निजी प्रशिक्षण संस्थाले कम्प्युटर विज्ञान, सूचना प्रणाली, साइबर सुरक्षा, डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ र फुल स्ट्याक डेभलपमेन्टजस्ता विषयमा शिक्षादेखि व्यावसायिक तालिम प्रदान गर्न थालेका छन् । नेपाल इन्जिनियरिङ कलेज, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयअन्तर्गतका कलेजले आइटी स्नातक तथा स्नातकोत्तर तहसम्म पढाउने गरेका छन्, जसले दक्ष जनशक्ति उत्पादनमा ठुलो योगदान पु¥याएको छ ।

नेपालमा १५० भन्दा बढी सफ्टवेयर विकास कम्पनी दर्ता भई सञ्चालनमा छन्, जसमा हजारौँ दक्ष युवा रोजगारीमा छन् । यी कम्पनीले विदेशी बजारमा सफ्टवेयर, मोबाइल एप, वेबसाइट, इ–कमर्स सोलुसन, क्लाउड सेवा र डिजिटल मार्केटिङ सेवा निर्यात गरिरहेका छन् । विशेष गरी काठमाडौं उपत्यका, पोखरा, धरान, चितवन र विराटनगरजस्ता सहरमा आइटी स्टार्टअपको संख्या तीव्र रूपमा बढेको छ । यी स्टार्टअपले फिनटेक, हेल्थटेक, एजुटेक, गेमिङ, एआई, साइबर सेक्युरिटी र ब्लकचेन प्रविधिमा नवीनतम् समाधान ल्याउँदै छन् । त्यस्तै, टेकपार्क, सहकार्यात्मक कार्यस्थान र इनक्युबेसन सेन्टरको विकासले युवा उद्यमीलाई व्यवसाय सुरुवात गर्न सहज बनाइरहेको छ । यसरी, नेपालमा आइटी क्षेत्र विस्तार र नवप्रवर्तनका हिसाबले उत्साहजनक दिशामा अघि बढिरहेको छ ।

तर, इतिहास हेर्ने हो भने नेपालमा सन् १९९० को दशकमा इन्टरनेट सेवा नेपाल टेलिकममार्फत भित्रिएपछि मात्र आइटीको यात्राले औपचारिक रूपमा गति लिन थालेको पाइन्छ । सेवा राजधानी काठमाडौं र केही सहरमा मात्र सीमित थियो । सरकारी निकायमा कम्प्युटरको प्रयोग न्यून रहँदा प्रशासनिक कामकाज अझै पनि म्यानुअल प्रणालीमै निर्भर थियो । सरकारी नीति, कानुनी संरचना र बजेटीय प्राथमिकता आइटीअनुकूल थिएनन् । सूचना प्रविधिलाई आधारभूत सेवाका रूपमा स्वीकार गर्न नसक्दा यसको प्रवद्र्धनप्रति राज्यको प्राथमिकता न्यून थियो । सन् १९९० को दशकमा कम्प्युटरलाई एक विलासी सामग्रीको रूपमा हेरिन्थ्यो, न कि विकासको उपकरणको रूपमा ।

त्यतिखेर निजी क्षेत्रको उपस्थितिसमेत अत्यन्तै कम थियो । केही उद्यमी वेब डिजाइन र साधारण सफ्टवेयर निर्माणमा संलग्न भए पनि बजार पहुँच अत्यन्त सानो र सहरी सीमामा मात्र सीमित थियो । अन्तर्राष्ट्रिय बजारसँगको सम्पर्क नभएका, लगानीको अभाव र प्राविधिक प्रशिक्षणको कमीले गर्दा ती प्रयास दीर्घकालीन हुन सकेनन् । शिक्षा प्रणालीले पनि समयमै सूचना प्रविधिलाई प्राथमिकता दिन नसकेकाले दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ठुलो चुनौती थियो । यद्यपि, केही विश्वविद्यालयले कम्प्युटर विज्ञान पढाउन सुरु गरे, तर व्यावहारिक तालिम र उद्योग–शिक्षा सहकार्यको अभावले गर्दा तिनको प्रभाव सीमित रह्यो । फलस्वरूप, प्रारम्भिक चरणमा नेपालमा आइटी क्षेत्रले संस्थागत र व्यावसायिक स्वरूप ग्रहण गर्न निकै संघर्ष गर्नुपरेको तितो यथार्थ छ ।

