१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
शुरोजंग पाण्डे काठमाडाैं
Invalid date format o७:४८:oo
Read Time : > 3 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रचण्डको अभिव्यक्तिले तरंगित राजनीति

नयाँ वर्षमा सत्तासमीकरण टुट्न सक्ने प्रमुख विपक्षी दलका नेताको अभिव्यक्ति अर्थपूर्ण, तत्काल वैकल्पिक सरकारको सम्भावना नरहेको सत्तारूढ दलहरूको टिप्पणी

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o७:४८:oo

नयाँ वर्ष ०८२ को सुरुवातमै प्रमुख विपक्षी दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राष्ट्रिय राजनीति तरंगित बनेको छ । हालको सत्तासमीकरण टुट्दै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने गरी घटनाक्रम तीव्र गतिमा विकसित हुँदै गएको उनले अभिव्यक्ति दिएका छन् । 

सरकारको प्रमुख सहयात्री कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता शेखर कोइरालाद्वारा व्यक्त सरकार बदनाम बन्दै गएको अभिव्यक्तिलाई समर्थन गरेकै भोलिपल्ट प्रचण्डले दिएको अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । तर, सत्तारूढ दलका नेताहरूले चाहिँ नयाँ सरकारको सम्भावना नरहेको प्रतिक्रिया दिएका छन् । 

प्रचण्डले हाल सडक आन्दोलनको नाममा चौतर्फी असन्तुष्टि र आक्रोश बढ्दै गएको, सत्तारूढ दलहरूसमेत आन्दोलनमा उत्रन बाध्य भइरहेका घटनाक्रमलाई संवेदनशील परिस्थिति र शासन संकटको उदाहरणका रूपमा पेस गरेका छन् । तर, उनले वैकल्पिक सरकार कसरी र कहिले बन्ने भन्ने विषयमा भने खुलासा गरेका छैनन् ।

‘सरकारतिर हाम्रो त्यति ध्यान छैन । तर, परिस्थिति यस्तो बन्दै छ कि, यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने पनि देखिराख्या छ । त्यसकारण (कांग्रेस–एमाले समीकरण) टुट्ने सम्भावना पनि छ,’ सञ्चारकर्मीहरूसँग प्रचण्डले भने, ‘मैले डे वानदेखि नै, सरकारले विश्वासको मत लिएदेखि सबैभन्दा ठुलो दलको नेतृत्वमा सरकार बन्ने कुरा नै सही हो भन्दै आएको छु । पछिल्ला दिनहरूमा धेरै नयाँ घटनाक्रम भए । मैले अहिले केही नयाँ कुरा अनुभवको आधारमा भनेको हो । मलाई लाग्छ– त्यही (कांग्रेसको नेतृत्वमै सरकार बन्ने) दिशातिर देश जान्छ ।’

उनले नयाँ वर्षसँगै देशले केही न केही निकास पाउने दाबी गर्दै सरकारको नेतृत्व परिवर्तनको आधार बन्दै गइरहेको दृष्टान्त पनि प्रस्तुत गरे । ‘तपाईंहरूले देखिरहनुभएको छ, चौतर्फी असन्तुष्टि र आक्रोश बढेको छ । शिक्षकहरू ११÷१२ दिनदेखि आन्दोलनमा छन् । सबैले समस्या समाधान हुनुपर्छ भन्दा पनि सरकार संवेदनशील देखिएको छैन । डाक्टरहरू, नर्सहरू, लघुवित्तपीडत र सहकारीपीडितहरू, सबै राजनीतिक दलहरू पनि झन्डैझन्डै सडकमै छन्,’ उनले भने, ‘सरकारमा भएकाहरू पनि अहिले त सडकमा आउन थालेका छन्,’ उनले भने, ‘परिस्थिति निकै गम्भीर र पेचिलो बनेको छ । त्यसैले, मलाई लाग्छ, नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ ।’

