मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत २७ बुधबार
  • Thursday, 17 April, 2025
हदिश खुद्दार जनकपुरधाम
२o८१ चैत २७ बुधबार o८:o१:oo
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिगमनको ढोका अब खोल्न नसक्ने गरी संविधान संशोधनको गृहकार्य हुँदै छ

Read Time : > 3 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ चैत २७ बुधबार o८:o१:oo

मधेश प्रदेश सभामा प्रधानमन्त्री ओलीको सम्बोधन 

प्रधानमन्त्री केपी ओलीले प्रतिगमनका लागि ढोका खोल्न नसक्ने गरी संविधान संशोधनको गृहकार्य भइरहेको बताएका छन् । मंगलबार मधेश प्रदेश सभालाई सम्बोधन गर्दै उनले उपयुक्त समयमा संविधान संशोधन हुने र यसका लागि गृहकार्य भइरहेको बताए । 

प्रदेश सभाको चौथो अधिवेशनको २१औँ बैठकमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि विशेष समिति गठन गर्ने बताए । उनले भने, ‘संविधान संशोधन उपयुक्त समयमा गर्नेछौँ । आन्तरिक गृहकार्य गरिरहेकै छौँ र यसका लागि एक विशेष समिति पनि गठन गर्नेछौँ ।’ संविधान संशोधन प्रक्रिया द्रुत र पारदर्शी तरिकामा अघि बढ्ने उल्लेख गर्दै उनले के संशोधन गर्ने ? कस्तो संशोधन गर्ने विषयमा खाका तयार गर्न समिति गठन गर्ने जनाए । उनले भने, ‘समितिको सुझाव र त्यसमा अन्य राजनीतिक दलहरूलाई समेटेर संशोधनको प्रक्रिया अगाडि बढाउँछौँ ।’

उनले संविधान संशोधन ‘पन्डोराको बाकस खोल्नेजस्तो’ नभएको पनि बताए । उनले भने, ‘हामीले पहिला पनि दुईपटक संविधान संशोधन गरिसकेका छौँ । संविधान जारी गर्दा केही असन्तुष्टि थियो । त्यसलाई समाधान गर्ने प्रयास गरिरहेका छौँ ।’ प्रदेश सभाको पहिलो कार्यकालमा सभाको बैठकलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘संविधान कुनै गीता होइन, औचित्य र आवश्यकताअनुसार संशोधन हुन्छ ।’

प्रधानमन्त्री ओलीले संविधान संशोधन कुनै प्रतिगमनका लागि नभई लोकतान्त्रिक प्रणाली अझ सशक्त बनाउने र जनतालाई अधिक अधिकार दिने उद्देश्यले अघि बढाइएको बताए । केही प्रतिगामी सोच भएका शक्तिहरू राजतन्त्र पुनस्र्थापना गर्ने षड्यन्त्रमा लागेको भन्दै त्यसलाई कडा रूपमा विरोध गर्नुपर्ने उनको भनाइ थियो । ‘नयाँ पुस्ताले राजतन्त्रको यथार्थ अनुभव गरेको छैन । राजतन्त्र भनेको सामन्ती प्रणाली हो, जसमा केही व्यक्ति राजाका रूपमा जन्मिन्छन् र बाँकी सबै रैती हुनलाई जन्म लिन्छन् । यो २१औँ शताब्दीका नागरिकले स्वीकार गर्दैनन्,’ उनले भने । लोकतान्त्रिक व्यवस्थालाई अझ बलियो बनाएर प्रतिगमनकारीलाई पाखा लगाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो । 

मधेशको प्रशंसा 
प्रधानमन्त्री केपी ओलीले लोकतान्त्रिक संघर्ष र प्रदेशको राजनीतिक सशक्तीकरणमा मधेश प्रदेशको भूमिका सराहनीय रहेको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनादेखि संघीयता कार्यान्वयनसम्म मधेश प्रदेश चेतनामा अग्रणी छ,’ उनले भने, ‘लोकतन्त्र रक्षाका लागि यो प्रदेश सशक्त रूपमा उभिएको छ । यो विश्वास यहाँका जनताको बलिदान र संघर्षको प्रतीक हो ।’

प्रधानमन्त्री ओलीले मधेश प्रदेशले पूरै देशलाई पुग्ने गरी खाद्यान्न उत्पादनतर्फ ध्यान दिनुपर्ने बताए । कृषि उत्पादनका लागि मधेशको भूमि उर्भर रहेको भन्दै उनले अब मधेशले आफ्ना लागि मात्र नभई समग्र देशका लागि खाद्यान्न उत्पादनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए । ओलीले मधेश प्रदेशले द फिड नेसन्सको अभियान थाल्नुपर्ने पनि बताए ।

‘जैविक र मानवीय आवश्यकता पूरा गर्न सकेनौँ भने जनताले शासन प्रणालीमाथि शंका गर्न थाल्छन्,’ प्रम ओलीले भने, ‘त्यसकारण जनप्रतिनिधिले कुशासन होइन, सुशासन दिनुपर्छ, जनताको जीवनमा लोकतन्त्र महसुस गराउनुपर्छ ।’ 

गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै रहने दाबी
प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले एमाले–कांग्रेससहितको वर्तमान गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै रहने बताएका छन् । सिराहामा आयोजित एमालेको ११औँ जिल्ला अधिवेशनको मंगलबार उद्घाटन गर्दै ओलीले राष्ट्रिय हित, सुरक्षा, सुशासन र जनताको सेवाका लागि बनेको गठबन्धन सरकार कसैले चाहँदैमा नढल्ने र आगामी निर्वाचनसम्मै जाने दाबी गरे । केही दल र नेता सरकार अहिले ढल्छ, भरे ढल्छ भन्दै हल्ला फैलाइरहेको चर्चा गर्दै उनले भने, ‘त्यो केवल हल्ला मात्र हो, त्यस्तो भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु ।’ उनले अहिलेको सरकार दुईतिहाइसहितको स्थिर र बलियो सरकार रहेकाले मुलुक लोकतान्त्रिक प्रणालीमै अघि बढ्ने विश्वास व्यक्त गरे । 

जिल्ला अधिवेशनको बन्दसत्रबाट सबैलाई स्वीकार्य हुने र सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै उनले सहमति लोकतन्त्रको अझै उन्नत रूप भएको बताए । उनले भने, ‘सहमतिका लागि आफू र साथीहरूको कामको पनि मूल्यांकन गर्नुस्, त्यसका आधारमा नेतृत्व चयन गर्नुस् ।’ त्यसो गर्न नसकिए स्वस्थ प्रतिस्पर्धामा जान सकिने, तर प्यानल बनाएर, गुट खडा गरेर चुनावमा जाँदा पार्टीभित्रै गुट बन्ने हुँदा त्यसो नगर्न उनको सुझाव थियो । 

६ वर्षअघि ओलीले गरेको प्रतिबद्धता पूरा नभएपछि कमला पुलमा कालोझन्डा

६ वर्षदेखि अलपत्र रहेको निर्माणाधीन कमला पुल । 

सिराहा नगरपालिका– ६ बसबिट्टाका जनप्रतिनिधि र स्थानीय युवाले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउन पूर्व–पश्चिम हुलाकी सडकखण्डको कमला पुलमा कालोझन्डा प्रदर्शन गरेका छन् । अलपत्र अवस्थामा रहेको उक्त पुल छिटो पुनर्निर्माण गर्न माग गर्दै उनीहरूले कालोझन्डा प्रदर्शन गरेका हुन् । 

सिराहा– ६ बसबिट्टाका वडाध्यक्ष इन्द्रजित यादवको नेतृत्वमा स्थानीय युवाले मंगलबार दिउँसो कालोझन्डा प्रदर्शन गरेका हुन् । उनीहरूले प्रधानमन्त्री ओलीले ६ वर्षअघि गरेको प्रतिबद्धता स्मरण गराउँदै पुनर्निर्माण छिटो सिध्याउन कालोझन्डा प्रदर्शन गरेका हुन् । ‘हेलिकोप्टर चढेर सिराहा आएका प्रधानमन्त्री ओलीले कालोझन्डा त देखेनन्, तर उनका पार्टीका नेता–कार्यकर्ता कार्यक्रममा सहभागी हुन जाने भएकाले सांकेतिक विरोधस्वरूप दबाबका लागि कालोझन्डा देखाइएको हो,’ सिराहा– ६ वडाध्यक्ष इन्द्रजित यादवले भने ।

ओली मंगलबार दिउँसो एमालेको ११औँ जिल्ला अधिवेशन उद्घाटन गर्न सिराहा आएका थिए । सिराहाको चन्द्र (प्राविधिक) माविमा १९ माघ ०७५ मा आयोजित सहिद हेमनारायण यादवको स्मृतिलाई सम्बोधन गर्दै तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओलीले २ वैशाख ०७७ भित्र नै पुल निर्माण सम्पन्न हुने दाबी गरेका थिए । करिब ६ वर्ष बित्नै लाग्दासमेत कमलाको पुल पुनर्निर्माण सम्पन्न भएको छैन ।

पुल निर्माण सुस्त हुँदा धनुषा र सिराहासहित हुलाकी सडक हुँदै ओहोरदोहोर गर्नेहरू हिउँदमा बाँसको अस्थायी पुल र बर्खामा डुंगामा वारपार गर्न बाध्य छन् । सिराहा नगरपालिका– ६ बसबिट्टा र धनुषाको कमला नगरपालिका– ५ जोड्ने पुलको दक्षिणतर्फ बाँसमा मोटो प्लाई राखेर सञ्चालन गरिएको छ । पुलबाट वारपार गर्न मोटरसाइकललाई २० रुपैयाँ तथा पैदालत्रात्री, साइकल निःशुल्क गरिएको छ ।