म्यानुअलबाट डिजिटलतर्फ अगाडि बढ्दै सफ्टवेयर विकासमा लम्किएको सुरुवाती चरण ०६० को दशक हो । प्रारम्भिक चरणमा सफ्टवेयर विकास अत्यन्तै सीमित मात्रामा हुने गर्दथ्यो । त्यसअघि त अधिकांश सरकारी तथा निजी संस्थाले विदेशबाट नै सफ्टवेयर खरिद गर्ने गरेका थिए, किनभने स्वदेशमै दक्ष जनशक्ति, प्रविधिको पहुँच तथा व्यावसायिक विकासका लागि आवश्यक वातावरणको अभाव थियो । बैंकिङ, शिक्षण संस्था, अस्पताल र सरकारी प्रशासनिक निकायले प्रयोग गर्ने इन्टरप्राइज सफ्टवेयर, डाटाबेस म्यानेजमेन्ट सिस्टम र इआरपी सोलुसनजस्तै एसएपी, ओराकल, माइक्रोसफ्ट डाइनामिक्सजस्ता प्रणाली प्रायः आयात गरिन्थे । सन् २०१७ मा मात्र नेपालले एक हजार ७८ वटा सफ्टवेयरसम्बन्धी आयात खेप प्राप्त गरेको सरकारी तथ्यांक छ, यसले देखाउँछ कि नेपाल सूचना प्रविधिको क्षेत्रमा तीव्र रूपमा आयात–निर्भर राष्ट्र थियो ।

सरकारले पछिल्ला वर्षमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै थुप्रै ऐतिहासिक निर्णय लिएको छ, जसले आइटी क्षेत्रको दीर्घकालीन रूपान्तरणको ढोका खोलिदिएको छ। ‘आइटी दशक’ घोषणा गर्नु त्यसैको प्रतिफल हो, जसले आगामी १० वर्षभित्र तीन खर्बको आइटी सेवा निर्यात गर्ने तथा पाँच लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने स्पष्ट र महत्वाकांक्षी लक्ष्य लिएको छ।

यद्यपि, पछिल्लो दशकमा नेपाली युवा उद्यमीको सक्रियता, प्राविधिक दक्षता र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने क्षमताले नेपाली सफ्टवेयर कम्पनीको विकासलाई तीव्र बनाएको छ । आज नेपालका थुप्रै कम्पनीले बैंक, वित्तीय संस्था, अस्पताल, विद्यालय, होटेल, ट्राभल एजेन्सी र सरकारी निकायका लागि आवश्यक सफ्टवेयर तथा मोबाइल एप्लिकेसन स्वदेशमै निर्माण गर्न थालेका छन् । यो प्रवृत्तिले आयातमा केही मात्रामा गिरावट ल्याएको छ । साथै, नेपाली सफ्टवेयर कम्पनीले भारत, अमेरिका, युरोप, अस्ट्रेलियालगायतका मुलुकमा सफ्टवेयर सेवा तथा उत्पादन निर्यात गर्न थालेका छन्, जसले गर्दा आयातको सन्तुलन केही हदसम्म कायम गर्न सफल भएको देखिन्छ । अन्तर्राष्ट्रिय विकास अध्ययन संस्थानद्वारा प्रकाशित एक अध्ययनअनुसार सन् २०२२ मा नेपालले झन्डै ५१५ मिलियन अमेरिकी डलरबराबरको सफ्टवेयर तथा आइटी सेवा निर्यात गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ६४.२ प्रतिशतले वृद्धि भएको हो । यो आँकडाले देखाउँछ कि नेपालको आइटी उद्योगले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति तीव्र रूपमा विस्तार गरिरहेको छ । आइटी सेवाले नेपालको सकल घरेलु उत्पादन (जिडिपी) मा १.४ प्रतिशत योगदान पु¥याइरहेको छ भने विदेशी मुद्राको सञ्चितिमा यसको हिस्सेदारी ५.५ प्रतिशतसम्म पुगेको छ । यो उपलब्धि, अन्य परम्परागत निर्यात क्षेत्रमा आएको मन्दीका बिचमा झनै महत्वपूर्ण मानिन्छ ।

