Skip This
एकैरात तीन नाबालक सन्तानको मृत्यु, आमा र नवजात भेन्टिलेटरमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 23 April, 2025
जनकपुरस्थित रामजानकी अस्पतालको भेन्टिलेटरमा उपचाररत पविता साह र नवजात शिशु ।
Invalid date format o६:o८:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

एकैरात तीन नाबालक सन्तानको मृत्यु, आमा र नवजात भेन्टिलेटरमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o८:oo

धनुषाको सहिदनगर– ५ वासुदेवपट्टीमा एक हृदयविदारक घटना घटेको छ । एक आमाले आफ्ना तीन सन्तानलाई विष खुवाएर आफूले पनि आत्महत्याको प्रयास गरेकी छिन् । आमा र शल्यक्रियाबाट निकालिएका नवजात शिशु जीवन–मृत्युसँग भेन्टिलेटरमा संघर्ष गरिरहेका छन् । 

प्रारम्भिक अनुसन्धानअनुसार ३० वर्षीया गर्भवती पविता साहले सोमबार साँझ ६ वर्षीय छोरा आदित्य, चार वर्षीया छोरी आकृति र दुई वर्षीया छोरी आरुषीलाई विष खुवाएकी थिइन् । विष सेवनबाट तीनै नाबालक सन्तानको ज्यान गएको छ । 

आफूले पनि विष सेवन गरेकी पविता गम्भीर अवस्थामा छिन् । पवितासँगै शल्यक्रिया गरेर निकालिएका नवजात शिशुको जनकपुरस्थित रामजानकी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ । घटनाको विस्तृत अनुसन्धान जारी छ । 

जनकपुरस्थित प्रादेशिक अस्पताल लगिएका पविताका ६ वर्षीय छोरा आदित्य, चार वर्षीया छोरी आकृति र दुई वर्षीया छोरी आरुषीको सोमबार राति नै मृत्यु भएको इलाका प्रहरी कार्यालय यदुकुहाका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए । ‘आमाले छोराछोरीलाई विष सेवन गराई आत्महत्या गर्ने उद्देश्यले आफूले पनि विष सेवन गरेको आशंका छ,’ उनले भने, ‘घटनास्थलबाट गहुँमा छर्किने विषादीको बट्टासमेत बरामद गरिएको छ । तर, नाम यकिन भएको छैन । कोठामा बान्तासमेत गरेको भेटिएकाले विष सेवन गरेको हुन सक्ने देखिन्छ ।’

प्रादेशिक अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहका अनुसार आमा र छोराछोरीलाई सोमबार राति करिब साढे ८ बजेतिर अस्पताल पुर्‍याइएको थियो । तर, एक बच्चाको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भइसकेको थियो भने दुई बच्चाको सवा ९ बजेतिर मृत्यु भएको हो । ‘पौने घण्टासम्म सिपिआर दिइएको थियो, तर बचाउन सकिएन,’ उनले भने ।

विष सेवन गरेकी पविताको गर्भमा रहेको नौ महिनाको शिशु शल्यक्रिया गरेर झिकिएको छ । ‘अन्तिम महिनाकी गर्भवती, त्यसमा पनि विष सेवन गरेकाले अवस्था अत्यन्त जटिल थियो । शल्यक्रिया गरी शिशु सकुशल निकालिएको छ,’ सिंहले भने, ‘तर, आमा र नवजात शिशुको अवस्था गम्भीर छ । प्रादेशिक अस्पतालमा भेन्टिलेटर खाली नभएकाले रामजानकी अस्पतालमा रेफर गरी उपचार भइरहेको छ ।’ 

महोत्तरीको पथलैया माइती रहेकी पविताको करिब १२ वर्षअघि सुशील साहसँग मागीविवाह भएको थियो । खेतीपाती, धानको खरिदबिक्री, ट्र्याक्टर रहेका साह परिवारका कान्छा छोरा सुशीलले दाजु सुनीललाई खेतीपाती र व्यवसायमा सघाउँदै आएका थिए । 

विवाहपछि पहिलो सन्तान छोरा तथा दोस्रो र तेस्रो छोरी रहेका उनले चौथो सन्तान गर्भमा बसेपछि जाँच गराउँदा शिशु उल्टो रहेको थाहा पाएपछि केही मानसिक तनावमा रहेको छिमेकी बताउँछन् । चिकित्सकले वैशाखमै प्रसूति हुने किटान गरिदिएकाले उनले अन्तिमपटक ठुलो अस्पताल पुगेर चेकजाँच गर्न भनिरहेको, तर परिवारले गहुँ भित्र्याएर जाने बताइरहेका वेला अकस्मात् घटना भएको छिमेकीले सुनाए । ‘उल्टो शिशु रहेकाले तनावमा थिइन्, वेलैमा जाँचका लागि नलगेको भन्दै तीन छोराछोरीलाई विष सेवन गराएर आफूले पनि विष खाएको आशंका गरिएको छ,’ ती छिमेकीले बताए । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सञ्जीव यादवले शव पोस्टमार्टमपछि मंगलबार परिवारलाई बुझाइसकिएको बताए । तर, घटनाको अनुसन्धान भइरहेको उनले बताए ।