१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख ११ बिहीबार
  • Thursday, 24 April, 2025
२o८२ बैशाख ११ बिहीबार १२:५४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सुविधासम्पन्न महिला प्रहरी ब्यारेक भवनको उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख ११ बिहीबार १२:५४:oo

जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसरमा निर्माण भएको सुविधासम्पन्न महिला प्रहरी ब्यारेक भवनको उद्घाटन गरिएको छ। भवनको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले उद्घाटन गरेका हुन् । तीनतले सुविधासम्पन्न महिला प्रहरी ब्यारेक भवन कुल एक करोड ९५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । भवनको उद्घाटन गर्दै मन्त्री लामिछानेले जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय नेपाल प्रहरीको क्रियाशीलता र सेवा प्रवाहमा कमी नहोस् भन्ने उद्देश्यले प्रदेश सरकारले यसको भौतिक र प्राविधिक क्षेत्रमा लगानी गरिरहेको बताए। 

प्रहरी प्रदेश सरकारको मातहतमा आइनसकेको भए पनि संघीयता कार्यान्वयन भएदेखि नै प्रदेश सरकारले भने लगानी गरिरहेको उनको भनाइ छ । ‘२०७५ सालमा संघीयता कार्यान्वयनमा आएदेखि नै हामीले प्रदेश प्रहरी सेवा र पूर्वाधारमा कमी नहोस् भनेर निरन्तर लगानी गर्दै आएका छौँ । हालसम्म प्रदेश सरकारका तर्फबाट नेपाल प्रहरीको ७१ वटा भौतिक पूर्वाधार निर्माणमा तीन अर्ब ४७ करोड २२ लाख ६४ हजार लगानी भइसकेको छ,’ उनले भने, चालू आर्थिक वर्षमा मात्रै १८ वटा प्रहरी इकाइ भवन निर्माणका लागि १० करोड ४४ लाख ८३ हजार रुपैयाँ तथा भवन संरचनागत सुधारतर्फ थप तीन करोड १३ लाख ६० रुपैयाँ विनियोजन गरिसकेका छौँ।’

मन्त्री लामिछानेले न्यूनतम आवश्यकता र पूर्वाधारको अभावमा पनि प्रहरीले काम गरिरहेको भन्दै त्यसको प्रशंसा गरे । सेवा प्रवेशमा घट्दो दरको विविध कारणमध्ये न्यूनतम आवश्यकता र पूर्वधारको अभाव पनि हुन सक्ने भन्दै उनले त्यसलाई रोक्न प्रदेश सरकार गम्भीर रहेको पनि बताए ।पूर्वाधारको अभावमा सेवा प्रवाहमा, अपराध नियन्त्रण र शान्ति सुरक्षामा कुनै कमी नआओस् भन्दै ०७५ सालदेखि नै प्रदेश सरकारमातहतमा नआए पनि प्रहरीको निरन्तर रूपमा भौतिक पूर्वाधारको स्तरोन्नतिमा काम गर्दै आएको उनले स्पष्ट पारे । 

०७५ साल देखि ०८१ सालसम्म विभिन्न तहका ७१ वटा भौतिक संरचना निर्माणका लागि तीन अर्ब ४७ करोड २२ लाख ६४ हजार निकासा भएको उनले जानकारी दिए । यस्तै, मन्त्री लामिछानेले बागमती प्रदेश प्रहरी अस्पताललाई प्रदेश सरकारले प्राथमिकतमा राखेको बताए । अस्पतालको भौतिक संरचना निर्माणका लागि आवश्यक कुल लागतमध्ये एकतिहाइ अर्थात् १२ करोडमध्ये चार करोड रुपैयाँ हाल विनियोजन गरी उक्त योजनालाई बहुवर्षीय योजनाअन्तर्गत प्रदेश सरकारले सहयोग गर्ने रणनीति बनाएको जानकारी दिए ।

अपराध नियन्त्रणमा सहयोगका लागि आवश्यक पर्ने किट सेट, सडक दुर्घटना न्यूनीकरण र अनुसन्धानमा सहयोगका लागि सिसिटिभी क्यामेरा, मापसे, लापसे जाँच र अपराधमा प्रविधिको उच्च प्रयोगलाई मध्यनजर गर्दै डिजिटल फोरेन्सिक ल्याब निर्माणमा पनि प्रदेश सरकारले ध्यान दिइरहेको मन्त्री लामिछानेको भनाइ छ । मन्त्री लामिछानले मकवानपुरको हटियामा निर्माण हुने प्रदेश प्रहरी अस्पताललाई समेत सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गरे ।