आर्थिक वर्ष ०८०/८१ को पहिलो ६ महिनाभित्र नेपालले आइटी वस्तु तथा सेवा मात्र २८ अर्ब ५० करोडभन्दा बढीको निर्यात गर्न सफल भएको छ, जुन ऐतिहासिक उपलब्धि मानिन्छ । नेपालको टेक पारिस्थितिकी तन्त्रमा १०६ भन्दा बढी आइटी सेवा कम्पनी क्रियाशील छन्, जसले नियमित रूपमा विदेशी ग्राहकसँग व्यापार गरिरहेका छन् ।

यस्तै, नेपालमा ५० हजारभन्दा बढी स्वतन्त्र फ्रिल्यान्सरले विभिन्न प्लाटफर्ममार्फत विदेशमा सेवा दिइरहेका छन् भने १४ हजार ७२८ भन्दा बढी स्वतन्त्र सफ्टवेयर विकासकर्ता आइटी सेवा निर्यातमा सक्रिय छन् । यिनै युवा पेसाकर्मी र संस्थाको संयुक्त प्रयासले नेपाल आइटी सेवा निर्यातकर्ताको रूपमा उदाउँदै गएको छ । यदि यही गतिमा सरकारी नीति, पूर्वाधार र लगानीको प्रवाह सुनिश्चित गरियो भने आइटी निर्यात निकट भविष्यमा नेपालको प्रमुख विदेशी मुद्रा आर्जनको स्रोत बन्न सक्छ । यद्यपि, इन्टरप्राइज ग्रेड सफ्टवेयर तथा क्लाउड समाधानमा अझै नेपाल ठुलो मात्रामा विदेशी प्रविधिमा निर्भर रहेको यथार्थलाई अस्वीकार गर्न सकिँदैन ।

आइटी क्षेत्रमा हाल नेपालमा लगानीको वातावरण उल्लेखनीय रूपमा सुधारिनुका पछाडि केही महत्वपूर्ण कारक छन् । सरकारले प्रविधिअनुकूल पूर्वाधार विस्तारमा ध्यान दिन थालेको छ । यी पहलले देशभित्रै आइटी कम्पनी सञ्चालन गर्न चाहने युवामाझ आत्मविश्वास बढाएको छ । निजी क्षेत्रको सक्रियता र सरकारी संस्थासँगको सहकार्यले आइटी क्षेत्रको व्यावसायिकता र संरचनागत विकासमा नयाँ ऊर्जा भरेको छ । विदेशी लगानीकर्ताले समेत नेपाली स्टार्टअप र आइटी कम्पनीमाथि विश्वास गर्न थालेका छन् । फिनटेक, हेल्थटेक, एआई र इ–कमर्समा आधारित स्टार्टअपमा लगानीकर्ताको चासो बढिरहेको देखिन्छ । इन्टरनेट सेवाको गुणस्तर र पहुँचमा आएको सुधार, डिजिटल भुक्तानी प्रणालीको विकास र युवा पुस्ताको बढ्दो प्रविधिसम्बन्धी ज्ञानले लगानीकर्ताका लागि नेपाललाई एक सम्भावनायुक्त गन्तव्य बनाइरहेको छ । साथै, नेपाली आइटी कम्पनीले ग्लोबल क्लाइन्टसँग आउटसोर्सिङ सम्झौता गर्न थालेका छन्, जसले विदेशबाट प्रत्यक्ष विदेशी मुद्रा भिœयाउने कार्यमा सहयोग पु¥याइरहेको छ । यी सबै परिवर्तनले नेपाललाई अब प्रविधिकेन्द्रित लगानीका लागि उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न थालेका छन् ।

सरकारले पछिल्ला वर्षमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्दै थुप्रै ऐतिहासिक निर्णय लिएको छ, जसले आइटी क्षेत्रको दीर्घकालीन रूपान्तरणको ढोका खोलिदिएको छ । ‘आइटी दशक’ घोषणा गर्नु त्यसैको प्रतिफल हो, जसले आगामी १० वर्षभित्र तीन खर्बको आइटी सेवा निर्यात गर्ने तथा पाँच लाख प्रत्यक्ष रोजगारी सिर्जना गर्ने स्पष्ट र महŒवाकांक्षी लक्ष्य लिएको छ । विदेशी लगानी नियमन ऐन, २०७६ मा गरिएको संशोधनले नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्ने कानुनी अधिकार दिएको छ, जसअनुसार अब नेपाली आइटी कम्पनीले विदेशमा शाखा खोल्न पाउनेछन् ।

