![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/Cover~Yam2025-02-12-06-03-45.jpeg)
पोहोर हिउँदमा १६ वर्षपछिकै कम पानी परेकामा यसपालि झनै खडेरीमा बित्दै छ । खडेरीले आगलागी र डढेलोेसँगै प्रदूषण बढ्न थालेको छ ।
हिउँदयामको आधा महिना मात्र बाँकी छँदा (१५ मंसिरदेखि २९ माघसम्म) हिउँदेयामको ५.७ मिलिमिटर (तीन महिनामा हुने वर्षाको ९.५%) मात्र वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ । जबकि, गत वर्ष यही अवधिमा ७.५ मिमि(१२.५%) वर्षा भएको थियो । गत वर्ष हिउँदभर भने १२.५ मिमि (२१%) मात्र वर्षा भएको थियो, जुन ०६५ यताकै कम वर्षा थियो । त्यतिखेर ११.८ मिमि मात्र पानी परेको थियो ।
विभागको हावापानी विश्लेषण शाखा प्रमुखसमेत रहेकी वरिष्ठ मौसमविद् विभूति पोखरेलले यसपालि पश्चिममा हल्का वर्षा भए पनि मध्य र पूर्वी नेपालमा चरम खडेरी रहेको बताइन् । ‘सम्भाव्यता हेरेरै औसतभन्दा कम वर्षा हुन्छ भनेका थियौँ, कम नै भयो,’ पोखरेलले भनिन्, ‘प्रशान्त महासागरमा विकसित हुने एन्सो तटस्थ अवस्थामा रह्यो, यसपटक पश्चिमी वायु कम सक्रिय भयो, पूर्वतिर त प्रभाव नै पार्न सकेन ।’ तर, हिउँदे वर्षा कुनै वर्ष कम र कुनै वर्ष धेरै हुने प्रक्रिया नै रहेको उनले बताइन् ।
सुक्खामै बितेको गत वर्षको हिउँदमा १२.९ मिलिमिटर पानी परेको थियो । देशभरका २० वटा मुख्य वर्षा मापन केन्द्रको औसत आँकडाअनुसार हिउँदमा औसत ६०.१ मिलिमिटर (वार्षिक वर्षाको तीन प्रतिशत) पानी पर्नुपर्ने हो ।
०६२ यताका ६ हिउँदमा मात्र औसतभन्दा धेरै वर्षा, १४ हिउँद सुक्खा
पछिल्ला २० हिउँदमध्ये ६ वटामा मात्र औसतभन्दा धेरै वर्षा भएको छ । बाँकी १४ हिउँदमा औसतभन्दा कम पानी परेको छ । अझ त्यसमध्ये पनि १० हिउँद (यसपालिसहित) चरम सुक्खामा बितेका छन् ।
मौसम विभागको तथ्यांकअनुसार २० हिउँदमा सबैभन्दा धेरै ०७६ मा १४२.५ मिलिमिटर पानी परेको छ । ०६२ चरम सुक्खा (७.१ मिलिमिटर मात्र वर्षा) हुँदा ०६३ मा भने औसतभन्दा बढी पानी परेको थियो । सो वर्ष १०६.७ मिलिमिटर पानी परेको थियो । फेरि ०६४ र ०६५ को हिउँद चरम सुक्खामा बित्यो । ०६४ मा १५.३ र ०६५ मा अझ कम ११.८ मिलिमिटर मात्र पानी परेको देखिन्छ ।
त्यसपछिका केही हिउँदमा भने तुलनात्मक रूपमा सुधार भएको देखिन्छ । औसत वर्षा नभए पनि ०६६, ०६७ र ०६८ चरम खडेरीबाट जोगिए । विभागको तथ्यांकअनुसार ०६६ मा ३७.२ मिलिमिटर, ०६७ मा ४७.१ मिलिमिटर र ०६८ मा ४९ मिलिमिटर पानी परेको देखिन्छ । ०६९ को हिउँदमा औसतभन्दा धेरै ९५.६ मिलिमिटर पानी परेको छ भने त्यसपछिका वर्षमा ५४.६ मिलिमिटर वर्षा भएको छ ।
०७१ मा फेरि औसतभन्दा धेरै ८४.९ मिलिमिटर पानी पर्यो । तर, त्यसपछिका तीन हिउँद लगातार सुक्खा रहे । ०७२ को हिउँदमा २१.८, ०७३ मा १९.९ र ०७४ मा १६.७ मिलिमिटर पानी परेको छ । ०७५ मा औसतभन्दा धेरै १००.५ मिलिमिटर पानी परे पनि ०७७ मा भने १५.४ मिलिमिटर मात्र पर्यो । पछिल्लोपटक ०७८ मा औसतभन्दा धेरै ७२ मिलिमिटर पानी परे पनि त्यसपछिका हिउँद लगातार खडेरीमा बिते । ०७९ मा १२.९ र ०८० मा १२.५ मिलिमिटर मात्र वर्षा भएकामा यसपालि हिउँद सकिन १७ दिन मात्र बाँकी छँदा ५.७ मिलिमिटर मात्र वर्षा भएको छ ।