तर, सत्तारूढ कांग्रेस र एमालेका नेताहरूले भने प्रचण्डले झटारो फ्याँके पनि तत्काल सरकार परिवर्तनको सम्भावना नरहेको भन्दै खण्डन गरे । नेताहरूले दुई दलबिचको सहकार्य तत्काल टुटिहाल्ने सम्भावना नै नरहेको दाबी गर्दै प्रचण्डको पछिल्लो अभिव्यक्ति सत्तामोहको उपजका रूपमा मात्र आएको टिप्पणी पनि गरे ।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले प्रतिपक्षको नेताको हैसियतमा प्रचण्डले सकारको नेतृत्व परिवर्तन हुन सक्ने बताए पनि त्यस्तो कुनै सम्भावना नरहेको प्रस्ट्याए । ‘सरकारको नेतृत्व परिवर्तनबारे उहाँले प्रतिपक्षीय दृष्टिकोणबाट अभिव्यक्ति दिनुभएको होला । तर, देशको आजकोे सन्दर्भमा कांग्रेस र एमालेबिचको सहमति, समझदारी र सहकार्यबाहेकको अर्को कुनै विकल्प नभएकाले सरकार परिवर्तनका विषयमा कुनै कुरा भएको पनि छैन, हुने कुरा पनि भएन । उहाँले तै केही भइहाल्ला कि भनेर यसो जाल थाप्नुभएको हुन सक्छ,’ विश्वकर्माले नयाँ पत्रिकासँग भने । 

त्यसो त शनिबार आयोजित एक कार्यक्रममा देउवा पहिलोपटक सरकारप्रति रक्षात्मक र आलोचनात्मकजस्तो सुनिएका थिए । ‘डा. शेखर कोइरालाजीले भनिसक्नुभो । सरकारको नाममा धेरै ठुलो बदनामी भइरहेको छ । उहाँले यो नहोस् भनिसक्नुभयो,’ उनले कोइरालाले बोलेको विषयमा थप्दै अभिव्यक्ति दिएका थिए । त्यसअघि बोलेका कोइरालाले सरकारको नाममा अहिले ठुलो बदनामी भइरहेको भन्दै कांग्रेस सत्तामा भए पनि सरकारमा रहेको कुनै अनुभूति नभएको बताएका थिए । कोइरालासँगै महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा पनि सरकारको आलोचक बन्दै गएपछि देउवा दबाबमा परेका छन् ।  

एमाले स्थायी समिति सदस्य तथा प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले सरकारबाट बाहिरिएपछि निरन्तर सत्तातिर ध्यान देखिएकाले पनि ‘पोलिटकल स्टन्ट’का रूपमा प्रचण्डको पछिल्लो अभिव्यक्ति आएको हुन सक्ने टिप्पणी गरे । ‘प्रचण्डजीको जुन अभिव्यक्ति सार्वजनिक भएको छ, यसले प्रचण्डजी र स्वयं माओवादीको ध्यान सत्तामा मात्र छ भन्ने उद्घोष भएको छ । प्रचण्डजी पोलिटिकल स्टन्ट गर्न माहिर नै हुनुहुन्छ,’ गौतमले नयाँ पत्रिकासँग भने, ‘उहाँलाई सत्तामा नहुँदाको गहिरो पीडा छ । त्यसैले नै उहाँ हरेक दिन सत्ताको सपना देख्नुहुन्छ र नयाँ वर्षसँगै नयाँ सरकार बन्ने कुरा गर्नुभएको छ । यसमा कुनै तथ्य छैन । अर्को सरकार बन्ने कुनै पनि सम्भावना छैन ।’ 