यसले नेपालको आइटी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन मद्दत पु¥याउने अपेक्षा छ भने कम्पनीलाई वैदेशिक बजारमा कमाइ गरेको आम्दानी नेपाल फर्काउन कानुनी बाटो खुलेको छ । यसले वैदेशिक मुद्रा सञ्चिति बढाउनेछ र राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउनेछ । विशेष आर्थिक क्षेत्रहरूमा सञ्चालन हुने आइटी कम्पनीलाई कर छुट दिने सरकारी योजनाले पनि लगानीमैत्री वातावरण सिर्जना गरिरहेको छ । यो ऐतिहासिक उपलब्धिमा नेपाल उद्योग परिसंघको सक्रिय नीति संवाद र निरन्तरको पैरवीलाई मुख्य श्रेय जान्छ ।

संरचनागत र प्रणालीगत समस्या
नेपालसँग तुलनात्मक आर्थिक र सामाजिक पृष्ठभूमि भएका दक्षिण एसियाका अन्य देश बंगलादेश, श्रीलंका र भुटानले रणनीतिक योजना बनाएर आइटी क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राखेका छन् । नेपालले यस्ता सफल उदाहरणप्रति ध्यान दिँदै, आफ्ना कमजोरीलाई सुधार्दै अगाडि बढ्नुपर्ने देखिन्छ । सरकार, निजी क्षेत्र र युवाबिचको सहकार्य सुदृढ भइरहेमा र नीति कार्यान्वयनलाई निरन्तरता दिइएमा नेपालले पनि छिट्टै वैश्विक डिजिटल अर्थतन्त्रमा उल्लेखनीय स्थान बनाउन सक्छ । विशेषगरी, आइटी क्षेत्रमा स्टार्टअप संस्कृतिको विकास, विदेशबाट आएका अनुभव सम्पन्न आइटी पेसाकर्मीहरूको योगदान र ग्लोबल आउटसोर्सिङको विस्तारले नेपालको डिजिटल भविष्यलाई उज्यालो बनाउन सक्नेछ ।

आइटी क्षेत्रमा अपेक्षित मात्रामा लगानी भित्रिन नसक्नुका पछाडि विभिन्न संरचनागत र प्रणालीगत समस्या रहेको स्पष्ट देखिन्छ । प्रमुख समस्या पूर्वाधारको अभाव हो, उपयुक्त डाटा सेन्टर, उच्चगुणस्तरीय इन्टरनेट सेवा र टेक्नोलोजी पार्कको सीमित पहुँचले लगानीकर्ताको विश्वास घटाएको छ । यस्तै, प्रविधिमा दक्ष जनशक्ति उत्पादन गर्ने शिक्षण संस्था संख्या र गुणस्तर दुवै हिसाबले अपर्याप्त छन् । आइटी शिक्षाको थालनी भए तापनि व्यावहारिक तालिम र उद्योगसँगको समन्वय कमजोर भएकाले श्रमबजारको मागअनुसारको दक्ष जनशक्ति तयार गर्न कठिन भइरहेको छ । त्यसका अलावा फिनटेक प्रणालीको पहुँच सीमित हुनु, स्टार्टअपअनुकूल वित्तीय वातावरण नहुनु र सरकारी निकायमा लगानीमैत्री सोच तथा स्पष्ट एकद्वार प्रणालीको अभावले आइटी क्षेत्रमा लगानीकर्ता हतोत्साहित हुने अवस्था कायम छ । कानुनी र नीतिगत स्थायित्वप्रति विदेशी लगानीकर्ता अझै पनि सशंकित छन्, जसले गर्दा दीर्घकालीन रणनीतिक साझेदारी विकासमा अवरोध पुगिरहेको छ ।

