Skip This
१५ प्रतिशत काम सकिएको अस्पतालको दोस्रोपटक शिलान्यास गरे प्रधानमन्त्री ओलीले
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 22 April, 2025
Invalid date format o६:३३:oo
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

१५ प्रतिशत काम सकिएको अस्पतालको दोस्रोपटक शिलान्यास गरे प्रधानमन्त्री ओलीले

झापा गौरादह नगर अस्पतालको पहिलोपटक शिलान्यास गरेको साढे चार वर्षमा १५ प्रतिशत मात्रै प्रगति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:३३:oo

१५ मंसिर ०७७ मा प्रधानमन्त्री केपी ओलीले देशभर ३०९ स्थानीय तहमा पाँचदेखि १५ शय्याका अस्पताल शिलान्यास गर्दा एउटा थियो, गौरादह नगर अस्पताल । त्यसवेला ओलीको निर्वाचन क्षेत्रअन्तर्गतकोे गौरादहमा १५शय्याको अस्पतालका लागि बजेट विनियोजन भएको थियो । अनलाइनबाट देशभर एकैपटक प्रधानमन्त्री ओलीले अस्पतालको शिलान्यास गर्दा यो पनि पर्‍यो । तर, अहिले १५ प्रतिशत प्रगति भएपछि प्रधानमन्त्री ओलीले भने फेरि शिलान्यास गरेका छन् । 

गौरादह नगरपालिकाले अस्पताल बनाउने जग्गा नभेटेपछि गत १५ माघमा मात्रै ठेक्का लाग्यो । गौरादह– १ मा दुई बिघा जग्गा प्राप्त भएपछि ठेक्का लगाएर काम सुरु गरेको थियो । नगरपालिकाको तर्फबाट शिलान्यास नभएको भन्दै पुनः प्रधानमन्त्री ओलीले नै भौतिक उपस्थितिमा आइतबार शिलान्यास गरेका हुन् । 

गौरादह– १ का वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार अस्पताल निर्माणको काम करिब १५ प्रतिशत सकिएको छ । ‘अस्पताल निर्माणको काम धमाधम भइरहेको छ । करिब १० देखि १५ प्रतिशत काम भएको छ,’ उनले भने । उनले १४ माघ ०८३ मा सक्ने गरी ठेक्का सम्झौता गरिएको बताए । जे एन्ड जे निर्माण सेवा–हेना कन्स्ट्रक्सन दमकले १२ करोड ५९ लाख ७९ हजार ४९८ रुपैयाँमा ठेक्का पाएको छ । 

गौरादहका मेयर छत्रपति सुवेदीले जग्गा नपाएका कारण भौतिक रूपमा शिलान्यास नभएकाले अहिले गरिएको बताए । तर, १५ प्रतिशत प्रगति भएपछि शिलान्यास गरिएको विषयमा भने उनी बोल्न चाहेनन् । ‘अहिले जग्गा प्राप्त भएपछि शिलान्यास गरेका हौँ, अब काम तीव्र गतिमा हुन्छ,’ उनले भने, ‘काम भएपछि शिलान्यास गरेको भनेर तपाईंहरूले लेख्नुहुन्छ । तसर्थ यसबारे बोलिनँ ।’ 

प्रधानमन्त्री ओलीले निर्माण सुरु भएको उक्त अस्पतालपरिसरमा बनाइएको स्तम्भमा छोपिएको शिलालेखको रिबन काटेर शिलान्यास गरेका छन् । अस्पताल उद्घाटन गर्दै ओलीले अस्पताल शिलान्यासले नयाँ प्रगतिको अभियानमा एउटा सिँढी थपिएको बताए । उनले निर्माणपछि अस्पताल चलेमा ५० शय्यामा स्तरोन्नति गर्न सकिने बताए । 

‘नयाँ प्रगतिको अभियानमा एउटा सिँढी थपिएको छ । एउटा इँटा थपिएको छ । आधारभूत अस्पतालको निर्माण कार्य सुरु भएको छ । यसले यहाँको जनताको स्वास्थ्य उपचारमा मद्दत पुर्‍याउनेछ । यहाँका जनतालाई काफी लाभ पुर्‍याउनेछ । यहाँका मात्र होइन, मित्रराष्ट्रका मित्रहरूले पनि लाभ लिनेछन्, सीमा नजिकै छ । त्यता पनि यसप्रकारका अस्पताल छैनन्,’ ओलीले भने, ‘यस अस्पतालले अरू ठाउँ र जिल्लाकालाई पनि ठुलो योगदान गर्नेछ । उपचारका विभिन्न क्षेत्रमा सेवा पुर्‍याउन सकियो भने ५० बेडमा स्तरोन्नति गर्न सकिन्छ । तर, सञ्चालन भएर राम्रोसँग चल्नुपर्‍यो । बिरामीको चाप बढ्यो भने स्तरोन्नति र सुविधा थप्न सकिन्छ ।’

कमलमा ठेक्का लागेको पनि तोडियो 
प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रमा पर्ने कमल गाउँपालिकामा पनि शिलान्यास भएको अस्पताल बन्न सकेको छैन । १५ शय्याको कमल नगर अस्पताल निर्माणका लागि १५ मंसिर ०७७ मै तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की (हालका मुख्यमन्त्री)ले शिलान्यास गरेका थिए । 

कमल– २ स्थित गाउँपालिकापरिसरमा शिलान्यास भए पनि निर्माण सुरु हुन सकेन । अस्पताल निर्माण हुँदा प्रशासनिक भवन अन्तै सर्ने त्रासले स्थानीयले विरोध गर्दा अस्पताल बन्न नसकेको हो । विगतमा अस्पतालका लागि शिलान्यास गरेको ठाउँमा अहिले कमल गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम भइरहेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले जानकारी दिए । 

कमल गाउँपालिकाले त अस्पताल निर्माणका लागि ठेक्का नै लगाइसकेको थियो । आशिष–आशीर्वाद–स्वामीनारायण जेभीले ०७८ वैशाखमा १२ करोड ३९ लाखमा ठेक्का लिएको थियो । निर्माण कम्पनीले मोबिलाइजेसनबापत करिब एक करोड रुपैयाँ रकमसमेत लगेको थियो । यद्यपि, अहिले ठेक्का तोडिसकेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए । 

‘पहिला अस्पताल बनाउने ठाउँमा गाउँपालिकाको प्रशासनिक भवन बन्दै छ । हामी अस्पतालका लागि जग्गा खोज्दै छौँ,’ उनले भने, ‘यो म आउनुभन्दा पुरानो विषय हो । ठेक्का तोडेको थाहा छ । तर, निर्माण कम्पनीले लगेको मोबिलाइजेसन खर्चको विषयमा जानकारी भएन ।’ 

गौरीगन्जमा दुईपटक म्याद थप्दा ८० प्रतिशत काम
प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्र गौरीगन्ज गाउँपालिकामा निर्माण सुरु भएको १५ शय्याको अस्पतालको काम पनि सकिएको छैन । दोस्रोपटक म्याद थप्दा हाल ८० प्रतिशत काम सकिएको गौरीगन्जका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले बताए । अस्पताल दुई वर्षमा सक्ने गरी ८ वैशाख ०७८ मा ठेक्का लागेको थियो । अब दोस्रोपटक थपिएको म्याद पनि आउँदो २० असारमा सकिँदै छ । उक्त अस्पताल सिएम कन्स्ट्रक्सन प्रालिले १३ करोड चार लाख ५२ हजार १३ रुपैयाँमा ठेक्का लिएको थियो ।