
नेपालले अन्तर्राष्ट्रिय टी–२० शृंखलामा विजयी सुरुवात गरेको छ । बुधबार बिहान भएको खेलमा नेपालले कतारलाई आठ विकेटले पराजित गर्याे । जितपछि नेपालले महत्त्वपूर्ण तीन अंक हासिल गरेको छ । हङकङको मोङककमा टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै जित निकाल्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ८१ रनको बलियो साझेदारी गरेका थिए । भुर्तेलले १९ बलमा चार चौका र तीन छक्कासहित सर्वाधिक ३८ रन बनाएका थिए । आसिफले २१ बलमा चार चौकासहित ३३ रन बनाएका हुन् । कप्तान रोहितकुमार पौडेलले अविजित ३७ तथा बसिर अहमदले पनि अविजित ३० रन जोडेका थिए ।
कतारका मुजिव उर रहमानले दुई विकेट हात पारे । यसअघि टस हारेर ब्याटिङ गरेको कतारका लागि तेस्रो नम्बर क्रिजमा आएका कप्तान इक्रमुल्लाह खानले ५४ बलमा ५४ रन बनाए । यसक्रममा पाँच चौका र दुई छक्का हिर्काएका थिए । सहजाइव जमिलले ३१, रहमानले २० रनको योगदान गरेका थिए ।
नेपालका करण केसी, सोमपाल कामी, डेब्यु गरेका नन्दन यादव, गुल्सन झा र ललितनारायण राजवंशीले समान एक विकेट हात पारेका थिए । चार ओभर नै बलिङ गरेका दीपेन्द्रसिंह ऐरी २६ रन खर्चिँदा विकेटविहीन भएका छन् ।
अब, नेपालले दोस्रो खेलमा बिहीबार कुवेतसँग खेल्ने तालिका छ । त्यसपछि शनिबार हङकङसँग खेल्नेछ । तालिकाको शीर्ष दुई टिमले सिधै फाइनल खेल्नेछन् ।