संकटाका गोलरक्षक दीप कार्कीले दुई पेनाल्टी रोकेपछि आयोजक बागमती सडन डेथमा ४–३ ले स्तब्ध
संकटा क्लब पहिलो सभापति कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । दशरथ रंगशालामा बिहीबार भएको फाइनलमा संकटाले आयोजक बागमतीलाई सडनडेथमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि भिडन्तको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएको थियो । त्यसपछि खेल सीधै टाइब्रेकरमा गयो । टाइब्रेकरमा संकटा र बागमतीले ३–३ गोल गरे ।
टाइब्रेकरमा समेत खेल बराबरी भएपछि उपाधिको छिनोफानो सडनडेथबाट भएको हो । संकटाले सडनडेथमा बागमतीलाई स्तब्ध पार्यो । लोकतान्त्रिक खेलकुद महासंघले आयोजना गरेको सभापति कप विजेता संकटाले २६ लाख र उपविजेता बागमतीले १३ लाख पाएका छन् । बागमती लोकतान्त्रिक खेलकुद संघकै टिम हो ।
टाइब्रेकरमा संकटाका कप्तान तथा गोलरक्षक दीप कार्की नायक बने । उनले दुई पेनाल्टी बचाए । संकटालाई जिताउन लक्षु थापा, विदेशी खेलाडी साम कार्लाेस, स्वयं गोलरक्षक दीप र सुनील खड्काले गोल गरे । संकटाका गोलरक्षक दीपले बागमतीका कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार रोकेका थिए । बागमतीका रजत तिवारीले प्रहार गरेको बल पोस्टभन्दा बाहिर गएको थियो ।
फाइनल भिडन्त निराश
बागमतीका कप्तान विकेश कुथूले पनि संकटाका दुई प्रहार रोके । उनले संकटाका राम थापा र रोहन पहारीको प्रहारलाई असफल पारे । बागमतीका लागि नवीन लामा, फोडे फोफाना र विदेशी खेलाडी सेनेग्लास एलेक्सले टाइब्रेकरमा गोल गरे । फाइनल खेलमा दुवै टोलीले समान चार विदेशी खेलाडी अनुबन्ध गरेका थिए । बागमतीले राष्ट्रिय टोलीबाट खेलिसकेका गोलरक्षक विकेशसँगै सुरज जिउ ठकुरी, कमल श्रेष्ठ र नवीन लामा फाइनलमा उतारेको थियो । सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब संकटाले गोलरक्षक दीप कार्कीसँगै सुदीप गुरुङ टोलीमा समावेश गरेको थियो ।
फाइनलमा संकटा र बागमती फाइनथ थर्डमै चुकेको देखिए । दुवै टिमले खेलमा सुन्दर अवसर बनाउनसकेनन् । संकटाले सेमिफाइनलमा मच्छिन्द्रलाई सडनडेथमा हराएको थियो । बागमतीले एनआरटीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको थियो ।
गोलरक्षक दीप सर्वाेत्कृष्ट खेलाडी
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी संकटाका कप्तान तथा गोलरक्षक दीप भए । उनले ७५ हजार रुपैयाँ पाएका छन् । उत्कृष्ट गोलरक्षक हुँदै बागमतीका विकेशले ५० हजार रुपैयाँ पाए ।
उदयीमान खेलाडी सन्दीप कार्कीले २५ हजार प्राप्त गरेका छन् । सर्वाधिक गोलकर्तामा अञ्जन विष्ट, कृतिशरत्न छुन्जू र विदेशी खेलाडी रिचार्ड अबेक बनेका छन् । तीनै खेलाडीले समान दुई गोल गरेका छन् । सर्वाधिक गोलकर्ताले जनही ५० हजार रुपैयाँ बाँडेका छन् ।