
बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडकमा ‘क्लोज ग्रेडिङ प्रिमिक्स’ प्रकृतिको कालोपत्रको काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेट रहेको यस सडकअन्तर्गत क्व्होलासोथर गाउँपालिका– १ बागलुङपानीदेखि वडा नं. ४ भुजुङसम्मको १७ किलोमिटरमध्ये १० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य सुरु भएको हो ।
पूर्वाधार विकास कार्यालयका अनुसार निमित्त कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्याबेल हुनेछ । सोमध्ये चार किलोमिटर सडक कालोपत्र सम्पन्न भएको र बाँकीमा कालोपत्र गर्ने कार्य भइरहेको उनको भनाइ छ । उनका अनुसार ६ मिटरको चौडाइको कालोपत्र भइरहेको र केही केही ठाउँमा भने ढलान गरिने भएको छ ।
घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडकमा ग्याबेलको काम कालेपत्र सम्पन्न गरेसँगै हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक स्तरोन्नतिको हालसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ ।
बागलुङपानीबाट घलेगाउँसम्मको १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्मको सात किलोमिटर सडक ग्याबेल गर्न कान्छाराम–नाना जेभीले ०७६ असोज २९ गते सम्झौता गर्दै ०७८ असोज २९ गतेभित्र सम्पन्न गर्ने सम्झौता भएको थियो । सम्झौताअनुसार उक्त समयमा ठेकेदारले काम सम्पन्न नगरेपछि पहिलोपटक ०७९ असोज २८ गतेसम्म काम सम्पन्न गर्ने भन्दै म्याद थप गरेको थियो ।
उक्त समयमा कामले गति लिन नसकेपछि ०८० चैत २२ गते पुनः म्याद थप गर्दै ०८१ असोज २९ गतेभित्र सो कार्य सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर, सो समयमा पनि काम सम्पन्न हुन सकेन ।