
संसद्को पाँचौँ ठुलो दल राप्रपा संघीय लोकतान्त्रिक गणतन्त्र उल्टाउने मुद्दासहित १२ चैतदेखि आन्दोलनमा छ । १२ चैतमा संवैधानिक राजतन्त्र र हिन्दु राज्यको माग गर्दै औपचारिक रूपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन र सभा गरेको छ । आगामी ७ वैशाखदेखि निरन्तर राजधानीकेन्द्रित आन्दोलन गर्ने राप्रपाले जनाएको छ ।
१५ चैतमा दुर्गा प्रसाईंको कमान्डमा भएको आन्दोलन हिंसात्मक भएपछि तितरबितर भएका राजावादीलाई सम्हाल्दै राप्रपाले आन्दोलन थालेको हो । दुईजनाको ज्यान जाने गरी भएको तीनकुने आन्दोलनमा सहभागी हुन आफ्ना कार्यकर्तालाई राप्रपाले सार्वजनिक अपिल गरेको थियो ।
तर, मंगलबार बल्खुमा भएको बागमती प्रदेशस्तरीय विरोध सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीनकुने घटनामा सरकार नै दोषी रहेको आरोप लगाउँदै न्यायिक आयोग गठन गर्न र त्यसको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही गर्न माग गरे । उनले उक्त आन्दोलनमा सहभागी भएर हाल थुनामा रहेका आफ्ना नेताहरू धवलशमशेर राणा र रवीन्द्र मिश्रलाई रिहाइको माग मात्रै गरेनन्, दुर्गा प्रसाईंको बचाउसमेत गरे । उनले प्रसाईंलाई प्रहरीले नै भगाएको आरोपसमेत लगाए । लिङ्देनले अभिभावकीय रूपमा संवैधानिक राजसंस्था र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने बताए ।
‘प्रहरीको फन्दामा परेको दुर्गा प्रसाईंलाई पक्राउ गर्न सक्नुहुन्थ्यो, उनलाई भगाउनुभयो । मञ्चमा भाषण गरिरहेका हाम्रा नेताहरूलाई पक्राउ गर्नुभयो । यो के कारण थियो ?’ लिङ्देनले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखकको नाम लिएरै प्रश्न गरे ।
उनले केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम लिएरै उनीहरू सत्तामा पुगेर देश नबन्ने जिकिर गरे । ‘अब केपी ओलीलाई कति वर्ष प्रधानमन्त्रीको कुर्सीमा राखेर देश बन्छ ?’ उनले प्रश्न गरे ।
लिङ्देनले १५ चैतको प्रदर्शनमा प्रहरीले मिति गुज्रेका टियर ग्यास प्रहार गरेको आरोपसमेत लगाए । ‘त्यो दिन दुर्गा प्रसाईंहरूले ल्याएर अश्रुग्यास प्रहार भएको हो ? प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर त्यो टियर ग्यास कसरी डेट एक्सपायर भयो भन्छ । यो के हो ?’ लिङ्देनले प्रश्न गरे, ‘प्रहरी प्रहरी भएर बस्नुपर्छ । तपाईंलाई फुली लाइदिनेहरू सधैँ सत्तामा बस्दैनन्, उनीहरूको सत्तामा सधैँ हालिमुहाली हुँदैन । ख्याल राख्नुस् ।’
लिङ्देनले सञ्चारमाध्यम, मानव अधिकारकर्मी र बुद्धिजीवीको पनि आलोचना गरे । ‘राजावादीको हिंसात्मक प्रदर्शन भनेर लेख्ने पत्रकारहरूलाई म आलोचना गर्दिनँ । प्रदर्शनकारीहरू हिंसात्मक थिए भन्नका लागि यत्रो दिनसम्म प्रदर्शनकारीहरूको एउटा लाठी, एउटा पेस्तोल किन पक्राउ परेनन् ? प्रदर्शनकारी कोही लाठी लिएर आएको थियो ?’ उनले भने, ‘अहिले प्रहरीले अश्रुग्यास हान्यो भने यहाँ सहभागी मानिसले कुर्सी वा ढुंगाले हान्छ, अनि उनीहरूलाई हिंसात्मक भए भन्न मिल्छ ? सबैभन्दा पहिला अश्रुग्यास कसले हान्यो ? गोली कसले चलायो ? मानव अधिकारवादी संस्था कहाँ छन् ? बुद्धिजीवी कहाँ हुनुहुन्छ ?’
तीनकुने प्रदर्शनका दिन बिहानैदेखि एमाले मुख्यालयमा सेना खटाइएको, तर एकीकृत समाजवादी र माओवादी कार्यालयमा सुरक्षाकर्मी नखटाइएको आरोप पनि लगाए । ‘समाजवादी पार्टीको अफिसमा ढुंगा हान्नेहरू, माओवादीको अफिसमा ढुंगा हान्नेहरू, राजा लेऊ भन्ने मानिसहरू हुन् ?’ उनले प्रश्न गरे, ‘एमालेको कार्यालयमा सेनासहितको सुरक्षा व्यवस्था किन गरियो बिहानैदेखि, समाजवादीको अफिसमा किन गरिएन ? प्रधानमन्त्रीले युवालाई अघिल्लो दिन भेला पारेर के निर्देशन दिएको ?’
लिङ्देनले राप्रपा कमजोर भएर बल्खुमा प्रदर्शन नगरेको चुनौती पनि दिए । ‘हामी आएकोमा कमजोर नठान्नुस् । अर्कोचोटि सिफल, कलंकी जाऊ भन्ला, हामी जाउँला । हामी पछि हटेको होइन । तपाईंको गणतन्त्र कति कमजोर रहेछ भन्ने देखाउन हामी बल्खु आएका हौँ,’ उनले भने, ‘शान्ति र अहिंसाप्रति हाम्रो विश्वासलाई कमजोर नठान्नुस् ।’