
हिमालयन एकेडेमी र गण्डकी हिरोज क्लबले मंगलबार केपी ओली टी–२० कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा जित निकालेका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा समूह ‘बी’मा हिमालयनले ग्रेट हिमालयन क्रिकेट क्लबलाई दुई विकेट र गण्डकीले चितवन क्रिकेट क्लबमाथि ४ विकेटको जित निकालेको हो । टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयनले २० ओभरमा ९ विकेट गुमाएर १६२ रनको योगफल तयार पार्यो । प्रत्युत्तरमा हिमालयनले १९.२ ओभरमा ८ विकेटको क्षतिका १६७ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।
हिमालयनको जितमा सोनु देवकोटाले सर्वाधिक ३६ रन बनाए । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरेका थिए । ओपनर दीपक बोहोरा ‘बी’ले २९ बलमा ३ चौका र १ छक्कासहित ३३ रन बनाए । म्यान अफ दी म्याच दीपक चन्दले २७ रन र खडक बोहोरा १९ रनको योगदान दिए । यसअघि ग्रेट हिमालयका लागि अभिषेक थापाले सर्वाधिक ४२ रन बटुलेका थिए । उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । अशोक पौडेल २६ बलमा ४ चौका र २ छक्कासहित ३७ रन र उत्तमरघु थापा मगरले १७ रन बनाए । हिमालयका प्रतिश जिसी, प्रकाश जैशी, दीपक बोहोरा र सुवास खत्रीले समान दुई विकेट लिए । ग्रेट हिमालयका लागि सन्दीप पराजुली, किरण बुढामगर र इशान पाण्डेले समान दुई विकेट हात पारे ।
हुकको सर्वाधिक ४२ रन
अर्को खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रनको मध्यम योगफल तयार गरेको थियो । गण्डकीले १३.३ ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाउँदै चार विकेटको जित निकाल्यो । गण्डकीका लागि ओपनर सक्वि हुकले ४२ रनको योगदान दिए । उनले २० बलमा ६ चौका र २ छक्का प्रहार गरेका थिए । अर्जुन कुमालले २० बलमा ७ चौका प्रहार गर्दै ३७ रन र दीपक डुम्रले १८ रन बनाए ।
चितवनका लागि प्रतीक श्रेष्ठले सर्वाधिक ३९ रन बनाउने क्रममा २७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका थिए । सूर्यान्शु कोइरालाले १७ रन र ओपनर आसुतोष घिरायाले १६ रन जोडे । चितवनका दीपेश श्रेष्ठले ३ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । किरण गुरुङ, कमल परियार र प्रतीक श्रेष्ठले समान एक विकेट हात पारे । गण्डकीका लागि सुदीप अर्यालले २ विकेट लिए ।