मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
२o८१ माघ ३० बुधबार १o:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडालाई फागुन १ गते बालमैत्री नगर घोषणा गरिने

हेटौँडालाई बालमैत्री स्थानीय नगर घोषणाको आवश्यक सम्पूर्ण तयारी पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार १o:५५:oo

बागमती प्रदेशको एक मात्र उपमहानगरपालिका हेटौँडा उपमहानगरपालिकालाई फागुन १ गते बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिने भएको छ । उपमहानगरपालिकाको ५६औँ स्थापना दिवसको अवसर पारेर हेटौँडालाई बालमैत्री नगर घोषणा गर्न लागिएको हो ।

मकवानपुरका १० पालिकामध्ये मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका यसअघि नै बालमैत्री पालिका घोषणा भइसकेका छन् । हेटौँडा जिल्लाको चौथो पालिकाको रूपमा बालमैत्री घोषणा हुन लागेको हो ।

हेटौँडालाई बालमैत्री नगर घोषणाको आवश्यक सम्पूर्ण तयारी पूरा भएको नगर प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । मेयर लामाका अनुसार फागुन १ गते नेपाल सरकारका उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यमा हेटौँडालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिनेछ ।

बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र घोषणा कार्यविधि, २०७९ मा आधारित भई आवश्यक सबै सूचक पूरा गरेको नगरप्रमुख लामाले बताइन् । उनले बालमैत्री घोषणा कार्यान्वयन भने चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबैको सहयोग र सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।

नगरका उपमेयर राजेश बानियाँले हेटौँडा उपमहानगरपालिकाले घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४३ सूचकमा शतप्रतिशत नतिजा प्राप्त गरेको जानकारी दिए । उनले १९ वटा वडा रहेको हेटौँडा उपमहानगरपालिकामा १८ वर्षमुनिका ५० हजार १९५ बालबालिका रहेको बताए ।