
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रशस्त सम्भावना र वातावरण दुवै रहेको बताएका छन् । कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालमा लगानीका लागि आग्रह गरे ।
‘नेपालमा सम्भावना नै छैन भन्ने र नकारात्मक रूपमा लिने गरिएको छ, विदेशमा बसेर विदेशको विकास र प्रविधि देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ,’ अध्यक्ष ढकालले भने, ‘म यहाँहरूलाई भन्न चाहन्छु, यदि साँच्चिकै विदेशमा गरेजस्तै मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन् ।’
वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीको अवसर प्रदान गर्ने गरी १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै अध्यक्ष ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रहसमेत गरे ।
सामाजिक उत्तरदायित्व कोषमा १५ लाख प्रदान
अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काम गर्न स्थापना गरेको अक्षयकोषमा १५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे । सो कार्यक्रममा बागलुङवासीसमेत भएकाले अध्यक्ष ढकाललाई सम्मान गरिएको थियो ।