मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३० बुधबार
  • Wednesday, 12 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ ३० बुधबार o५:५६:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : सन्त र योद्धा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ ३० बुधबार o५:५६:oo

एक महान् योद्धा थिए । एक दिन उनी एक महान् सन्तसित भेटघाट गर्न उनको आश्रममा गए । सन्त प्रार्थनामा लीन थिए । एकैछिनको प्रतीक्षापछि सन्तसित उनको भेट भयो । उनले सन्तसित भने– महाराज, म आफूलाई निकै कमजोर, दीनहीन महसुस गरिरहेको छु । मैले कैयौँपटक मृत्युलाई अत्यन्त नजिकबाट देखेको छु । मैले जहिल्यै दुर्बलको संरक्षण गरेको छु ।

तर, आज तपाईंलाई ध्यानमग्न देख्दा मलाई आफू हुनु र नहुनुको कुनै अर्थ नभएजस्तो लागिरहेको छ । यस्तो किन भइरहेको छ ? सन्तले उनलाई एकछिन प्रतीक्षा गर्न लगाए र अन्य आगन्तुकसित भेटघाट गरी उनीहरूलाई बिदा गरे । यति गर्दा साँझ छिप्पिसकेको थियो ।

सन्तले योद्धालाई बगैँचामा लगे । पूर्णिमाको रातमा पूर्णचन्द्र मुस्कुराइरहेको थियो । सन्तले प्रश्न गरे– चन्द्रमा निकै सुन्दर छ हगि ? योद्धाले जवाफ दिए– हो नि, यसमा कुनै शंकै छैन । सन्तले भने– चन्द्रमा रातको समयमा समस्त धर्तीलाई प्रकाशित गरी बिहान अस्ताउँछ र सूर्यको जाज्ज्वल्यमान प्रकाशसामु चन्द्रमाको कुनै जोर चल्दैन । यो हामी सबैले जानी आएकै कुरा हो । तर, मैले कहिल्यै चन्द्रमाले म सूर्यजति चम्किन किन सकिनँ भनेर कुनै गुनासो गरेको सुनेको छैन । 

सन्तको भनाइ सुनेर योद्धाले भने– सूर्य र चन्द्रमाको आआफ्नै सौन्दर्य छ । दुवैको तुलना हुनै सक्दैन । सन्तले मुसुक्क मुस्कुराउँदै भने– तिम्रो प्रश्नको यही उत्तर हो । हामी दुवै अलग–अलग हौँ । हामी दुवै आआफ्नो कर्ममा निरन्तर अघि बढिरहेका छौँ । तिमीले कुनै हीनताबोध गर्नु जरुरी छैन । सबै आआफ्नो काम र ठाउँमा विशेष हुन्छन् । चिन्ता त्यागिदेऊ । योद्धाको मन शान्त भयो । उनी सन्तलाई प्रणाम गरेर घर फर्किए ।