राजनीतिक विश्लेषक कृष्ण पोखरेलले सरकार बनेको लामो समयपछि कांग्रेस सभापति देउवा आलोचनात्मकजस्तो सुनिएका कारण झटारोको रूपमा प्रचण्डको अभिव्यक्ति आएको हुन सक्ने टिप्पणी गरे । ‘सरकारको कार्यशैलीलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक अलिकति आलोचनात्मकजस्तो सुनिएका कारण प्रचण्डजीले झटारो हानेको हुन सक्छ । अलिकति केही क्लु हो कि भनेजस्तो देखिनेबित्तिकै उहाँमा हौसिएर बढी बोल्ने स्वभाव पनि छ,’ पोखरेलले टिप्पणी गरे, ‘विगतको अनुभव हेर्ने हो भने केही न केही खिचडी पाकिराखेको छ भने पहिल्यै यसरी बाहिर डिस्क्लोज्ड हुनुनपर्ने हो । तर, नेपालको राजनीतिमा ठोकेरै केही भन्न चाहिँ सकिँदैन ।’

 प्रचण्ड, अध्यक्ष माओवादी
सरकारतिर हाम्रो त्यति ध्यान छैन । तर, परिस्थिति यस्तो बन्दै छ कि, यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने पनि देखिराख्या छ । त्यसकारण (कांग्रेस–एमाले समीकरण) टुट्ने सम्भावना पनि छ । मैले डे वानदेखि नै, सरकारले विश्वासको मत लिएदेखि सबैभन्दा ठुलो दलको नेतृत्वमा सरकार बन्ने कुरा नै सही हो भन्दै आएको छु । पछिल्ला दिनहरूमा धेरै नयाँ घटनाक्रम भए । मैले अहिले केही नयाँ कुरा अनुभवको आधारमा भनेको हो । 

 मीन विश्वकर्मा
प्रमुख, कांग्रेस प्रचार विभाग

सरकारको नेतृत्व परिवर्तनबारे उहाँले प्रतिपक्षीय दृष्टिकोणबाट अभिव्यक्ति दिनुभएको होला । तर, देशको आजकोे सन्दर्भमा कांग्रेस र एमालेबिचको सहमति, समझदारी र सहकार्यबाहेकको अर्को कुनै विकल्प नभएकाले सरकार परिवर्तनका विषयमा कुनै कुरा भएको पनि छैन, हुने कुरा पनि भएन । उहाँले तै केही भइहाल्ला कि भनेर यसो जाल थाप्नुभएको हुन सक्छ ।

कृष्ण पोखरेल, राजनीतिक विश्लेषक
सरकारको कार्यशैलीलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा पहिलोपटक अलिकति आलोचनात्मकजस्तो सुनिएका कारण प्रचण्डजीले झटारो हानेको हुन सक्छ । अलिकति केही क्लु हो कि भनेजस्तो देखिनेबित्तिकै उहाँमा हौसिएर बढी बोल्ने स्वभाव पनि छ । विगतको अनुभव हेर्ने हो भने केही न केही खिचडी पाकिराखेको छ भने पहिल्यै यसरी बाहिर डिस्क्लोज्ड हुनुनपर्ने हो । तर, नेपालको राजनीतिमा ठोकेरै केही भन्न चाहिँ सकिँदैन ।

 

 राजेन्द्र गौतम
प्रमुख, एमाले प्रचार विभाग

प्रचण्डजीको जुन अभिव्यक्ति सार्वजनिक भएको छ, यसले प्रचण्डजी र स्वयं माओवादीको ध्यान सत्तामा मात्र छ भन्ने उद्घोष भएको छ । प्रचण्डजी पोलिटिकल स्टन्ट गर्न माहिर नै हुनुहुन्छ । उहाँलाई सत्तामा नहुँदाको गहिरो पीडा छ । त्यसैले नै उहाँ हरेक दिन सत्ताको सपना देख्नुहुन्छ र नयाँ वर्षसँगै नयाँ सरकार बन्ने कुरा गर्नुभएको छ । यसमा कुनै तथ्य छैन । अर्को सरकार बन्ने कुनै पनि सम्भावना छैन ।