आइटी क्षेत्र अत्यन्त सम्भावनायुक्त
चुनौतीका बाबजुद नेपालको आइटी क्षेत्र अत्यन्त सम्भावनायुक्त छ । मुलुकमा युवा जनसंख्याको अनुपात उच्च छ, जसमा प्रविधिप्रतिको रुचि, प्रयोग र आत्मविश्वास उल्लेखनीय रूपमा बढिरहेको छ । युवा शक्ति देशको डिजिटल परिवर्तनको मूल आधार बन्न सक्छ । सफ्टवेयर विकास, वेब र मोबाइल एप डेभलपमेन्ट, कृत्रिम बुद्धिमत्ता, डेटा एनालिटिक्स, ब्लकचेन, क्लाउड सेवा र साइबर सुरक्षाजस्ता क्षेत्रहरूमा नेपालले उल्लेखनीय योगदान दिन सक्ने सम्भावना राख्छ । यहाँको भौगोलिक ‘टाइम जोन’ युरोप र अस्ट्रेलियालगायतका बजारका लागि उपयुक्त छ, जसले गर्दा फ्रिलान्सिङ र आउटसोर्सिङमा नेपालको प्रतिस्पर्धा बढ्दो छ । सरकार र निजी क्षेत्रबिच सहकार्यमा आधारित स्पष्ट रणनीति अपनाइयो भने नेपाल छिट्टै डिजिटल अर्थतन्त्रको एक उदीयमान केन्द्रका रूपमा स्थापित हुन सक्छ ।

आइटी क्षेत्रलाई वास्तविकतामा परिणत गर्नका लागि दीर्घकालीन र स्थिर रणनीति आवश्यक छ । उच्च गुणस्तरीय इन्टरनेट सेवा, डाटा सेन्टरको विस्तार र टेक्नोलोजी पार्कहरूको स्थापना समावेश छ, जसले आइटी व्यवसायको दिगो विकासका लागि आवश्यक आधार तयार गर्न सक्छ । त्यस्तै, आइटी शिक्षामा व्यावसायिक दृष्टिकोण अपनाउँदै योग्य जनशक्ति उत्पादन गर्ने तालिम केन्द्रहरूको स्थापना र वित्तीय पहुँचलाई सजिलो बनाउने व्यवस्था गर्न आवश्यक छ । स्टार्टअपहरूलाई प्रोत्साहन दिने लक्ष्यका साथ, एकद्वार लगानी केन्द्रको स्थापना र सरकारी खरिद प्रणालीमा घरेलु सफ्टवेयर प्रयोगको प्राथमिकता सुनिश्चित गर्नुपर्छ । यसले आइटी उद्योगलाई वृद्धि र विकासको नयाँ मार्गमा लैजानेछ ।

यस्तै, आइटी इकोसिस्टम निर्माण गर्नका लागि व्यवसाय विकास, पुँजी पहुँच र सीप अभिवृद्धि तीनवटै पक्षमा समान रूपमा ध्यान दिन अत्यन्त जरुरी छ । पहिलो, स्टार्टअपदेखि ठुला कम्पनीहरूसम्मको दिगो विकासका लागि बजार पहुँच, नीति सहजीकरण र व्यापार प्रवद्र्धनमा काम गर्नुपर्छ । दोस्रो, आइटी कम्पनीलाई प्रारम्भिक चरणमै लगानी तथा पुँजी जुटाउने अवसर सुनिश्चित गर्न बैंक, भेन्चर क्यापिटल र एन्जेल इन्भेस्टरहरूको संलग्नता आवश्यक छ । तेस्रो, प्रतिस्पर्धी कार्यबल तयार पार्न टेक्निकल र सफ्ट स्किल दुवैमा तालिम, शिक्षाको गुणस्तर सुधार र उद्योग–शैक्षिक संस्थाबिचको सहकार्य अपरिहार्य छ । तीनवटै आधारशिलामा एकसाथ काम गर्न सके दिगो र समावेशी आइटी इकोसिस्टमको विकास सम्भव हुन्छ । तसर्थ, आइटी सेवा निर्यातलाई प्रोत्साहन गर्नका लागि कर प्रोत्साहन योजनाको आवश्यकता छ । 

निर्यातमा आधारित व्यवसायलाई सरकारी नीति र संरचनाबाट थप प्रोत्साहन दिनुपर्ने देखिन्छ, यसले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रतिस्पर्धा बढ्छ । विशेष प्रशिक्षण र भाषा सीपमा ध्यान दिन सकिएमा विदेशी ग्राहकको आवश्यकता र चाहनालाई अझ राम्रोसँग समेट्न मद्दत गर्नेछ ।