काठमाडौंसहित सात स्थानमा शतप्रतिशत खडेरी
यसपटकको हिउँदमा पश्चिममा केही पानी परे पनि मध्य र पूर्वी नेपालमा पानी पर्न सकेन । मुख्य २० वटा वर्षा मापन केन्द्रको औसत आँकडाअनुसार काठमाडौं, विराटनगर, धनकुटा, सिमरा, पोखरा, जोमसोम र भैरहवामा हिउँदभर (छिटफुटबाहेक) पानी नै परेको छैन ।
जबकि, हिउँदमा काठमाडौंमा ४५.८, विराटनगरमा २६.८, धनकुटामा ३३.५, सिमरामा ३७.३, पोखरामा ६६.२, जोमसोममा ४०.४ र भैरहवामा ५६.८ मिलिमिटर वर्षा हुँदा सरदर मानिन्छ । यो अवधिमा सबैभन्दा बढी डडेलधुरामा २९.९, दिपायलमा २६.४ र जिरीमा ११.१ मिलिमिटर वर्षा भएको छ ।
त्यसबाहेक सबै स्टेसनमा १० मिलिमिटरभन्दा कम वर्षा रेकर्ड भएको छ । सरदर वर्षाको ७५ प्रतिशतभन्दा कम भएमा खडेरीको अवस्था हुन्छ भने जम्मा सरदर वर्षाको २१ प्रतिशत मात्र वर्षा हुनु भनेको अधिक खडेरीको अवस्था हो ।
उच्च हिमाली क्षेत्रमा कात्तिक अन्तिमदेखि र उच्च पहाडी तथा हिमाली क्षेत्रमा मंसिरदेखि नै हिमपात हुने भए पनि यसपटक खासै हिमपात भएन ।
किन पानी कम पर्यो, के हुन्छ असर ? : मदन सिग्देल, सहप्राध्यापक मौसम विज्ञान केन्द्रीय विभाग, त्रिवि
कम पानीको कारण : हिउँदमा वार्षिक वर्षाको ३ देखि ४ प्रतिशत मात्र पानी पर्नुपर्ने हो, निकै कम वर्षा भयो, हिमपात पनि खासै भएन । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा घट्दै गएको छ । हिउँदे पानीको मुख्य स्रोत पश्चिमी वायु हो, जुन भूमध्य सागरबाट जलवाष्पयुक्त हावा लिएर अफगानिस्तान, पाकिस्तान हुँदै नेपाल आउँछ । तर, यसपालि यो वायु प्रणाली कमजोर रह्यो । लालिनाको अवस्था डिसेम्बरदेखि फेब्रुअरीसम्म बलियो हुनुपर्ने हो, तर यसपालि डिसेम्बरदेखि नै कमजोर रह्यो । यसले वायुमण्डलीय चक्रलाई असर गर्यो, जसकारण हिउँदे वर्षा न्यून रह्यो । हिउँदेयाममै प्रि–मनसुनजस्तै हावा चल्न थालेको छ, जमिन तात्न थालेको छ । थप वर्षा हुने सम्भावना कम छ । प्रि–मनसुनमा पनि खासै पानी पर्ने संकेत छैन ।
असर : हिउँदे खडेरीका कारण जलविद्युत्, कृषि, पर्यटन र वातावरण सबै प्रभावित हुन सक्छ । हिमालमा हिउँ नपर्दा र पानी नपुग्दा नदीहरूमा पानीको बहाव घट्छ, जसले जलविद्युत् उत्पादन क्षमता घटाउन सक्छ । नदी तथा खोलाबाट हुने सिँचाइ प्रभावित हुनेछ । हिउँदे बाली, विशेषगरी गहुँ र नगदेबालीका लागि आवश्यक पानी अभाव हुन सक्छ, जसले उत्पादन घटाउने सम्भावना छ । हिमालमा हिउँको मात्रा कम हुँदा पर्यटक आकर्षण घट्छ । हिमालका हिउँ हराएर कालो चट्टान मात्र देखिएमा हिमाली पर्यटनमा असर पर्नेछ । वर्षा कम हुँदा आगलागी र डढेलोको जोखिम बढेको छ । अझै सुक्खा बढेमा डढेलो थप बढ्नेछ र वायु प्रदूषण बढ्ने सम्भावना पनि रहन्छ ।