
देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित १२ जना पक्राउ परेका छन्। मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, संखुवासभालगायत जिल्लाबाट लागुऔषधसहित १२ जना पक्राउ परेका हुन्।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५, पिपलबोटबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित हेटौँडा-४, हुप्राचौर बस्ने १९ वर्षीय विशाल सार्की र मोरङको विराटनगर महानगरपालिका-१५, बैंक रोडबाट सुन्दरहरैँचा नगरपालिका-२ बस्ने ३१ वर्षीय सरन डाँगी पक्राउ परेका लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरले जनाएको छ।
चितवनको भरतपुर महानगरपालिका-२६, सिसुवारबाट नियन्त्रित लागुऔषध ट्रामाडोल र गाँजाजस्तो देखिने पदार्थसहित भरतपुर-२६ बस्ने ६१ वर्षीया शान्तिकुमारी महतो र २५ वर्षीय विशाल सुनार पक्राउ परेका इलाका प्रहरी कार्यालय चनौलीले जनाएको छ।
त्यस्तै, कैलालीको कैलारी गाउँपालिका-१, सडकपुरबाट कैलारी-८, दुधिया बस्ने २५ वर्षीय सञ्जुकुमार चौधरी, कञ्चनपुरको बेलौरी नगरपालिका-१, हनुमानथानबाट डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३, सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र ३५ वर्षीय रोहित शाही, भीमदत्त नगरपालिका-११, गड्डाचौकीबाट शुक्लाफाँटा नगरपालिका-११ बस्ने २५ वर्षीय रामबहादुर विष्ट पक्राउ परेका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
स्थायी प्रहरी पोस्ट गोठीकाँडाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१४, कटुकाबाट ब्राउनसुगरजस्तो देखिने पदार्थसहित बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१४ बस्ने २१ वर्षीय अनिश नेपाली पक्राउ परेका हुन्।
संखुवासभाको धर्मदेवी नगरपालिका-४, तिरतिरे बस्ने २८ वर्षीय रामबहादुर अधिकारी, २६ वर्षीय केशव घिमिरे र मादी नगरपालिका-६ पुलुङ बस्ने ३८ वर्षीय देवेन्द्र थापालाई अवैध लागुऔषध अफिमजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।