
ललितपुर सिटी एफसी लगातार दोस्रोपटक तेस्रो नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित भए पनि दुईपटकको साविक उपविजेता धनगढी एफसीलाई २–१ ले हराउँदै ललितपुरले अन्तिम दुईमा स्थान पक्का गरेको हो । ललितपुरले एनएसएलमा दश खेलसम्म अपराजित यात्रा कायम राखेको छ । सुपर लिगमा धनगढीमाथि ललितपुर अपराजित रहेको छ । अहिलेसम्म ललितपुरले धनगढीसँग खेल गुमाउनुपरेको छैन ।
ललितपुरको फाइनल यात्रा पक्का हुनुका पछाडि दुई विदेशी खेलाडीले निर्णायक भूमिका निर्वाह गरेका थिए । करभेन्स वेलफोर्ट र पापा केवेले एक–एक गोल गर्दा ललितपुर उपाधिनजिक पुगेको हो । समग्रमा ललितपुर र धनगढीबिच लिगमा यो पाँचौँ भेट हो । ललितपुरले पाँचै खेलमा हारको सामना गरेको छैन । धनगढी क्वालिफायरमा पराजित भएको यो नै पहिलोपटक हो । यसअघि दुवै संस्करणको पहिलो क्वालिफायर जित्दै धनगढी अन्तिम दुईमा पुगेको थियो । धनगढीसमक्ष फाइनल पुग्न अर्को अवसर बाँकी छ । प्रतियोगिता आइतबार पोखरा थन्डर्स र चितवन एफसबिचको खेलको विजेताविरुद्ध धनगढीले पुनः प्रतिस्पर्धा गर्नेछ ।
खेलको १६औँ मिनेटमै ललितपुर १० खेलाडीमा समेटियो । ललितपुरका मणिकुमार लामा र धनगढीका मोहम्मद बल कनेक्ट गर्ने प्रयासमा थिए । धनगढीका मोहम्मदले बल नियन्त्रण लिँदै मणिलाई किक हान्न पुगे । दुवै खेलाडी बल खोस्ने प्रयासमा एक–आपसमा जुधे । मणिको प्रहारले मोहम्मद मैदानमा लडे । त्यसपछि असिस्टेन्ट रेफ्री कुसन कनैयाले फलबारे रेफ्री उमेश बिडारीलाई जानकारी दिए । रेफ्री बिडारीले सीधै मणिलाई रातो कार्ड देखाए । रेफ्रीले मोहम्मदलाई चेतावनीस्वरुप पहेँलो कार्ड देखाएका थिए ।
फाइनल नतिजापछि तनाव
रेफ्री बिडारीले खेल सिकएको अन्तिम ह्विसल फुके । ललितपुरका खेलाडीले फाइनल पुगेको खुुसियाली मनाए । त्यत्तिकैमा ललितपुरका केही खेलाडी र धनगढीका अफिसियल एक–आपसमा वादविवाद गर्न तम्सिए । मैदानमा ललितपुर र धनगढीका अफिसियल तथा खेलाडीबिच धक्कामुक्कीको स्थिति आइसकेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालनसमेत गरिएको थियो । खेल समाप्त भइसक्दा पनि रेफ्री बिडारीले रातो र पहेँलो कार्ड देखाए । उनले ललितपुरका पेप डिएकेटलाई खेल सकिएपछि पनि रातो कार्ड देखाए ।
मध्यान्तरपछि तीन गोल
पहिलो हाफमा दुवै पक्षले गोल अवसर गुमाएका थिए । मध्यान्तरपछि ललितपुर र धनगढीले खेलमा सुधार ल्याए । खेलको ५७औँ मिनेटमा ललितपुरले १–० को अग्रता लियो । वेलफोर्टले ललितपुरलाई अग्रता दिलाएका हुन् । उनले डिबक्सबाहिरबाट प्रहार गरेको फ्रिकिक सीधै गोलमा परिणत भएको थियो । तर, ललितपुरको अग्रता लामो समयसम्म रहेन । खेलको ६०औँ मिनेटमै धनगढीले १–१ को बराबरी गोल फर्कायो । धनगढीका देवेन्द्र तामाङको हेडिङमा जर्जप्रिन्स कार्कीले गोल गरी खेल बराबर गर्न सफल भए । खेलको ७९औँ मिनेटमा पापा केवेले ललितपुरलाई २–१ को अग्रता दिलाए । उनले एकल प्रयासमा गोल गरेका हुन् । उनले पोस्टभन्दा ३५ यार्ड टाढाबाट उत्कृष्ट ड्रिब्लिङ गरी बल धनगढीको डिबक्ससम्म पुर्याए । यसक्रममा धनगढीका डिफेन्डरले उनलाई रोक्न सकेनन् । उनी उत्कृष्ट गोल गर्दै ललितपुरलाई २–१ को अग्रता दिलाउन सफल भए । खेलमा थप गोल नहुँदा पापा केवेकै गोल निर्णायक बन्यो ।
यसअघि खेलको ७६औँ मिनेटमा उत्कृष्ट फर्ममा रहेका धनगढीका स्ट्राइकर हिजाजीले सहज अवसर चुकाएका थिए । उनले गोलरक्षक जेफ्रीविरुद्धको वान भर्सेज वानमा पनि गोल गर्न सकेनन् । खेलको छैटौँ मिनेटमा ललितपुरका वालफोर्टको प्रहारलाई धनगढीका गोलरक्षक वालिदले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ८८औँ मिनेटमा धनगढीका विवेक पौडेलले प्रहार गरेको बल आकासिएको थियो ।
खेलाडी नियन्त्रणभन्दा बाहिर गए : अनन्त तामाङ, कप्तान, ललितपुर
१० खेलाडीमा सीमित भएको ललितपुरले आफूलाई नियन्त्रणमा राखेर खेल्नुपर्ने थियो । मैले खेलाडीलाई मैदानमा आफूलाई कन्ट्रोलमा राखेर खेल जित्न भनिरहेको थिएँ । खेलाडीले इमोसन कन्ट्रोलमा राख्न नसक्दा खेल तनावपूर्ण हुन गएको हो । यसमा प्रशिक्षकले पनि स्थिति काबुमा राख्नुपर्ने थियो ।