
सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गत सूर्य नेपाल एनपिजिए म्याच प्लेको पहिलो दिन मंगलबार शीर्ष स्थानका प्रो गल्फर भुवन नगरकोटी र दोस्रो वरीयताका नीरज तामाङ क्वार्टरफाइनलमा पुगेका छन् । साबिक विजेता दिनेश प्रजापति, धनबहादुर थापा, रवि खड्का, प्रदीपकुमार लामा, तोरणविक्रम शाही र रामे मगरले पनि अन्तिम आठमा स्थान बनाएका छन् ।
रोयल नेपाल गल्फ क्लबमा भुवनले १६औँ वरीयताका पशुपति शर्मालाई ५–४ ले हराए । चार होल अगाडि जित निकालेका भुवनले सेमिफाइनल प्रवेशका लागि धनबहादुर थापाविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । आठौँ वरीयताका धन र नवौँ वरीयताका भुवनकुमार रोक्काबिच कडा प्रतिस्पर्धा चलेको थियो । १७औँ होलको समाप्तिसम्म दुवैले बराबरी स्कोर गरेका थिए ।
धनले १८औँ होल बाजी मार्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे । दोस्रो स्थानका नीरजले १५औँ वरीयताका सूर्यप्रसाद शर्मालाई सहजै ५–४ ले हराए । चार होलअगाडि पहिलो चरणको खेल जितेका नीरज यो सिजन तेस्रो उपाधि जित्ने दाउमा छन् । नीरजले अब सातौँ वरीयताका रामे मगरसँग क्वार्टरफाइनल खेल्नेछन् । रामेले १०औँ वरीयताका दीपक मगरलाई ४–३ को नतिजामा माथ दिए ।
साबिक विजेताले रमेशलाई हराए
साबिक विजेता तथा तेस्रो वरीयताका दिनेशले क्वार्टरफाइनल स्थान पक्का गर्ने क्रममा १४औँ वरीयताका रमेश अधिकारीलाई ४–३ ले निराश पारे । उनले अब अनुभवी तोरणविक्रम शाहीसँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछन् । ११औँ वरीयताका तोरणसँग छैटौँ वरीयताका जयराम श्रेष्ठ ३–२ ले पराजित भए । चौथो वरीयताका रवि खड्काले १३औँ वरीयताका टंकबहादुर कार्कीलाई ३–२ ले हराउँदै अन्तिम आठ स्थान सुरक्षित गरेका छन् ।